छुर्पी निर्यात बढ्यो

ताप्लेजुङ — हिमाली तथा पहाडी जिल्लामा पशुपालनबाट उत्पादित छुर्पीको विदेश निर्यात बढेको छ । आर्थिक वर्ष ०७४/०७५ को ११ महिनामा ८० करोड रुपैयाँ बढीको छुर्पी निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ८० करोड ३ लाख २४ हजार रुपैयाँको निकासी भएको हो । ५ लाख ३९ हजार २ सय ८० किलो बाहिरी देश गएको तथ्यांकमा उल्लेख छ । यो अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बरले बढी हो ।

गत आर्थिक वर्षमा ५२ करोड रुपैयाँको निर्यात भएको थियो । निर्यात भएमध्ये ७२ करोड ६० लाख ९४ हजार रुपैयाँको अमेरिका मात्रै गएको छ । ती देशमा कुकुरलाई खुवाउन थालिएपछि नेपालमा उत्पादित छुुर्पीको माग बढेको हो ।

इलाम जिल्लामा यसै प्रयोजनका लागि उत्पादन तथा प्रशोधन गर्ने केन्द्र नै खुलेका छन् । उनीहरूले उत्पादन गर्ने जिल्ला र काठमाडौंमा यसलाई तयार गर्छन् र निर्यात गर्छन् । अमेरिका पठाउँदै आएका हिमालयन ह्याण्डिक्राफ्टका संचालक राजेन्द्रकुमार श्रेष्ठका अनुसार तीन वर्षका लागि सम्झौता गरिएको हुन्छ । किसानले तयार पारेको छुर्पी थप छ महिना प्रशोधन गरेर पठाउने उनले बताए ।

११ महिनामा अमेरिकाले ४ लाख ८७ हजार ४ सय ८० किलो लगेको छ । तथ्यांक अनुसार १९ वटा देशमा छुर्पी निर्यात हुन्छ । अमेरिकापछिको बढी क्यानडा गएको छ । क्यानडाले ३ करोड ६९ लाख ९१ हजार मूल्य बराबरको २६ हजार किलो छुर्पी लगेको हो ।

सबैभन्दा कम इजरायलमा १० किलो मात्रै निर्यात भएको छ । २४ हजार ९ सय ५९ रुपैयाँको छुर्पी इजरायल गएको हो । यो त्यहाँ रहेका नेपालीले कोसेलीको रूपमा लगेको अनुमान छ । यो वर्ष हङकङ, इजरायल, जापान, कोरिया, मलेसिया, सिंगापुर, ताइवान, थाइल्यान्ड, युएई, भारत, क्यानडा, अमेरिका, जर्मन, बेलायत र रसिया निर्यात भएको छ ।

कोरियामा मात्रै १ करोड ३१ लाखको १० हजार ४६ किलो निर्यात भएको छ । ताइवानमा ६ हजार ७३, भारतमा २ हजार ७ सय, जापानमा २ हजार ७ सय १२, हङकङमा १ हजार १ सय ८१, सिंगापुरमा ९ सय १८ किलो निर्यात भएको छ ।

छुर्पी उत्पादकका अनुसार कुकुर र मान्छेले खानेमा केही फरक छ । कुकुरले खानेमा घिउको मात्रा हुनु हुँदैन भने मान्छेले खानेमा केही भए पनि हुन्छ । तर छुर्पी बनाउने किसानले घिउको मात्रा भने पूरै निकालेर बनाउने गरेका छन् । चौंरी वा गाई दुहेपछि त्यसलाई चिसो पानी वा चिस्यान गर्ने ठाउँमा राखिन्छ ।

जमेपछि त्यसको घिउको मात्रा निकालेर त्यसपछि दूधलाई फटाएर छुर्पी बनाइन्छ । यसलाई अँगेनाको भारमा आगोको रापले सेकाउने गरिएको छ । छुर्पीको मूल्य भने ठाउँ अनुसार फरक रहेको छ । उत्पादन हुने गाउँमै प्रतिकिलो एक हजार रुपैयाँ पुगेको छ ।

सदरमुकामसम्म पुग्दा ढुवानीले बढी मूल्य लाग्छ । त्यसलाई काट्ने लगायतका काम पनि गर्नुपर्छ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा छुर्पीको खुद्रा मूल्य १२ सय रुपैयाँ किलो रहेको छ ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments