धानबालीमा फट्के कीरा

कञ्चनपुर — धान पाक्ने र भित्र्याउने बेला खैरो फट्के कीराको प्रकोप देखिएपछि किसान चिन्तित छन् । एक साताअघिसम्म राम्रै गरी पसाउन लागेको धान अचानक सुक्न थालेको छ । जिल्लाका अधिकांश भेगको धानबालीमा फट्के कीराको प्रकोप देखिएको हो ।

‘एक हप्ताअघिसम्म धान राम्रै थियो, एकनासले पसाउँदै थियो,’ भीमदत्त १८ खैरभट्टीका कृषक केशव दत्त पाण्डेयले भने, ‘अहिले त सबै धान सुक्न लागेको छ, कतिपय ठाउँमा त खेत नै खाली भएको छ ।’ उनको करिब आधा बिघाको धान खेती फट्के कीराको प्रकोपले सखाप हुने अवस्थामा पुगेको छ ।

कञ्चनपुरको सुन्दरपुर बीउ उत्पादन केन्द्रबाट ल्याइएको उन्नत जातको धानमा रोगको प्रकोप बढी पाइएको उनले बताए । ‘अन्य धानमा यो कीरा लागेको छैन,’ पाण्डेयले भने, ‘कृषिबाटै ल्याएको बीउमा कीरा बढी देखिएको छ ।’ यसपालि लगातार वर्षा भइरहेकाले धान उत्पादन राम्रो हुने अपेक्षा गरेका उनलाई अन्तिममा कीरा लागेपछि चिन्तित बनाएको छ ।

भीमदत्त १७ बांँसखेडाका चन्द्रकान्त पाठकको पनि आधा बिघाको धानखेत फटे कीराले सखाप पारेको छ । एक साताकै अवधिमा हेर्दा हेर्दै उनको धानबाली पूरै सुकेको छ । ‘पसाउँदै थियो, एकाएक पहेंलो भएर सुक्न थाल्यो,’ पाठकले भने, ‘एक कुनामा पहेंलो भएको धान पूरै खेतभरि सुकेर गयो ।’ उनले कीरा मार्ने विषादीको प्रयोग गरे । तर, त्यसले पनि धान पहेंलो हुने र सुक्ने क्रम रोकिएन ।

बांँसखेडामा धेरै किसानको खेतमो यो कराको प्रकोप देखिएको छ । बिस्तारै सबैको खेतमा पुग्दै गएकाले धानबालीका लागि महामारीकै रूप लिन सक्ने प्राविधिकहरू बताउँछन् । ‘सुरुमा एक/दुई ठाउँमा मात्रै देखिएको यो प्रकोप अहिले जिल्लाभरि नै पुगेको छ,’ हालै अवकाशप्राप्त बाली संरक्षण अधिकृत देवीदत्त कलौनीले भने, ‘विभिन्न ठाउँबाट कृषकहरूले खबर गरिरहेका छन्, धेरै ठाउँमा म आफैं पुगेर उपचारबारे जानकारी गराएको छु ।’

कलौनीका अनुसार करिब १० वर्षअघि पुनर्बास नगरपालिकाको खड्डा कंकडमा पनि यस्तै प्रकोप देखिएको थियो । त्यतिबेला सय/डेढ सय बिघाका धानबाली सखाप भएको थियो । कृषकहरूले परालसमेत काट्न पाएका थिएनन् । समयमै कृषकहरूले उचित विषादी प्रयोग गरेर प्रकोप नियन्त्रण गर्न नसके यसले महामारीको रूप लिन सक्ने उनले बताए ।

भीमदत्त नगरपालिकाको कृषि शाखाका प्रमुख बाली संरक्षण अधिकृत नवराज जोशीले नगरपालिकाका विभिन्न ठाउँमा फट्के कीराको प्रकोप देखिएकाले कृषकहरूलाई उपचारका व्यवस्थाबारे जानकारी दिने काम भइरहेको बताए । यो कीरा गत विगतका वर्षमा पनि धानबालीमा देखिने गरेको थियो । तर, यस वर्ष ठूलो मात्रामा देखिएकाले नोक्सान बढी भएको उनले बताए । ‘यसले बालीमा भएको तत्त्व सबै चुसेर केमिकल छाड्ने गर्छ,’ उनले भने, ‘उक्त केमिकलका कारण बाली सुकेर जान्छ ।’

उक्त कीरा मार्नका लागि सावरबेटिन, रोगर र इमाडो क्लोरोपिडलगायतका विषादीहरू हाल्नुपर्ने प्राविधिकहरू बताउँछन् । एकदेखि डेढ मिलिलिटर विषादी एक लिटर पानीमा मिसाएर हालेमा यसको नियन्त्रण हुने उनीहरू बताउँछन् । तत्काल नियन्त्रण हुन नसके धान उत्पादनमा ठूलो ह्रास आउने प्राविधिकहरूले बताए । तर, एक/दुई दिनयता वर्षा भइरहेकाले विषादी हाल्न नसकिएको कृषकहरू बताउँछन् ।

कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धानखेती गरिन्छ । यहाँ धानको उत्पादकत्व ३ मेट्रिक टन प्रतिहेक्टर रहेको छ । यस वर्ष नियमित वर्षा भइरहेका कराण धानको उत्पादन राम्रो हुने अपेक्षा गरिएको थियो । तर, फल्ने बेला देखिएको प्रकोपले उत्पादनमा ह्रास आउने देखिएको छ ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments