चिया मजदुरको न्यूनतम पारिश्रमिक १० हजार ७ सय

सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक १० हजार ७ सय ८१ रुपैयाँ निर्धारण गरेको छ । बिहीबार राजपत्रमा प्रकाशन गर्दै चिया बगानका श्रमिकको ज्याला ६ हजार ४ सय ६९ रुपैयाँ पारिश्रमिक र ४ हजार ३ सय १२ रुपैयाँ महँगी भत्ता गरी १० हजार ७ सय ८१ रुपैयाँ पु-याइएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै श्रमिकको न्यूनतम पारिश्रमिक १ साउनदेखि नै लागू हुने स्पष्ट पारेको छ ।

चिया बगानका श्रमिकको दैनिक पारिश्रमिक आधारभूत २ सय ३१ रुपैयाँ र १ सय ५४ रुपैयाँ महँगी भत्ता गरी ३ सय ८५ रुपैयाँ पु-याइएको छ । त्यस्तै प्रतिघन्टा न्यूनतम पारिश्रमिक ३१ रुपैयाँ आधारभूत र २० रुपैयाँ महँगी भत्ता गरी ५१ रुपैयाँ तय गरिएको छ । निर्धारित न्यूनतम पारिश्रमिक चिया प्रशोधन तथा चिया कारखानामा काम गर्ने श्रमिक, चिया बगानका सरदार, नाइके र चौकीदारसमेतलाई लागू हुनेछ ।

यसअघि चिया क्षेत्रका मजदुरहरूको न्यूनतम पारिश्रमिक दैनिक २ सय ७८ रुपैयाँ तथा मासिक ७ हजार ५ रुपैयाँ थियो । तर, चियाक्षेत्रका श्रमिकहरूले सामूहिक सौदाबाजीका आधारमा ७ हजार ७ सय ७५ रुपैयाँ न्यूनतम पारिश्रमिक खाइपाई आएका थिए । यसपटक निर्धारित न्यूनतम पारिश्रमिकले सामूहिक सौदाबाजीमा रोक लगाउन नपाइने श्रम मन्त्रालयले स्पष्ट पारेको छ ।

सरकारले हरेक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने व्यवस्था छ । सरकारले अन्य श्रमिकको न्यूनतम पारिश्रमिक २५ असारमै निर्धारण गरिसकेको छ । जसअनुसार ८ हजार ४ सय ५५ रुपैयाँ आधारभूत तथा ४ हजार ९ सय ९५ रुपैयाँ महँगी भत्ता गरी न्यूनतम १३ हजार ४ सय ५० रुपैयाँ तोकिएको छ ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments