गाउँपालिकालाई दूध र मासुमा आत्मनिर्भर बनाइने

पर्वत:

जिल्लाको मोदी गाउँपालिकालाई मासु र दूधमा आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाले विशेष योजना सुरुवात गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा दूध, अण्डा र मासुमा आत्मनिर्भर बनाई रोजगारी सिर्जना गर्ने गरी बजेट विनियोजन गरेको हो ।

दूध र मासुमा आत्मनिर्भर बनाई युवाको रोजगारी सिर्जना गर्ने गरी आर्थिक वर्ष २०७५/७६ को बजेटमा ६२ लाख विनियोजन गरी काम सुरुवात गरिएको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले जानकारी दिनुभयो ।

दूधका लागि फर्मको स्थापना गर्ने, गाई, भैँसी खरिद गर्नका लागि कृषकलाई प्रोत्साहन गर्नुका साथै घाँस विकासमा खर्च गर्ने गरी योजना तयार गरिएको उहाँको भनाइ छ । त्यस्तै मासुका लागि बाख्रा तथा कुखुरापालनमा युवालाई सहभागी गराउने खालका कार्यक्रम तयार गरिएको छ । युवालाई प्रोत्साहन गर्न अनुदानको प्याकेज दिने गरी तयारी थालिएको उहाँको भनाइ छ । गत वर्षमा बजेट विनियोजन गरिएका क्षेत्रको अध्ययन गरी थप गर्ने तथा नयाँ क्षेत्रको समेत खोजी गरिने अध्यक्ष पौडेलको भनाइ छ ।

कृषकलाई आत्मनिर्भर बनाउन सकेमा गाउँपालिकाको समग्र विकास हुने भएकाले यस्ता योजना तयार गरिएको हो, उहाँले भन्नुभयो । गाउँपालिकाले आफ्ना आठ वटै वडाका कृषकलाई बाख्रा, बङ्गुर र गाई प्याकेज कार्यक्रम बनाई विपन्न कृषकलाई बाख्रा, बङ्गुर र गाई खोर सुधार तथा ढुवानी अनुदान सहयोग गर्ने तयारी भइरहेको गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले जानकारी दिनुभयो ।

प्रर्याप्त चरन र घाँस उत्पादनको क्षेत्र भएकाले पनि दूध र मासुमा आत्मनिर्भर बनाउने योजना पूरा गराउन सहज हुने देखिएको लामिछानेको भनाइ छ । योजना बनाउँदा कृषकलाई लक्षित गरेर बनाउन सकेमा कार्यक्रम सफल हुने देखिएको उहाँको भनाइ छ ।

गाउँपालिकाका अधिकांश ग्रामीण क्षेत्रमा समेत मासु र दूध पोखरा कुस्मालगायतका ठाउँबाट आयात भइरहेको पाइन्छ । अहिले पनि गाउँपालिकाको पातिचौर, डिमुवालगायतका क्षेत्रमा पोखराका दूध डेरीबाट उत्पादित दूधको बिक्री वितरण भइरहने भएकाले दैनिक सयौँ लिटर दूध अन्य जिल्लाबाट आयात गर्नुपरेको पशु सेवा शाखाका प्रमुख रामजीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

गतवर्ष मात्रै गाउँपालिकाले दूध सङ्कलन केन्द्र स्थापना कार्यक्रमअन्तर्गत बाजुङ र तिलाहारमा गरी चार ठाउँमा सङ्कलन केन्द्रको स्थापना गरी प्रतिसङ्कलन केन्द्र बराबर ५० हजार अनुदान सहयोग गरेको छ ।

त्यस्तै मासुमा आत्मनिर्भर गराउने उद्देश्यअनुरूप मासु पसल सुधार कार्यक्रम दुई पसललाई ५० हजार अनुदान सहयोग गरेको पौडेलले जानकारी दिनुभयो । यस वर्ष पनि ती कार्यक्रमलाई निरन्तरता दिने गरी प्रोत्साहनका कार्यक्रम तय गरेका छौँ, उहाँले भन्नुभयो । त्यस्तै युवा लक्षित कार्यक्रम दुग्ध सहकारीको स्तरउन्नति खसी, बोका सङ्कलन केन्द्र तथा विभिन्न शीर्षकमा कृषकलाई आत्मनिर्भर गराउने कार्यक्रम मोदी गाउँपालिकाले लिएको छ ।

गोरखापत्र अनलाइन

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments