राजनीतिसँगै व्यावसायिक स्याउ खेती

सिमकोट, भदौ २९ गते । राजनीति गरेपछि अन्य व्यवसाय गर्न आनाकानी गर्ने मानसिकतालाई चिर्दै सिमकोट गाउँपालिका ६ का वडाध्यक्ष जयचन्द्र रोकायाले व्याासायिक स्याउ फर्म सञ्चालन गर्नुभएको छ । तत्कालका लागि बजारको केही समस्या भए पनि दीर्घकालीन रूपमा व्यावसायिक स्याउ खेतीको भविष्य राम्रो देखेरै वडाध्यक्ष रोकायाले यो व्यवसाय रोज्नुभएको हो ।
केही पढेलेखेका र राजनीति गर्ने मानिसले केही गर्नै हुँदैन भन्ने मानसिकतामा परिवर्तन ल्याउन र जीविकोपार्जन गर्नकै लागि व्यावसायिक स्याउ खेती सुरु गरेको वडाध्यक्ष रोकायाले बताउनुुभयो । तीन जना भाइको संगोलको साढे पाँच हजार वर्गमिटर जग्गामा स्याउ खेती गर्नुभएका रोकायाले भविष्य राम्रो देखेर यो खेती रोजेको बताउनुभयो । जग्गामा अन्य खेतीपाती गर्दा भएको उत्पादनले छ महिना मात्र धान्ने भएपछि व्यवसायमा फरकपन ल्याएर आम्दानीमा वृद्धि गर्न स्याउ खेती गरिएको उहाँले बताउनुुभयो ।
स्याउ फाराममा हाल १५० बोट विभिन्न किसिमका स्याउ फलिरहेको र यसपालि अधिकांश बोटमा लटरम्मै स्याउ फलेको उहाँले बताउनुुभयो । सडक सञ्जाल नजोडिँदासम्म खासै बजार नभए पनि अबको दुई वर्षमा हुम्ला जिल्ला सडक सञ्जालसँग जोडिने र त्यसपछि स्याउका लागि बजारको समस्या नहुने उहाँले बताउनुुभयो । गत वर्ष ७५ हजारको स्याउ बिक्री गर्नुभएका रोकायाले यसपालि आम्दानीमा थप वृद्धि हुने बताउनुुभयो । गएको माघ महिनामा थप ७० बोट स्याउ नयाँ लगाएको उहाँले बताउनुुभयो । प्रत्येक दिन बिहान र बेलुका गरी दुई पटक स्याउ फाराममा पुग्ने वडाध्यक्ष रोकाया दिउँसो भने वडाको कामका लागि कार्यालयमा खट्ने गर्नुभएको छ ।

www.gorkhapatraonline.com

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments