अन्नबाली सुकेर भोकमारी लाग्ने अवस्था :किसानलाई क्षतिको आधारमा राहत दिने तयारी

तेह्रथुम:

तमोर तटीय क्षेत्रका खडेरी पीडित किसानलाई छथर गाउँपालिकाले क्षतिपूर्ति दिने भएको छ । तेह्रथुमको छथर गाउँपालिका ४ फाक्चामारा सिङजेवा गाउँका किसानले लगाएको मकै बाली खडेरीले सुकेको अवस्थामा । तस्बिरः कान्तिपुर

खडेरीले अन्न बाली सुकेर भोकमारी लाग्ने अवस्था आएपछि पीडित किसानलाई क्षतिको आधारमा राहत दिने तयारी थलिएको गाउँपालिकाले जनाएको छ ।
मध्य बर्खामा समेत खडेरी लागेर अन्न बाली र फलफूल सुकेपछि किसानले गाउँपालिका समक्ष उचित क्षतिपूर्तिको माग गरेका थिए ।

खडेरीले पुर्‍याएको क्षतिको एकीन विवरण संकलन गरी राहत सिफारिस गर्न गाउँपालिकाले कार्यपालिका सदस्य, सम्बन्धित वडाका जनप्रतिनिधि र सोही वडाका कर्मचारी समेत परिचालन गरेको गाउँपालिका अध्यक्ष सन्तविर लिम्बूले बताए ।

सो टोलीको सिफारीसको आधारमा पीडित किसानलाई तत्काल राहात उपलब्ध गराईने लिम्बूले वताए ।

क्षतिको एकिन विवरण संकलन भएर गाउँपालिकामा आएपछि राहत वितरण सुरु गरिने गाउँपालिका प्रवक्ता राजन नेपालीले बताए ।

मध्य वर्षाद्‌मा समेत पानी नपरेपछि ओख्रे, फाक्चामारा, हमरजुङ लगायत गाउँका किसान समस्यामा परेका छन् । खेतबारीमा लगाएको धान, मकै, कोदो लगायतका अन्न बाली सुकेर डडेलो लाग्ने अवस्थामा पुगेको किसानको भनाई छ ।

दुःख गरेर लगाएको बाली पाक्न नपाउदै सुकेपछि अनिकाल लाग्ने डरले किसान चिन्तामा परेका छन् । पीडित किसानलाई दुई वटा माध्यमबाट राहत वितरण गरिने गाउँपालिकाका अध्यक्ष लिम्बूले बताए ।

अन्नबालीबाट मात्र जीवन गुजरा गर्दै आएका पीडित किसानलाई तत्काल राहत उपलब्ध गराउने र ती क्षेत्रमा खडेरीको दीर्घकालीन समाधानका उपाय समेतको खोजी गरिने गाउँपालिकाले तयारी गरेको छ ।

त्यस्तै अन्य पेशा, व्यवसाय र रोजगारीमा समेत रहेका किसानका परिवारलाई भने अलग ढंगबाट राहत वितरण गरिने प्रवक्ता नेपालीले बताए ।

मकै, कोदो, फापर, गहत, जुनेलो, बदाम, धान लगायतका खाद्यान्न बालीको खेती गर्दै आएका किसानको यो वर्ष पानी नपरेपछि विजोग भएको छथर गाउँपालिका–४ फाक्चामाराका किसान दिपक लिम्बुले बताए ।

गत वर्ष पनि प्रयाप्त पानी नपर्दा यहाँका किसानले सोचेजस्तो खाद्यान्न उत्पादन भएको थिएन । गत वर्षदेखि नै खाद्यान्न अभाव झेल्दै आएका यहाँका किसान यो वर्ष अनिकाल नै लाग्ने चिन्तामा परेको किसान लिम्बूले बताए ।

कान्तिपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments