बजार नपाउँदा दैनिक करिब १ करोड २० लाख मूल्य बराबरको दूध खेर

विराटनगर:
प्रदेश १ मा उत्पादित दूधले बजार नपाउँदा दैनिक करिब १ करोड २० लाख मूल्य बराबरको दूध खेर जाने गरेको छ ।मुलुकमा दूध उत्पादन बर्सेनि घट्दै गए पनि प्रदेश १ आत्मनिर्भर मात्रै होइन, निर्यात गर्नसक्ने अवस्थामा छ ।

प्रदेश १ काे दूधको उत्पादन र खपत हेर्दा वार्षिक १ लाख ६० हजार १६७ मेट्रिक टन दूध अन्यत्र निर्यात गर्न सक्षम देखिएको छ ।आर्थिक बर्ष ०७४/०७५ को तथ्यांक अनुसार प्रदेशमा ६ लाख ३१ हजार १७२ मेट्रिक टन दूध उत्पादन हुँदै आएको छ ।विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एक व्यक्तिलाई वार्षिक ९१ लिटर दूध आवश्यक हुन्छ । प्रदेश १ का किसान दैनिक १ करोड २० लाखभन्दा बढी मूल्य अर्थात् २ लाख ८५ हजार लिटर दूध मिल्क होलिडेको नाममा खेर फाल्न बाध्य छन्

२०६८ जनगणना अनुसार प्रदेशको कुल जनसंख्या ४५ लाख ४ हजार ४१९ छ । जनसंख्या वृद्धिको अनुपात १ दशमलव ३५ प्रतिशत रहेकाले प्रदेशको हालको जनसंख्या करिव ४८ लाख ८१ हजार ८१५ हुन जाने देखिन्छ ।

१ नम्बर प्रदेशमा जनसंख्याको आधारमा भाग लगाउने हो भने प्रतिव्यक्ति १ सय १३ लिटर अर्थात् मापदण्ड भन्दा २२ लिटर बढी दूधको उपलब्धता देखिन्छ । त्यसलाई हेर्दा प्रदेशको जनसंख्यालाई ४ लाख ५० हजार २४२ मेट्रिक टन दूध भए पुग्छ ।

प्रदेश १ को भूमि व्यवस्था, कृषि सहकारी मन्त्रालयका पशुपंछी विकास महाशाखाका पशु चिकित्सक कुमारसिंह खत्री प्रदेश १ सँग वार्षिक १ लाख ६० हजार १६७ लिटर दूध निर्यात गर्न सक्ने क्षमता रहेको बताउँछन् ।

तर प्रदेश १ ले आवश्यकताभन्दा बढी दूध उत्पादन गर्दै आए पनि बजार व्यवस्थापन नहुँदा यहाँका किसान नोक्सानी व्यहोर्न बाध्य छन ।

यही तथ्यांकको आधारमा हेर्ने हो भने किसानले वार्षिक ४ अर्ब १० करोड मूल्य बराबरको १० करोड २७ लाख ६८ हजार ७ सय ४६ लिटर दूध विक्री गर्न नपाएर खेर फालिरहेका छन् ।

प्रदेश १ मा आर्थिक वर्ष ०७४/७५ मा ६ लाख ३१ हजार १७२ मेट्रिक टन दूध उत्पादन भएको सरकारी तथ्यांक छ ।

केही समयअघि झापा शरणामतिका किसानले सडकमा दूध पोखेर विरोध गरे । करिब ३ सय किसानले जम्मा पारेको दूध बेच्न नपाएपछि विरोध गर्दै केही दिनअघि सडकमै दूध पोखेका हुन् ।

तर उदेकलाग्दो कुरा के छ भने दूध उत्पादनका किसानलाई अनुदान दिँदै आएको सरकारले यसको बजारीकरणमा भने कुनै चासो दिएका छन् ।

आर्थिक वर्ष ०७२/७३ मा ६ लाख १० हजार ४ सय ९ मेट्रिक टन दूध उत्पादन भएकामा यो बढेर 0७३/७४ मा ६ लाख २३ हजार ३१७ मेट्रिक टन दुध उत्पादन भएको देखिन्छ । प्रत्येक वर्ष यो प्रदेशमा दूधको उत्पादन बढ्दै गएको छ ।

राेकिएन पाउडर अायात

दूधमा आत्मनिर्भर भएपनि तेस्रो मुलुकबाट पाउडर दूधको रोकिन सकेको छैन । विराटनगर भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४–७५ को असार मसान्तसम्ममा झण्डै १० करोड मूल्य बराबरको अर्थात् ३ लाख ७ हजार १ सय ७३ किलो पाउडर दूध तेस्रो मुलुकबाट आयात भएको छ ।

उक्त परिणामको पाउडरबाट झण्डै ३५ लाख लिटर दूध बन्न सक्छ । ‘दूधमा सरकारले विभिन्न अनुदान दिएर बजार व्यवस्थित गर्न लगानी गरिरहेको छ,’ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय १ नम्बर प्रदेशका उपसचिव एवं पशुपंक्षी विकास महाशाखाका प्रमुख डाक्टर अशोक कुमार सिंह भन्छन्, ‘किसानले उत्पादन गरेको दूधको व्यवस्थापन गर्न नसक्नु दुःख लाग्दो कुरा हो ।’

दूधको उचित व्यवस्थापन हुन नसक्दा विराटनगरस्थित दूध वितरण आयोजनामा हाल अत्याधिक दूध संकलन भइरहेको छ ।

आयोजनाका प्रमुख नीलकण्ठ गौतमका अनुसार आयोजनाको क्षमताभन्दा बढी दूध संकलन हुँदा व्यवस्थापनमा धेरै समस्या देखिएको छ ।

मोरङ कानेपोखरी गाउँपालिकाको मुक्ति कृषि सहकारीले वैशाख र जेठ महिनामा मात्रै झण्डै ३ हजार लिटर दूध फ्याँक्न बाध्य भयो ।

सहकारीका अध्यक्ष अर्जुन आचार्य दुग्ध उद्योगहरुको होलिडेका कारण दूध बिक्री गर्न समस्या भएको बताउँछन् । उनले बजार नभएकाले सहकारी डुबाएर दूध खरिद गर्न नसकेको बताए ।सरकारी लगानीमा सञ्चालित दुग्ध आयोजनाको क्षमता विस्तार गर्ने र बजार व्यवस्थापनमा लाग्नुपर्ने सरोकारवालाको भनाइ छ।

अनलाइनखबर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments