बाली बिमा झन्झटिलो

स्याङ्जा — बिमा गर्दा बालीको फोटो, सिफारिस र मुचुल्कालगायतका प्रक्रिय पूरा गर्नुपर्छ । तीन महिनाका लागि बिमा गरेपछि जति सजिलोगरी रकम बुझाइन्छ, त्यति सजिलो रकम लिनुपर्दा नभएको किसान भनाइ छ ।

त्यसैले बाली बिमामा किसान आकर्षित छैनन् । अझ ५ वर्षअघि बिमा गराएकाहरू राहत नपाउँदा निरास छन् । लाभको नभई लागतको बिमा गरिने भएकाले प्रक्रिया अव्यावहारिक र झन्झटिलो भएको किसानले बताएका छन् ।

फेदीखोलाको सर्केटारीका शिव सुवेदी झन्झटिलो प्रक्रियालाई सरलीकरण गरे मात्रै किसान आकर्षित हुने बताउँछन् । ‘एकैछिन परेको असिनापानीले करोडौं डुबाउँछ,’ उनले भने, ‘त्यसको प्रमाण हामी कसरी जुटाउने ? घरगोठ ढले, गाडी दुर्घटनामा परे, गाईबस्तु घाइते अर्थात् मरेमा जति सजिलै प्रमाण पुर्‍याउन सकिन्छ त्यति नै गाह्रो छ बालीमा क्षतिको प्रमाण पुर्‍याउन ।’ बिमा गर्नेहरूका लागि क्षतिको प्रमाण पुर्‍याउन सजिलो नभएको उनले बताए ।

क्षति भइहाल्यो भने बिमा कम्पनीले तोकेको कागजात मिलाउन निकै गाह्रो छ’ उनले पुन: भने, ‘किसानलाई यस विषयमा बुझिहिँड्ने र कागजात बनाउने फुर्सद पनि हुन गाह्रो पर्छ ।’ काम नगर्ने कृषकको नाममा सरकारी अनुदान लिने र बिमाबाट फाइदा लिन जान्ने मात्र यसतर्फ आकर्षित हुने उनको भनाइ छ ।

आँधीखोलाको विचारीचौताराका सुरेन्द्रराज पौडेलले तरकारीको बिमा गराएर कृषकले लाभ लिनसक्ने अवस्था नभएको दाबी गरे । चार वर्षदेखि गोडभेडासँगै विभिन्न जातका तरकारी खेती गर्दै आएका उनले किसानलाई बीउ, मल, सिँचाइ, जमिन तयार पर्दा गोलभेडाको एउटा बेर्नाको मूल्य २ सय ५० सम्म पुग्ने बताए । ‘सरकारले ५ रुपैयाँ मात्र बिमाको व्यवस्था गरेको छ,’ उनले भने, ‘५ रुपैयाँ तिर्न हामी बिमा कम्पनीसँग कसरी जाने ?’ सरकारले किसानका लागि बिमामा प्रतिफल हेरेर क्षतिपूर्ति दिनुपर्ने उनको सुझाव छ ।

जिल्लामा व्यावसायिक कृषक करिब दुई हजारजना भन्दा बढी छन् । गल्याङ नगरपालिका ११ जिमुवा क्षेत्र कृषिको हब भनेर चिनिन्छ । यहाँका प्रत्येक घरधुरी व्यावसायिक खेतीमा जोडिएका छन । व्यावसायिक तरकारी खेती नगर्ने घर भेट्न मुस्किल छ । तर, कुनै घरधुरीले तरकारी खेतीको बिमा गर्न मानेका छैनन् ।

व्यावसायिक कृषिका काम भइरहेका जिमुवा, स्वरेक, त्रियासी, क्वरेभञ्ज्याङ, पकवादी, सर्केटारी, लामागे, ठूलीबेंसी, सेतीदोभान, चापाकोट र पुतलीबजारलगायतका अधिकांश किसान बली बिमामा आकर्षित हुन सकेका छैनन् ।

नेपाल बैंकको स्याङ्जा शाखा प्रबन्धक विश्वराज अधिकारीले बिमाको लागि आउने कृषकहरू बिमा नगरी फर्कने गरेको बताउँछन् । ‘हामीले कृषकलाई बिमा गर्नका लागि सहयोग पनि गरेका छौं,’ उनले भने, ‘यसतर्फ कृषकको चासो देखिएन । झन्झटिलो प्रक्रिया र क्षति हुँदा प्रमाण पुर्‍याउन नसकिने भन्दै मान्दैनन् ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments