व्यापार छाडेर मौरीपालनमा

नेपालगञ्ज, असोज ७ गते । बाँकेको कोहलपुर ६ मा व्यापार गर्दै आउनुभएका घनश्याम रानाले मौरीपालनमा पर्याप्त बजार सम्भावना देखेर सुरु गरेको मौरीपालन अहिले जिल्लामै उत्कृष्ट मानिएको छ । स्थानीय जनकल्याण सहकारी संस्थाबाट तालिम लिएर मौरीपालन सुरु गर्नुभएका रानाले हाल वार्षिक ४० क्विन्टल मह बिक्री हुने गरेको बताउनुहुन्छ । उहाँले मह बिक्रीबाट मासिक एक लाखभन्दा बढी आम्दानी हुने गरेको पनि जानकारी दिनुभयो । सुरुमा पाँच गोला मौरीबाट मौरीपालन सुरु गर्नुभएका रानासँग अहिले एक सय गोला मौरी छन् । अझै मौरी बढाउँदै लैजाने योजना रहेको उहाँले बताउनुभयो ।
तरकारी खेती, पशुपक्षीपालन, फलफूल खेती धेरैले गरिरहेकाले कृषिमै अवसर देखेर यसमा होमिएको जनाउँदै किसान रानाले मौरीपालनको बजार फस्टाउँदै गएको देखेर नै व्यापार छाडेर यसमा लागेको बताउनुभयो ।
मौरीपालनमा रानासँगै उहाँको श्रीमतीको पनि सहयोग रहेको छ । राना दम्पतीले मह बेचेर वर्षमा १२ लाख रुपियाँसम्म आम्दानी गरिरहेका छन् । बाँके र बर्दिया मौरीपालनका लागि उर्वर ठाउँ मानिन्छ । गर्मी मौसम भएकाले यहाँ मेलिफेरा जातको मौरी धेरै पालिन्छ । दुवै जिल्लाका विभिन्न ठाउँमा मौरी चराउन लैजाने गरेको रानाले बताउनुभयो । बाँकेमा धेरै थरिका फलफूल र तरकारी खेती गरिन्छ, उहाँले भन्नुभयो, बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै भएकोले मौरीपालनका लागि दुवै जिल्ला उर्वर मानिएका हुन् ।

मिहिनेत गर्न सके एक सय गोला मौरी सहज रूपमै पाल्न सकिने र वर्षमा १० देखि १२ लाख रुपियाँसम्म आम्दानी गर्न सकिने रानाले बताउनुभयो । मौरीपालन गर्ने किसानका लागि कोहलपुरमा जनकल्याण सहकारी संस्थाले काम गरिरहेको छ । एसियाली विकास बैङ्कको सहयोगमा सञ्चालित साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना नेपालगञ्जले सो सहकारीमा मह प्रशोधन प्लान्ट जडान गरेको छ । सहकारीले किसानबाट काँचो मह लिएर प्रशोधन गरी बजारमा पठाउने गरेको सहकारीका अध्यक्ष लीलबहादुर रानाले बताउनुभयो ।
सहकारीले वर्षमा १० टन मह सङ्कलन गर्ने गरेको छ । प्रशोधित महले नेपालगञ्ज र कोहलपुरमा बजार पाएको छ । यहाँ मौरीपालन गर्ने किसान निकै कम छन् । करिब ५० जना किसानले मात्र सक्रिय रूपमा मौरीपालन गरिरहेको जनकल्याण सहकारी संस्थाका अध्यक्ष रानाले जानकारी दिनुभयो । जिल्लामा २५–३० गोलादेखि दुई सय गोलासम्म मौरी पाल्ने किसान रहेका छन् ।

www.gorkhapatraonline.com

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments