कुखुरा र अण्डामा कर असुली

धनगढी — धनगढी उपमहानगरपालिकाले पशुपन्छी आयात/निर्यातमा मनपरी कर असुल्न थालेको छ । एक वडाबाट अर्काे वडामा ओसारपसार गर्दा पनि कर लगाएको छ ।

सरकारले भारतबाट आयातमै प्रतिबन्ध लगाएको कुखुरा र अण्डाबाट समेत उपमहानगरले कर असुली रहेको पाइएको छ ।

‘बर्डफ्लु नियन्त्रण ऐनले भारतबाट कुखुरा तथा अण्डा आयातमा प्रतिबन्ध लगाएको छ,’ कुखुरा व्यवसायी संघका अध्यक्ष भुवन पाण्डेले भने, ‘उपमहानगरपालिकाले भने भारतबाट अवैध रूपमा आयात कुखुरा तथा अण्डामा पनि कर उठाउने गरेको छ ।’ अर्काेतिर स्थानीय कुखुरा तथा अण्डा उत्पादक किसानलाई एक वडाबाट अर्काे वडामा पशुपन्छी ओसारपसार गर्दासमेत कर लगाएको उनले बताए ।

गत मंगलबार ७ नम्बर वडामा रहेको आफ्नो कुखुरा फार्मबाट अण्डा बजार पुर्‍याउन खोज्दा सन्तोष देउपालबाट कर लिन खोजेको उनले जानकारी दिए । अध्यक्ष पाण्डेले बालाजी कन्स्ट्रक्सनका ठेकेदार शेख मुनिर खानले प्रतिअण्डा ५० पैसाको दरले कर तिर्न देउपाललाई दबाब दिएको जानकारी दिए ।

‘देउपाल ठेला गाडीमा अण्डा बिक्री गर्न धनगढी बजार ल्याउँदै थिए,’ अध्यक्ष पाण्डेले भने, ‘ठेकेदार खानले कर तिर्न भन्दै अण्डा राखेको ठेलागाडी कब्जामा लिए ।’ व्यवसायी देउपालले कर तिर्न मानेनन् । अन्य व्यवसायीलाई खबर गरे । सबै भेला भएर त्यही दिन उप–महानगरपालिकामा विरोध जनाए । नगरप्रमुख नृपबहादुर वडले ठेकेदारलाई कर नउठाउन आदेश दिए ।

केही दिनअघि व्यवसायी राजु भट्ट बेलौरीबाट कुखुरा धनगढी ल्याउँदै थिए । उनले ल्याउँदै गरेका ४ सय ३० वटा कुखुरामा पनि कर लिएको अध्यक्ष पाण्डेले बताए । उनका अनुसार भट्टले प्रतिकुखुरा ७ रुपैयाँ र १३ प्रतिशत भ्याटसहित कर तिरेका थिए । हसुलिया सीमा नाकाबाट अवैध रूपमा भित्रिएका करिब २ सयवटा कुखुरामा पनि प्रतिकुखुरा २० रुपैयाँका दरले उपमहानगरले कर लिएको भेटिएको छ ।

धनगढी उपमहानगरपालिकाले बालाजी कन्स्ट्रक्सनसँग पशुपन्छी, आयात/निर्यातका लागि ४१ लाख ५ हजार ७ सयमा ठेक्का सम्झौता गरेको छ । उपमहानगरका आन्तरिक लेखापरीक्षक लेखराज भट्टका अनुसार देशभित्र र बाहिरबाट आयातित हुने माछा, खसीबोका, बंगुर, कुखुरा, अण्डा, फलफूल र तरकारीजन्य वस्तुमा कर उठाउने ठेक्का उक्त कम्पनीसँग उपमहानगरपालिकाले साउन १४ गते गरेको हो ।

कुखुराको मासुमा आत्मनिर्भर बन्दै गएको कैलालीमा स्थानीय तहले लगाएको करको मारमा व्यवसायी परेको अर्का स्थानीय विक्रम सिंहले बताए । उनका अनुसार चितवनपछि कुखुरा व्यवसायमा कैलाली दोस्रो नम्बरमा छ । कुखुरा र अण्डा व्यवसायमा जिल्लामा ४ अर्ब बढीको लगानी छ । लगानी संरक्षण गर्न स्थानीय तहले कुखुरा र अण्डामा लगाएको कर खारेज गर्नुपर्ने उनी बताउँछन् ।

कुखुरा व्यवसायी संघले पनि कर हटाउनुपर्ने माग राखेको छ । नगरप्रमुख नृपबहादुर वडले कुखुरा र अण्डामा लगाएको करको ठेक्का रद्द गर्ने तयारी गरिरहेको बताए । ‘हामीले केही कुराहरू थाहा नभएर, केही कुरा व्यवसायीलाई अप्ठयारो पर्ने भएपछि कुखुरा र अण्डामा लाग्ने कर फिर्ता लिनेमा गृहकार्य र छलफल गरिरहेका छौं,’ नगर प्रमुख वडले भने, ‘एक/दुई ठेक्का सम्झौता रद्द गर्छाैं ।’‘कुखुरा र अण्डा भारतबाट आयात गर्न प्रतिबन्ध लगाएको कुरा थाहा नपाएर कर लिएको हो। एक वडाबाट अर्काे वडामा कर लाग्दैन,’ वडले भने।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments