तराईका पोखरी र घोलमा लुकेको कमाइको नयाँ सम्भावना, मखाना खेतीबाट किसानले लिन सक्छन् दोहोरो लाभ

मखाना (Fox Nut वा Lotus Seed)
पानीमा फल्ने कमल प्रजातिको एक महत्वपूर्ण जलीय वनस्पति हो। यसको बीउबाट तयार पारिने सेतो मखाना पौष्टिक खाद्य पदार्थका रूपमा परिचित छ। यसको बोटका पात फराकिला र काँडेदार हुन्छन् भने फल पानीमुनि हिलोमा लाग्छ। स्वास्थ्यका दृष्टिले उपयोगी मानिने र बजारमा राम्रो मूल्य पाउने भएकाले मखानालाई ‘सुपरफुड’ तथा ‘सेतो सुन’ समेत भन्ने गरिन्छ। पछिल्लो समय यसको व्यावसायिक खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ।

नेपालमा मखानाको माग बढ्दै गए पनि आन्तरिक उत्पादन भने निकै कम छ। नेपालमा वार्षिक करिब ९०० मेट्रिक टन मखानाको माग रहेकोमा आन्तरिक उत्पादन करिब ७३ मेट्रिक टन मात्रै रहेको उल्लेख छ। मागअनुसार उत्पादन हुन नसक्दा नेपालले ठूलो परिमाणमा मखाना भारतबाट आयात गर्दै आएको छ। यस्तो अवस्थामा तराईका खाली पोखरी, घोल तथा सिमसार क्षेत्रलाई सदुपयोग गरेर मखानाको व्यावसायिक खेती गर्न सके आयात प्रतिस्थापनसँगै किसानको आम्दानी बढाउन सकिने सम्भावना छ। पछिल्लो समय तराईका विभिन्न क्षेत्रमा किसानले मखाना खेतीलाई आयआर्जनको नयाँ माध्यमका रूपमा अपनाउन थालेका छन्।

हावापानी, माटो र पानी

मखाना खेतीका लागि उष्ण तथा उपोष्ण हावापानी उपयुक्त मानिन्छ। विशेषगरी २० देखि ३५ डिग्री सेल्सियस तापक्रम र पर्याप्त आर्द्रता भएको वातावरणमा यसको वृद्धि राम्रो हुन्छ। नेपालको पूर्वी तथा मध्य तराई क्षेत्रको हावापानी मखाना खेतीका लागि अनुकूल मानिन्छ।

यसको खेती गर्न पोखरी वा खेतको फेदमा प्रशस्त प्राङ्गारिक पदार्थ भएको चिम्ट्याइलो तथा हिलो माटो आवश्यक पर्छ। यस्तो माटोले पानी सञ्चित गरेर राख्न मद्दत गर्छ। मखाना पानीमा आधारित बाली भएकाले खेती अवधिभर पर्याप्त पानी जमिरहनुपर्छ। सामान्यतया १.५ देखि ४ फिटसम्म पानीको गहिराइ उपयुक्त मानिन्छ।

उन्नत जातको छनोट

मखानाको उत्पादन र गुणस्तर बढाउन उन्नत जातको छनोट महत्वपूर्ण हुन्छ। नेपालमा भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) द्वारा विकास गरिएका जातहरू खेतीका लागि उपयोगी मानिन्छन्। स्वर्ण वैदेही जात उच्च उत्पादन क्षमता र रोग प्रतिरोधात्मक गुणका लागि परिचित छ। त्यस्तै, सबौर मखाना–१ कम समयमा तयार हुने र तुलनात्मक रूपमा ठूला दाना उत्पादन गर्ने जात हो।

खेती गर्ने तरिका र समय

मखाना खेती परम्परागत पोखरीका साथै धान खेती गरिने हिल्याइएको खेतमा पनि गर्न सकिन्छ। यसको खेती चक्र सामान्यतया आठदेखि १० महिनाको हुन्छ। खेती सुरु गर्न पुस–माघ महिनामा सानो पोखरी वा नर्सरीमा बीउ छरेर बेर्ना तयार गरिन्छ। बेर्ना तयार भएपछि फागुन–चैतमा मुख्य पोखरी वा खेतमा सारिन्छ।

वैशाख–जेठतिर बोटमा फूल फुल्न थाल्छन्। यसका फूल बैजनी रङका हुन्छन्। त्यसपछि असार–साउनमा फल लाग्छ र पाकेका फल पानीमुनि हिलोमा खस्छन्। भदौ–असोजतिर पानीभित्रको हिलो कोट्याएर कालो बीउ सङ्कलन गरिन्छ।

मखाना धानजस्तो काटेर भित्र्याइने बाली होइन। यसको बीउ सङ्कलन गर्न कामदारहरू पानीभित्र पसेर डुबुल्की मार्दै वा निहुरिएर हिलोबाट बीउ निकाल्छन्। यस क्रममा बाँसबाट बनेको विशेष टोकरी (खोङ्गी) प्रयोग गरिन्छ। पानीमुनि हिलोमा रहेका बीउ छानेर सङ्कलन गर्नुपर्ने भएकाले यसका लागि सीप र अनुभव आवश्यक हुन्छ।

रोग, कीरा तथा व्यवस्थापन

मखाना खेतीमा पातको डढुवा, लाही कीरा, घोंघी तथा झारपातले समस्या निम्त्याउन सक्छन्। पातमा काला धब्बा देखिएमा पोखरी सफा राख्ने र प्राविधिकको सल्लाहअनुसार उपयुक्त ढुसीनाशक प्रयोग गर्नुपर्छ। त्यस्तै, बोटको रस चुस्ने लाही कीरा नियन्त्रणका लागि निमको तेल वा उपयुक्त जैविक विषादी प्रयोग गर्न सकिन्छ। घोंघीले कलिला पातमा क्षति पुर्‍याउन सक्ने भएकाले नियमित निरीक्षण गरी हटाउनुपर्छ। पोखरीमा अनावश्यक झारपात बढ्न नदिनु पनि आवश्यक हुन्छ।

मखाना प्रशोधन गर्ने तरिका

मखानाको बीउ सङ्कलन गरेपछि बजारमा बिक्री गर्न मिल्ने सेतो मखाना बनाउन विभिन्न प्रशोधन प्रक्रिया पूरा गर्नुपर्छ। सुरुमा हिलोबाट निकालिएका कालो बीउलाई सफा पानीले दुई–तीन पटक धुनुपर्छ। त्यसपछि तीनदेखि चार दिनसम्म घाममा सुकाएर आवश्यक मात्रामा चिस्यान कायम गरिन्छ। सुकाइएका बीउलाई आकारअनुसार छुट्याएर ग्रेडिङ गरिन्छ।

त्यसपछि फलामे कराहीमा उच्च तापक्रममा बीउ भुटिन्छ। भुटिएका बीउलाई केही समय चिसोमा राखेपछि पुनः तताएर काठको हम्बर वा विशेष मेसिनको सहायताले प्रहार गरी फुटाइन्छ। यसरी बीउभित्रको सेतो भाग बाहिर निस्कन्छ, जसलाई मखानाको लावा भनिन्छ। अन्त्यमा मखानामा टाँसिएका कालो बोक्राका टुक्रा तथा धुलो हटाएर सफा र चम्किलो बनाइन्छ। यसका लागि कुनै रसायन प्रयोग नगरी घुम्ने मेसिन वा डालाको घर्षणबाट समेत सफाइ गर्न सकिन्छ।

भण्डारण र सुरक्षा

प्रशोधन गरिएको मखाना ओसिलोपनप्रति संवेदनशील हुन्छ। त्यसैले यसको स्वाद, गुणस्तर र कुरकुरेपन कायम राख्न हावा तथा ओस नछिर्ने प्याकेट वा भ्याकुम प्याकिङमा राख्नुपर्छ। भण्डारण गर्दा ओभानो र सफा गोदाम छनोट गर्नुपर्छ। सामानलाई सिधै भुइँमा नराखी काठको फ्ल्याकमाथि राख्नुका साथै मुसा तथा अन्य कीराबाट सुरक्षित बनाउनुपर्छ। उचित भण्डारण व्यवस्था मिलाउन सके मखानालाई १० देखि १२ महिनासम्म सुरक्षित राख्न सकिन्छ।

आर्थिक सम्भावना र बजार

मखाना खेतीको अर्को महत्वपूर्ण पक्ष यसको बजार मूल्य हो। नेपालका सुपरमार्केट तथा ड्राइफ्रुट पसलमा प्रशोधित मखाना प्रतिकिलो एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्ममा बिक्री हुने गरेको उल्लेख छ। बढ्दो माग र सीमित आन्तरिक उत्पादनका कारण यसको व्यावसायिक खेतीमा राम्रो सम्भावना देखिन्छ।

मखाना खेतीलाई माछापालनसँगै पनि जोड्न सकिन्छ। मखाना उत्पादन भइरहेका पोखरीमा उपयुक्त व्यवस्थापन गरेर माछापालनसमेत गर्न सके एउटै जलस्रोतबाट दुई प्रकारका कृषि उपज उत्पादन गर्न सकिन्छ। यसले किसानलाई आम्दानीका थप अवसर प्रदान गर्न सक्छ। तर माछाको जात, सङ्ख्या र पोखरी व्यवस्थापन भने मखाना खेतीको आवश्यकतासँग मिलाएर गर्नुपर्छ।

स्वास्थ्य लाभ र परिकारमा प्रयोग

मखानामा प्रोटिन, फाइबर, म्याग्नेसियम तथा पोटासियमजस्ता पोषक तत्त्व पाइन्छन्। यसमा बोसो कम हुने भएकाले सन्तुलित खानपानमा समावेश गर्न सकिन्छ। मखानालाई घिउमा हल्का भुटेर खाजाका रूपमा खान सकिन्छ। त्यस्तै, यसको खीर बनाउन, मटर तथा पनिरसँग मिसाएर तरकारीका रूपमा पकाउन र पाउडर बनाएर विभिन्न परिकारमा प्रयोग गर्न सकिन्छ। बालबालिका तथा वृद्धवृद्धाका लागि पनि यसलाई विभिन्न पौष्टिक परिकारमा समावेश गर्न सकिन्छ। यद्यपि मखानालाई मधुमेह, मुटुरोग वा उच्च रक्तचापको उपचारका रूपमा लिनु हुँदैन।

नेपालको तराई क्षेत्रमा रहेका खाली पोखरी, घोल तथा सिमसार क्षेत्रलाई उत्पादनसँग जोड्न सके मखाना खेती कृषि क्षेत्रका लागि नयाँ सम्भावनाको क्षेत्र बन्न सक्छ। बढ्दो बजार मागलाई स्वदेशी उत्पादनले पूरा गर्न सके भारतबाट हुने आयात घटाउनुका साथै ठूलो परिमाणमा वैदेशिक मुद्रा बचाउन सकिन्छ। यसले किसानका लागि रोजगारी र आम्दानीका अवसर सिर्जना गर्नुका साथै स्थानीय स्तरमै कृषि उद्यम विकासमा समेत योगदान पुर्‍याउन सक्छ। त्यसैले उपयुक्त क्षेत्र पहिचान, गुणस्तरीय बीउ, प्राविधिक ज्ञान र बजार व्यवस्थापनमा ध्यान दिन सके मखाना खेती तराईका किसानका लागि राम्रो व्यावसायिक विकल्प बन्न सक्छ।

नोट: मखाना खेती सुरु गर्नुअघि आफ्नो क्षेत्रको हावापानी, पानीको उपलब्धता, जात छनोट तथा खेती प्रविधिबारे कृषि प्राविधिकसँग परामर्श लिनु उपयुक्त हुन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments