पाउडर दूध आयातमा प्रतिबन्ध

काठमाडौं :

स्वदेशी डेरी उद्योगको लगानी जोखिममा परेपछि सरकारले विदेशबाट धुलो दूध आयात गर्न प्रतिबन्ध लगाएको छ। खुला सीमाना र भन्सारमा कम मूल्यको महसुल तिरेर धुलो दूध आयात हुँदा स्वदेशी दूध बिक्री हुन छाडेको भन्दै कृषि तथा पशुपक्षी मन्त्रालयले यो कदम चालेको हो।

किसानले उत्पादन गरेको दूध बिक्री नहुने अवस्था आएपछि धूलो दूध आयात रोकिएको कृषि तथा पशुपक्षी मन्त्रालयका सह–सचिव श्याम पौडेलले बताए। ‘भारतबाट आयातित धुलो दूध घोलेर बिक्री गर्दा किसानको उत्पादन बिक्री भएन,’ पौडेलले भने, ‘मिल्क होली डे नहोस भनेर केही समयको लागि आयातमा रोक लगाएको हो।’

भन्सार विभागका अनुसार आर्थिक वर्ष ०७४/७५ मा एक अर्ब ८२ करोड ८५ लाख रुपैयाँको दूध र दुग्धजन्य वस्तु आयात भएको थियो । यता, स्वदेशी किसानले उत्पादित दूध बेच्न नपाएर त्यसै खेर फाल्नुपरेको थियो।पाउडर दूधसमेत पर्याप्त भएकाले विदेशी धुलो दूध आवश्यक नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सन्जिवकुमार कर्णले बताए । ‘किसानको माग अनुसार केही समयको लागि रोकिएको हो,’ कर्णले भने।

दुग्ध विकास संस्थानसँग मात्र करिब साढे चार सय मेट्रिक टन पाउडर दूध स्टक छ । भारतबाट सस्तोमा धुलो दूध आएकाले बिक्री नभएको संस्थानका निमित्त महानिर्देशक ईश्वरीराज न्यौपानेले बताए । ‘भारतबाट आयातित सस्तो धुलो दूध निजी क्षेत्रका डेरीले बिक्री गरिरहेका छन्,’ उनले भने, ‘किसानसँग दूध किनेर बनाएको पाउडर बिक्री भएन।’

संस्थाले पाउडर दूध किलोको चार सय २९ रुपैयाँमा बिक्री गर्दै आएको छ । भारतबाट आएको पाउडर दूध साढे तीन सयमै पाइने न्यौपानेले बताए । भारतबाट आयातित सस्तो मूल्यको पाउडर कै कारण दूधको खपत घटेकाले उत्पादित दूध व्यवस्थापन गर्न हम्मे परेको संस्थाले जनाएको छ । उत्पादित दूध खपत नभएपछि संस्थानले मखन उत्पादन बढाएको छ । दूध खपत कम भएपछि केही समयअघि संस्थानले किसानलाई दिँदै आएको अतिरिक्त सुविधा (अनुदान) कटौती गरेको थियो । निगमको उक्त कदमले चितवनलगायत विभिन्न जिल्लाका किसानलाई आन्दोलित बनाएको थियो । संस्थानले न्यूनतम समर्थन मूल्यबाहेक दिएको अतिरिक्त अनुदान कटौती गरेको थियो । संस्थानले चितवन, काभ्रे, मकवानपुरका किसानलाई दिँदै आएको अतिरिक्त मूल्य प्रतिलिटर डेढ रुपैयाँदेखि तीन रुपैयाँ कटौती गरेको थियो।

मखन बिक्री नभएपछि डेरी उद्योगलाई सघाउन आयातित घिउको मूल्यांकन पनि बढाएको छ। प्रतिकिलो २ सय ५० भारुमा जाँचपास भइरहेको घिउको मूल्यांकन बढाएर ४ सय भारु पु-याएको छ। स्वदेशी डेरी उद्योगको आग्रहपछि कृषि तथा पशुपक्षी मन्त्रालयको आग्रहमा अर्थ मन्त्रालयले मूल्यांकन बढाएको हो । घिउमा २० प्रतिशत लाग्दै आएको भन्सार महसुल पनि बढाएर ३० प्रतिशत पु-याएको छ।
मुलुकमा अहिले दैनिक ४९ लाख लिटर दूध उत्पादन भइरहेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए । डेरी क्षेत्रमा करिब २० अर्ब रुपैयाँ लगानी छ।

चालु आर्थिक वर्ष ०७४÷७५ मा २१ लाख ४० हजार टन दूध उत्पादन भएको थियो । सरकारले दूध उत्पादन वृद्धिसँगै दूध बजारलाई व्यस्थित बनाउने प्रयास पनि सुरु गरेको छ । दूध उत्पादनदेखि बिक्रीसम्म व्यवस्थित बनाउन दूध तथा दुग्ध पदार्थमा स्वच्छता एवं गुणस्तरसम्बन्धी निर्देशिका, २०७५ तयार गरेर कार्यान्वयन गर्ने तयारी गरिरहेको छ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments