दाना र चल्लाको भाउ बढ्यो, मासुको घट्यो

बनेपा – नेपालका दाना र ह्याचरी उद्योगले कुखुराको दाना र चल्लाको भाउ बढाएका छन् । दानामा प्रतिबोरा (५० किलो) ७५ देखि एक सय रुपैयाँसम्म बढाएका छन् । ब्रोइलरको एकदिने चल्लामा भने पाँच रुपैयाँ बढाएका छन् । सोमबारसम्म प्रतिगोटा चल्लाको ह्याचरी रेट ७५ रहेकामा अब ८० रुपैयाँ पुर्याइएको छ।

अघिल्लो असारमा चल्ला बेच्न नसकेपछि नेपाल ह्याचरी उद्योग संघले प्रतिचल्ला ३५ रुपैयाँ रेट निर्धारण गर्दै उत्पादनसमेत आधा गर्नका लागि सदस्य ह्याचरीहरुलाई निर्देशन दिएको थियो । तर, चार महिना नपुग्दै चल्लाको भाउमा दोब्बरभन्दा बढी वृद्धि गरेको हो।

दाना उद्योगीले पनि कच्चा सामग्रीको भाउ र ढुवानी भाडा बढेको तथा कृषि सुधार शुल्क लागेको भन्दै कुखुराको सबैखाले दानाको भाउ बढाएका हुन् । उद्योगीले दानाको मुख्य कच्चा पदार्थ मकै, भटमासको पीना र ढुटोको भाउ बढेको हुँदा बाध्य हुनु परेको तर्क राख्दै आएका छन् । नेपाल दाना उद्योग संघका अनुसार मुलुकभर एक सय पाँचवटा दाना उद्योग छन् । त्यसमा पेलेट दाना बनाउने उद्योगको बाहुल्य रहेको छ । हाल दैनिक तीन हजार टन उत्पादन हुँदै आएको छ।

ब्रोइलर चल्लाको भाउ बढाएका ह्याचरीले भारतमा समेत चल्लाको भाउ बढेको भन्दै यहाँ पनि भाउ बढाएका हुन् । तर, भाउ बढ्दासमेत अघिल्लो असार महिनामा प्यारेन्ट स्टक (माउ कुखुरा) बेचेका साना ह्याचरीले भने आक्रोश पोखेका छन्।

‘हामीलाई प्यारेन्ट बेच्न उक्साएर ठूला ह्याचरीले आफ्नो पूर्ण क्षमतामा चल्ला निस्कने समय पारेर भाउ बढाएका हुन् । यो साना ह्याचरीलाई सिध्याउने खेल हो,’ उपत्यकाका एक ह्याचरी सञ्चालकले भने । ह्याचरी संघका अनुसार नेपालमा ठूला–साना गरी दुई सय नौवटा ह्याचरी छन्।

साना ह्याचरीमात्रै नभई किसानसमेत चल्लाको भाउ बढाएर ८० रुपैयाँ पुर्याउनु पर्ने कुनै आधार नभएको बताउँदै आएका छन् । ‘ह्याचरीले आफ्नो उत्पादन लागतका आधारमा चल्लाको मूल्य निर्धारण गर्नुभन्दा पनि बजार हेरेर निर्धारण गर्दै किसानलाई मारमा पार्न थालेका छन् । हिजो त्यही चल्ला ३५ रुपैयाँमा दिन सक्ने ह्याचरीले यतिखेर दोब्बरभन्दा बढी मूल्य राख्नुको औचित्य किसानसमक्ष राख्ने हिम्मत गर्नुपर्छ,’ नेपाल ब्रोइलर कुखुरापालन तथा उत्पादक संघका सचिव सन्दीप पोखरेलले आक्रोश पोखे।

दानाको कच्चा पदार्थको आयातमा सरकारले कृषि सुधार शुल्क लगाएको र उत्पादन हुने देशमै भाउ बढेको हुँदा चित्त बुझाउन सकिए पनि चल्लामा गरिएको मूल्य वृद्धिलाई कुनै हालतमा स्वीकार गर्न नसकिने पोखरेलको भनाइ छ । ‘एक पाकेट बिस्कुटको मूल्यमा फरक परेको खण्डमा कारबाही गर्न तम्सने सरकारले ह्याचरीले बिना आधार यसरी भाउ बढाइरहँदा अनुगमन गर्न किन हिच्किचाउँछ ?,’ उनले थपे।

यसैबीच, दाना र चल्लामा भाउ बढाएका उद्योगीकै सिको गर्दै कोल्ड स्टोर (जिउँदो ब्रोइलरका क्रेता)हरुले पनि मंगलबारबाटै लागू हुने गरी ब्रोइलरको खरिद मूल्यमा प्रतिकिलो १० रुपैयाँ घटाएका छन् । यस वर्ष असारदेखि असोजको पहिलो सातासम्म किसानले तयारी ब्रोइलर किलोको दुई सयदेखि दुई सय ३० रुपैयाँ पाइरहेका थिए ।
‘साउनजस्तो धेरैले ब्रत बस्ने र बोलबम महिनामा समेत कुखुराको मासुको खपत नघटेको अवस्था थियो । त्यही बेलादेखि नै दुई सय ३० रुपैयाँको एकनास भाउ बसेकोमा एक्कासी भाउ घटाएर किसानलाई मर्का पार्ने काम भएको छ,’ पोखरेलले थपे।

अघिल्लो वर्ष पनि यत्तिकै हाराहारीमा ब्रोइलरको भाउ थियो । तर, चल्ला र कुखुरामा उच्च मृत्युदर हुँदा भाउ राम्रो पाउँदासमेत अधिकांश किसानले ठूलो घाटा खाएका थिए । तर, यस पटक चल्ला र कुखुरामा मृत्युदरमा कमी आउँदा एक हजार कुखुरा पाल्ने किसानले ३८ देखि ४५ दिनभित्रमा कम्तीमा एकदेखि डेढ लाख रुपैयाँसम्म कमाउन सफल भएका छन्।

‘अब यतिखेरको महंगो चल्लालाई महँगै दाना खुवाएर पाल्दासमेत किसानले नाफा पाउने अवस्था देखिन्न । केही महिना किसानले फाइदा पाए भनेर दाना र ह्याचरी उद्योगहरुले कुनै आधार बेगर मनलाग्दी भाउ बढाउन पाइन्न । यसतर्फ सरकारले निगरानी बढाएर ब्रोइलर कुखुरापालक किसानलाई जोगाउनु पर्छ,’ पोखरेलले थपे।

nagariknews.nagariknetwork.com

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments