अर्गानिक तरकारी खेतीबाट राम्रो आम्दानी

ताप्लेजुङको हाङ्देवाका एक किसानले अर्गानिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । फुङ्लिङ नगरपालिका ९ हाङ्देवा बुङ्कुलुङका किसान पासाङरिता शेर्पाले हाल अर्गानिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आउनुभएको हो ।
पछिल्लो समय बजारमा अर्गानिक तरकारीको अत्यधिक माग बढैसँगै पाँच/सात वर्ष अघिदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेको शेर्पाले बताउनुभयो । विषादी प्रयोग गरिएको तरकारी उपभोग गर्दा वा खाँदा मानव स्वास्थ्यलाई हानि गर्ने थाहा पाएपछि उपभोक्ताको माग अर्गानिक हुन थालेको शेर्पाको भनाइ छ ।
विगत २०६२÷६३ सालदेखि नै थोरै जमिनमा सामान्य रूपमा घरमै उपभोग गर्ने र केही नजिकैको सदरमुकाम फुङ्लिङ बजारमा बिक्री गर्ने गरी तरकारी खेती गर्न थालेको भए पनि पछिल्लो समय अर्गानिक तरकारीको माग अत्यधिक हुन थालेपछि २०६८ सालदेखि व्यावसायिक रूपमा खेती गर्न थालेको शेर्पाले जानकारी दिनुभयो । तरकारी खेतीलाई व्यावसायिकरण गरेसँगै त्यसयता आम्दानी राम्रो हुन थालेको उहाँले बताउनुभयो ।
उहाँले अहिले ३० रोपनी क्षेत्रफल बराबरको निजी जमिनमा तरकारी खेती गर्दै आउनुभएको छ ।

आलु, बन्दा, मुला र गाँजरलगायतका मौसमअनुसारका अर्गानिक तरकारी उत्पादन गरी बिक्री गर्दै आएको बताउनुभयो । उहाँले हाल वार्षिक आठ लाख रुपियाँको तरकारी उत्पादन हुने र सबै खर्च कटाएर पाँच लाख रुपियाँ खुद आम्दानी हुने गरेको बताउनुभयो ।
बुङ्कुलुङमा उत्पादित तरकारी सदरमुकाम फुङ्लिङ बजारसहित पाँचथर र इलाम जिल्लाका सदरमुकाममा निर्यात हुने उहाँले जानकारी दिनुभयो ।
जिल्ला बाहिर पाँचथर र इलामका व्यवसायीहरू आफैँ सम्पर्क गरेर तरकारी खरिद गर्न आउने उहाँको भनाइ छ । गत वर्ष काठमाडौँको कालीमाटीमा समेत आफूले उत्पादन गरेको तरकारी पु¥याएको उहाँले बताउनुभयो । उहाँले कालीमाटीका व्यवसायीका मागअनुसार गत वर्ष मात्रै १० टन तरकारी पु¥याएको उल्लेख गर्दै हाल अर्गानिक तरकारीको बजार मागलाई धान्नै नसकेको जानकारी दिनुभयो ।
हाल दिनानुदिन अर्गानिक तरकारीको अत्यधिक माग बढ्दै गएकाले खेतीलाई विस्तार गर्ने सोचमा आफू रहेको शेर्पाले बताउनुभयो । केही वर्षअघि प्राइम कमर्सियल बैङ्क ताप्लेजुङ शाखाबाट कृषि ऋण लिएर खेतीलाई क्रमशः विस्तार गर्दै आएको र खेतीलाई अझै बढाउँदै लैजाने साथै अर्गानिक उत्पादनलाई जोड दिने योजनामा रहेको उहाँले सुनाउनुभयो ।
हालसम्म तरकारी खेतीका लागि तत्कालीन जिल्ला कृषि विकास कार्यालयलगायतबाट प्राविधिक सहयोग र केही बीउबिजनको सहयोगबाहेक बाँकी आफैँले लगानी गर्दै आएको बताउनुभयो । लगानी गरेअनुसार फाइदा पनि दोब्बरभन्दा बढीले हुने गरेको उहाँले बताउनुभयो । यो वर्ष आम्दानी अझ बढ्न सक्ने उहाँले बताउनुभयो । अघिल्लो वर्षको तुलनामा यो वर्ष तरकारीको मूल्य महँगिएकाले आम्दानी बढ्ने उहाँको भनाइ छ ।
यस वर्ष स्थानीय बजारमा मूल्य बढेर बन्दा प्रतिकेजी २५ रुपियाँसम्म, आलु ७० रुपियाँ, गाँजर ९० र मुला २० रुपियाँसम्म होलसेल (थोक बिक्री) मूल्यमा हिजोआज तरकारीको कारोबार हुँदै आएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार गत वर्षभन्दा यो वर्ष प्रतिकेजी पाँचदेखि १० रुपियाँसम्म मूल्यवृद्धि भएको हो । खेतीमा संलग्न भएयता अर्गानिक तरकारी खेतीसम्बन्धी विभिन्न निःशुल्क तालिमको अवसर प्राप्त गरेको र जिल्लास्तरीय उत्कृष्ट राष्ट्रपति कृषि पुरस्कार पाएको उहाँले जानकारी दिनुभयो ।

www.gorkhapatraonline.com

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments