बोयर जातका पाठापाठीले मनग्ये आम्दानी

हेटाैंडा — मकवानपुरको ग्रामीण भेगमा रहेको उन्नत जातका बाख्राका बीउ उत्पादन केन्द्रले अघिल्लो वर्ष एक करोड रुपैयाँभन्दा बढीको बोयर जातका पाठापाठी बिक्री गरेको छ ।

यो जातका पाठापाठी उत्पादन गरी बिक्री गर्ने उद्देश्यले स्थापना गरिएको बाख्राको बीउ उत्पादन फर्मले गत वर्ष शत प्रतिशत बोयर जातका ५१ पाठापाठी बिक्री गरेको थियो ।

फर्मले ७० वटा नश्लसुधार गरिएका पाठापाठी बिक्री गरेको हो । ०७३/७४ मा उक्त फर्मले ५७ लाख मूल्य बराबरको पाठापाठी बिक्री गरेको थियो । ०७४/७५ मा १ करोड १ लाख मूल्य बराबरको पाठापाठी बिक्री गरेको फर्मका सञ्चालक गोविन्द सुवेदीले बताए । यो वर्ष २ करोड मूल्य बराबरको पाठापाठी बिक्री गर्ने लक्ष्य रहेको उनले जनाए ।

निर्वाहमुखी बाख्रापालनबाट कृषकहरूको जीवन धान्न धौ–धौ परेकाले विदेशबाट उन्नत जातका बाख्रा र बोका ल्याएर नश्लसुधार गरी बीउ उत्पादन गरी बिक्री वितरण गर्ने उद्देश्यले साविकको बसामाडी गाविस र हालको हेटौंडा उपमहानगरपालिका ३ सिमलथलीमा ५ वर्षअघि बीउ उत्पादनका लागि मात्र बाख्रा फर्म स्थापना गरिएको थियो । बीउ उत्पादनका लागि मात्र बाख्रा फर्म स्थापना गरिएको मकवानपुरमा यो मात्र हो ।

०७० मा स्थापना गरेको उक्त फर्ममा बोयर जातका मात्र ६० वटा बोका र बाख्रा छन् । स्थानीय जातको एउटा पनि बोका र पाठी छैन । शुद्ध बोयर जातका र क्रस गरेर जन्मेका गरी उक्त फर्ममा १ सय ५० वटा बोका, बाख्रा र पाठापाठी छन् । शुद्ध बोयर जातका प्रतिपाठापाठी एक लाखदेखि साढे २ लाख रुपैयाँसम्ममा बिक्री गर्ने गरिएको छ । वर्णसंकर प्रतिपाठापाठीहरू २० हजारदेखि ७५ हजारसम्म बिक्री गर्ने गरेको छ ।

सुरुमा उक्त फर्मले उन्नत जातका बोका अफ्रिकाबाट ल्याए नश्लसुधार गरेर पाठापाठी उत्पादन गर्न स्थानीय जातका ७० वटा बाख्रा पालेका थिए । हाल स्थानीय जातका बाख्रा विस्थापित भइसकेका छन् । गत वर्ष मात्र उक्त फर्मले अफ्रिका र अस्ट्रेलियाबाट ४ वटा बोका र १० वटा बाख्रा ३२ लाख रुपैयाँ खरिद गरेर ल्याएको छ । ‘बाख्रा फर्म मासुका लागि खसी बोका उत्पादन गर्नभन्दा पनि उन्नत जातका बोका र पाठी उत्पादन गरेर कृषकहरूलाई बिक्री गर्न स्थापना गरिएको हो,’ सुवेदीले भने ।

मकवानपुरका कृषकहरू मात्र होइन चितवन, डडेलधुरा, पर्सा, बारा, नवलपरासी, धादिङ,झापा, सुनसरी, खोटाङलगायत ४६ वटा जिल्ला कृषकहरूले बोयर जातका पाठापाठीहरू खरिद गरेर लगिसकेका छन् । मागअनुसार पुर्‍याउन सकिएको छैन । चार महिना पुगेपछि मात्र उनीहरूले पाठापाठी बिक्री गर्ने गरेका छन् ।

‘बोयर जातका पाठापाठी प्रतिकेजी चार हजार रुपैयाँमा र क्रस गरेर उत्पादन गरेको पाठापाठी १ हजार ८ सय रुपैयाँमा बिक्री गर्ने गरेका छौं,’ फर्मका सञ्चालक सुवेदीले भने, ‘उत्पादित पाठापाठीको माग व्यापक छ तर पुर्‍याउन सकेका छैनौं ।’ बोयर जातका पाठापाठीहरू तराई, पहाड र हिमालमा समेत फस्टाउन सक्ने र एक बेतमा २ वटादेखि ५ वटासम्म पाठापाठीहरू उत्पादन गर्छ । बोयर जातका पाठापाठीहरूको दैनिक चार सय ग्रामदेखि ६ सय ग्रामसम्म तौल बढ्ने गर्छ ।

बोयर बोका लगाएबापत प्रतिबाख्रा ५ सय रुपैयाँ लिने गरेका छन् । त्यसबाट जन्मेको पाठापाठी फर्मले खरिदसमेत गरिदिने व्यवस्था गरेको छ । ‘उन्नत जातको बाख्राको यो बीउ केन्द्रले बाख्रापालक कृषकहरूको जीवनस्तरमा परिवर्तन ल्याउन सहयोग पुर्‍याउन थालेको छ,’ जिल्ला पशु सेवा कार्यालयका प्रमुख रामप्रकाश प्रधानले भने, ‘बोयर जातका बाख्रा र बोका बाहिरबाट ल्याउन समस्या छ ।’ जिल्लामा साना ठूला गरेर करिब ४० वटा बाख्राका फर्महरू छन ।

पूर्ण बोयर जातको बाख्राको फर्म यो मात्र हो । यस फर्मका बोयर जातका बोकाहरू जिल्लामा रहेका २० वटा फर्ममा २–३ साताका निम्ति पठाउने गरिएको छ । उक्त बोका लागेको बाख्राबाट जन्मेका पाठापाठीहरू फर्मले नै खरिद गर्ने गरेको छ ।

करिब ४ बिघा जमिनमा आधुनिक खोरसहित डाले र भुइँ घाँसको राम्रो व्यवस्था गरेर खोलिएको उक्त बाख्रा फर्ममा ५ जनाले रोजगारी पाएका छन् । फर्म नजिकै घाँस खेती गरिएको छ । नेपियर, इपिलइपिल, भटमासे, किम्बु, सम्बासेटर, बडहरलगायत ३५ जातका भुइँ घाँस र डाले घाँस लगाएका छन् । दाना पनि फर्मले उत्पादन गर्ने गरेको छ । स्थानीय तहमा पशु सेवा कार्यालय समाहित भएपछि पशु कार्यालयका प्राविधिकहरूबाट सहयोग पाउन नसकेको गुनासो उनीहरूको छ । फर्मले एउटा पशु प्राविधिक आफैंले राखेको छ ।

उक्त बाख्रा फर्म अवलोकन गर्न प्रतिव्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क लिने गरेका छन् । समूहलाई ५ सय रुपैयाँ प्रवेश शुल्क लिने गरेका छन् । उक्त फर्म सुवेदी र भागीरथ अधिकारीले संयु्क्त रूपमा स्थापना गरेका हुन् । सेताम्मे देखिने उक्त बाख्रा फर्ममा सुवेदी र अधिकारीले २ करोड रुपैयाँ लगानी गरेका छन् । बोयर जातका बोका, बाख्रा र पाठापाठी निख्खर सेता हुन्छन् । विद्युत्को थ्री फेज लाइन नभएकाले दाना उत्पादन गर्न समस्या हुने गरेको सञ्चालकहरूले बताएका छन् ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments