वर्षमा १२ खर्बको विदेशी वस्तु उपभोग: २९ अर्ब रुपैयाँको धान र चामल आयात

उपभोग्य वस्तुमा नेपालीको परनिर्भरता बढेको छ । स्वदेशी उत्पादन न्यून हुँदा अधिकांश वस्तु उपभोगका लागि विदेशीसँग निर्भर हुनुपरेको हो । तथ्यांकअनुसार स्वदेशीभन्दा विदेशी आयातीत वस्तुको उपभोग नेपालीले ६% बढी गर्ने गरेका छन् ।

हाल नेपालीले वार्षिक २३ खर्ब ४१ अर्ब ५२ करोड ४१ लाख रुपैयाँबराबरको वस्तु उपभोग गर्ने गरेका छन् । यसमध्ये गत आर्थिक वर्ष ०७४/०७५ मा नेपालमा १२ खर्ब ४३ अर्ब २९ करोड २१ लाख रुपैयाँबराबरका वस्तु आयात भएका छन् । यसलाई आधार मान्दा नेपालीले ५३ प्रतिशत विदेशी वस्तु उपभोग गर्ने गरेको देखिन्छ ।

कुल वस्तु उपभोगमा स्वदेशी उत्पादनको हिस्सा ४७ प्रतिशत मात्रै छ । अर्थात्, नेपालीले १० खर्ब ९८ अर्ब २३ करोड २१ लाख रुपैयाँबराबरको स्वदेशी वस्तु खपत गर्ने गरेको तथ्यांकले देखाउँछ 

दैनिक उपभोग्य वस्तुहरु धानचामल, फलफूल तथा तरकारीकै लागि नेपलाबाट वर्षेनी सवा खर्ब विदेशीने गरेको छ । अघिल्लो आवमा नेपालमा २९ अर्ब ३६ करोड ३४ लाख रुपैयाँको धान र चामल आयात भएको छ ।

त्यस्तै, घ्यू तथा तेलका लागि २९ अर्ब ७२ करोड ४९ लाख, फलफूलका लागि १४ अर्ब ५२ करोड ३ लाख, तरकारीका लागि २५ अर्ब ८३ करोड, गेडागुडी तथा अन्नका लागि ४४ अर्ब ५२ करोड ५ लाख रुपैयाँ र चिया–कफिका लागि १० अर्ब ७४ करोड ७४ लाख रुपैयाँ विदेशीएको भन्सार विभागको तथ्यांक छ ।
विभागकाअनुसार उक्त आवमा ८ अर्ब ६० करोड ५२ लाख रुपैयाँ बराबरका जिउँदो पशुपंक्षी, पशुपंक्षीका मासुलगायत उत्पादन आयात भएका छन् ।

सोही अवधिमा तेलहन गेडागुडी तथा फलफूलका लागि ११ अर्ब ३४ करोड ३१ लाख, चिनीका लागि १३ अर्ब ७२ करोड ४९ लाख रुपैयाँ विदेशीएको छ ।

नयाँपत्रिका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?