तरकारी र खाद्यान्नको मूल्य बढ्याे

उदयपुर :
केही समययता सदरमुकाम गाईघाट र आसपासका बजारमा खाद्यान्न र तरकारीको भाउ बढेको छ । खाद्यान्नभन्दा तरकारीको मूल्य झन् बढेपछि सर्वसाधारण उपभोक्ता मर्कामा परेका छन् ।

साउन सुरुदेखि नै तरकारीको मूल्य बढ्न थालेको हो । वर्षाका कारण तराईको तरकारी उत्पादन हुने भूमि डुबान र पहाडी क्षेत्रबाट तरकारी आयात गर्नुपर्दा मूल्य अकासिएको व्यापारी बताउँछन् । स्थानीय स्तरमा तरकारी उत्पादन कमीसँगै बाहिरबाट आयात गर्नु परेकाले मूल्य बढेको व्यापारी बताउँछन् । ‘स्थानीय तरकारीको उत्पादनले बजार धान्ने सक्दैन,’ गाईघाट बजारका तरकारी व्यापारी बैजनाथ साहले भने, ‘उत्पादनमा कमी भएकाले मात्रै मूल्य बढेको होइन, किसानबाट खरिद गरेर थोक बिक्रीस्थलमा ल्याउने बिचौलियाले नै मूल्य बढाएका छन् ।’ त्यसैले गर्दा दुई महिनायता तरकारीको मूल्य बढेको उनले बताए ।

किसानले बिक्री गरेकोभन्दा झन्डै २० प्रतिशत बढी मूल्य लिएर बिचौलियाले तकारी बिक्री गर्ने गरेको व्यापारी बताउँछन् । ‘थोक मूल्यभन्दा झन्डै २० प्रतिशत कम मूल्य किसानले पाउँछन्,’ अर्का व्यापारी सुरेश राईले भने, ‘बढी मूल्यमा खरिद गरेपछि थोरै नाफा लिँदा पनि मूल्य बढी हुने गरेको हो ।’ किसान र थोक बिक्रेताबीच सोझै लेनदेन नहुँदा उपभोक्ताले बढी मूल्य तिर्नु परेको उनले बताए । तरकारी उत्पादन गर्ने किसान मारमा परेका छन् । थोक बिक्रेता पनि खासै नाफामा छैनन् । तर बिचौलियाले राम्रो मुनाफा लिने गरेको मूल्य बढ्ने गरेको व्यापारी साहले बताए । ‘तरकारी उत्पादन घट्ने समय, त्यसमा पनि बिचौलियाको चलखेलका कारण मूल्य बढेको बढ्यै छ,’ साहले भने ।

‘किसान र ग्राहक मूल्य वृद्धिको मारमा परे पनि बिचौलिया मालामाल छन्,’ उपभोक्ता अस्मिता नेपालीले भनिन्, ‘अन्य वस्तुको बजार अनुगमन गरेर मूल्य नियन्त्रण गरे पनि तरकारी र खाद्यान्नको मूल्य नियन्त्रण भएको छैन ।’

चामल, आँटा, चना जस्ता वस्तुको मूल्य पनि बढेको छ । असारयता १ सय ५० रुपैयाँ प्रतिकिलो पर्ने चना १ सय ८० रुपैयाँभन्दा बढी भएको छ । चामलको मूल्य पनि बढेको छ । ‘२५ किलोको एक प्याकेट चामल १ हजार ६ सय रुपैयाँमा पाइन्थ्यो’ उपभोक्ता अस्मिताले भनिन्, ‘अहिले त्यही जिरा मसिनो चामलमा २ सय बढेको छ ।’

वैशाखमा दलहन तथा गेडागुडीको मूल्य सबैभन्दा बढी २५ प्रतिशत र तरकारीको मूल्य २० प्रतिशतले बढेको छ । गाईघाटको थोक बिक्री २० रुपैयाँमा बिक्री हुँदै आएको टमाटरको मूल्य अहिले ४० देखि ४५ सम्म पुगेको छ । त्यसैगरी गाँजर, मूला, घिउसिमी, बोडीलगायत तरकारीको मूल्य प्रतिकिलो ३५ देखि १ सय रुपैयाँसम्म बढेको उपभोक्ता बताउँछन् ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments