खेर जाने किम्बुबाट १२०० पर्ने वाइन र खुर्पानीको ब्रान्डिङ: किसान विकास देसारको लोभलाग्दो ‘आइडिया’

ललितपुर गोदावरी नगरपालिका-११, चापागाउँका किसान विकास देसार कृषि क्षेत्रमा एक उदाहरणीय नाम बन्नुभएको छ। परम्परागत खेती प्रणालीमा मात्र सीमित नरही, उत्पादनको बजारीकरण र मूल्य अभिवृद्धिमा उहाँले देखाउनुभएको सक्रियताले धेरैको ध्यान खिचेको छ। विशेष गरी गाउँघरमा त्यसै खेर जाने फलफूललाई प्रशोधन गरेर आम्दानीको स्रोत बनाउन उहाँ सफल हुनुभएको छ।
देसारको एउटा रोचक उत्पादन हो- ‘किम्बुको वाइन’। किम्बु टिपैकै दिन खानुपर्ने र भोलिपल्टै बिग्रने स्वभावको फल हो। धेरै परिमाणमा उत्पादन हुँदा किम्बु कुहिएर जाने समस्या देखेपछि देसारले यसलाई वाइन बनाउने जुक्ति निकाल्नुभयो। १५ देखि ३० दिनको मेहनतपछि तयार हुने यो वाइनमा १२ देखि १६ प्रतिशतसम्म अल्कोहलको मात्रा हुन्छ। “खेर जाने चिजलाई कसरी सदुपयोग गर्ने भन्ने सोच्दा वाइनको आइडिया आयो, जुन अहिले व्यावसायिक रूपमा सफल भएको छ,” देसार भन्नुहुन्छ। हाल उहाँले यो घरेलु वाइन प्रति लिटर ७०० देखि १२०० रुपैयाँसम्ममा बिक्री गर्दै आउनुभएको छ।
वाइन मात्र होइन, फलफूलको प्याकेजिङ र बजारीकरणमा पनि उहाँको शैली फरक छ। गाउँघरमा चराचुरुङ्गीले खाएर वा झरेर खेर जाने खुर्पानीलाई उहाँले व्यवस्थित रूपमा प्लास्टिकको बट्टामा प्याक गरेर बजारमा ल्याउनुभएको छ। प्याकेजिङ गर्दा फलफूल लामो समयसम्म नबिग्रने र ग्राहकले पनि गुणस्तरीय सामान पाउने उहाँको अनुभव छ। ७-८ वटा खुर्पानी भएको एउटा प्याकेटलाई २५ रुपैयाँमा बेच्ने देसारले किसानले सामान्य प्याकेजिङमा मात्र ध्यान दिँदा पनि राम्रो आम्दानी लिन सक्ने बताउनुहुन्छ।
विकास देसारको मुख्य व्यावसायिक पहिचान भने च्याउ खेती हो। उहाँ सिताके र गोब्रे च्याउको सफल उत्पादक मात्र नभई यसको प्रशिक्षक समेत हुनुहुन्छ। उहाँको खेती प्रणाली पूर्णतः व्यवस्थित र चक्रिय छ। च्याउ खेतीबाट निस्कने बाँकी अवशेष (waste) लाई उहाँले तरकारी बारीमा जैविक मलको रूपमा प्रयोग गर्नुहुन्छ, जसले गर्दा एकातिर फोहर व्यवस्थापन भएको छ भने अर्कोतिर अर्गानिक तरकारी उत्पादनमा सहयोग पुगेको छ।
उहाँले उत्पादन गरेका यी अर्गानिक र रैथाने उत्पादनहरू खरिद गर्न चाहने ग्राहकका लागि उहाँ आफैँ बजारसम्म पुग्ने गर्नुहुन्छ। देसारले हरेक शनिबार काठमाडौँको कमलादीस्थित आईटी प्लाजामा लाग्ने ‘रैथाने कृषि हाटबजार’ मा आफ्ना यी उत्पादनहरू बिक्रीका लागि राख्दै आउनुभएको छ।
उपभोक्ताहरूले त्यहाँ पुगेर उहाँको फार्मको ताजा तरकारी, खुर्पानी र विशेष किम्बुको वाइनको स्वाद लिनुका साथै खरिद गर्न सक्नेछन्। उहाँको यो सक्रियताले उत्पादक र उपभोक्ताबीच सिधा सम्पर्क मात्र गराएको छैन, कृषिमा ‘खेर जाने’ केही हुँदैन भन्ने बलियो सन्देश पनि दिएको छ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?