पानीघट्ट आम्दानीको स्रोत

रुकुम (पश्चिम) रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकास्थित पेउघाका स्थानीयले पानीघट्टबाट राम्रो आम्दानी गरेका छन् ।
त्रिवेणी गाउँपालिका ९, १० र मुसिकोट नगरपालिका १२ सम्म बग्ने काइँयो खोलामा रहेका ३० भन्दा बढी पानीघट्ट स्थानीयका आम्दानी गर्ने राम्रो स्रोत बनेका छन् । काइँयो खोलामा रहेका यी पानीघट्टले वर्षभरि घर व्यवहार चलाउन सहयोग पुग्ने गरेको स्थानीय बताउँछन् । थोरै लगानी र मिहिनेतमा पनि पानीघट्टबाट फाइदा लिन सकिने भएकाले गाउँका धेरैजसो यसप्रति आकर्षित भएको स्थानीय निर्मलकुमार चन्दले बताउनुभयो । पानीघट्टको आम्दानीबाट सामान्य गुजारादेखि बालबालिकाको पढाइलेखाइमा सहयोग पुग्ने गरेको उहाँको भनाइ छ । दश वर्ष अघिदेखि घर नजिकै पानीघट्ट सञ्चालन गरेका स्थानीय शेरमान खड्काले सोचेभन्दा राम्रो आम्दानी गर्दै आइरहेकोमा खुसी व्यक्त गर्नुभयो । पानीघट्ट सुरु गरेदेखि घरको सबै खर्च टार्न सजिलो भएको छ । उहाँले भन्नुभयो, मिहिनेत गरे पानीघट्टको सहयोगले दश जनाको परिवार पाल्न समस्या छैन । आफ्नो घट्टले दिनभरमा २० पाथीभन्दा बढी मकै तथा गहुँ पिस्ने गरेको उहाँले बताउनुभयो । घट्टमा मकै, गहुँ, कोदो पिस्न ल्याउने व्यक्तिले पिसेको परिमाणअनुसार पिठो दिने र दिनभरमा उक्त पिठो करिब पाँच पाथी जति जम्मा हुने खड्काको भनाइ छ । उक्त पिठो घरमा खाने, गाई÷भैँसीलाई दिने र बढी भएको बिक्री गरेर घर खर्च समेत चलाउने गरेको उहाँले जानकारी दिनुभयो ।

पानीघट्टबाट आएको पिठोले दैनिकी धान्ने भएपछि कतिपय घट्ट सञ्चालकले भने घरमा उत्पादन भएको गहुँ र मकै बिक्री गरेर अन्य क्षेत्रमा लागानी गरेको बताउँछन् । नगदेबाली तथा तरकारी उत्पादनका हिसाबले त्रिवेणी गाउँपालिकाको ७, ९ र १० लाई पकेट क्षेत्रका रूपमा लिने गरिन्छ । यस क्षेत्रमा धान, मकै, गहुँलगायतका अन्नबालीको पनि राम्रो उत्पादन हुने गर्दछ ।

www.gorkhapatraonline.com

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments