दसैंको मुखमा खाद्य गोदाम रित्तै

धनगढी — दसै–तिहारको मुखमा प्रदेश ७ का पहाडी जिल्लामा चामल अभाव भएको छ । अभावग्रस्त जिल्लाका स्थानीय प्रशासनबाट खाद्यान्न माग भए पनि नेपाल खाद्य संस्थानको धनगढीस्थित क्षेत्रीय गोदाम रित्तो छ ।

संस्थानका क्षेत्रीय प्रमुख गंगादत्त पन्तले खाद्य संकट हुने पहाडी जिल्लाबाट खाद्यान्न माग भइरहेको बताए । ‘स्थानीय प्रशासनले लिखित र मौखिक दुवै किसिमले दसैंअघि चामल पठाउन आग्रह गरेका छन्,’ उनले भने, ‘अत्यावश्यक ठाउँमा चामल पठाउने तयारी भइरहेको छ ।’

खाद्य संस्थानको चामल नजाने डोटी बाहेक प्रदेश ७ का सबै पहाडी जिल्लाबाट खाद्यान्नको माग भएको छ । डोटी र डडेल्धुरामा खाद्य संस्थानले चामल पठाउँदैन । तर, गत असारमा डडेल्धुराको ग्रामीण क्षेत्रबाट समेत चामल माग भएको क्षेत्रीय प्रमुख पन्तले बताए । दसैं र तिहारसम्म ५ सय क्विन्टल चामल पठाउने तयारी भइरहेको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराले सदरमुकाम मार्तडी, कवाडी र कोल्टी डिपोबाट वितरण गर्न २ हजार क्विन्टल चामल माग गरेको छ । बाजुराका लागि यो वर्ष ३० हजार क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ । त्यसका लागि पाण्डेय ढुवानी सेवा र अंकित सार्वजनिक परिवहनको ढुवानी ठेक्का स्वीकृत भएको छ । तर, ठेक्का सम्झौता हुन नसक्दा ढुवानी सुरु हुन नसकेको खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ ।

बझाङको दुर्गमबस्ती बिसौना, तलकोट र सदरमुकाम चैनपुर, दार्चुलाको सुनसेरा, पारिबगर र खण्डेश्वरी, बैतडीको पुर्चाैडी, मेलौली र कुलाउ, डडेल्धुरा र अछामको सदरमुकाम तथा विनायक क्षेत्रबाट ५ सयदेखि १ हजार क्विन्टल चामल तत्काल माग भएको छ ।

क्षेत्रीय गोदाममा भने आपतकालीन कोटाको भण्डारण पनि सकिएको छ । क्षेत्रीय प्रमुख पन्तले तत्कालको आवश्यकता पूर्ति गर्न संस्थानको बिर्तामोड र राजापुर गोदामबाट चामल मगाउन थालेको बताए । उनका अनुसार सबै ठाउँबाट दसैंअघि १० हजार क्विन्टल चामल माग भएको छ ।

सार्क र आन्तरिक आपतकालीन खाद्य व्यवस्था पूर्ति गर्न १०/१० हजार क्विन्टल भण्डारण राख्नुपर्ने व्यवस्था छ । विगत केही वर्षदेखि सार्क र आन्तरिक आपतकालीन कोटाको चामल भण्डारण हुन नसकेको खाद्यका एक कर्मचारीले बताए । उनका अनुसार सरकारले खरिद बजेट नै कम दिने भएकाले आपतकालीन कोटाको खाद्यान्न भण्डारण हुन नसकेको हो । क्षेत्रीय कार्यालयले गहुँ पनि भण्डारण गर्छ । गहुँ भने ५ हजार ७ सय ९९ क्विन्टल मौज्दात छ ।

क्षेत्रीय प्रमुख पन्तले दसैं र तिहारमा हुने खाद्यान्न संकट टार्न बिर्तामोडको गोदामबाट २ हजार र बर्दिया राजापुर गोदामबाट अढाइ हजार क्विन्टल चामल आइरहेको बताए । ‘गोदाम घरमा चामल नहुँदा पहाडी जिल्लामा पठाउन नसकेको होइन,’ उनले भने, ‘चालु आर्थिक वर्षको ढुवानी ठेक्का सम्झौता नभएकाले यस्तो अवस्था आएको हो ।’

उनले क्षेत्रीय कार्यालयबाट खाद्यान्न आपूर्ति गरिने उक्त क्षेत्रका लागि ढुवानी ठेक्का स्वीकृत भइसकेको जनाए । ‘आज/भोलि नै स्वीकृत भएका ठेक्काका ठेकेदारसँग ढुवानी सम्झौता हुन्छ,’ उनले भने, ‘सकेसम्म दसैंअघि नै ढुवानी सुरु गर्ने पक्षमा छौ ।’ उनका अनुसार स्वीकृत भएका ढुवानीका ठेकेदार कम्पनीबाट बैंक ग्यारेन्टी लगायतका अन्य कागजात मागिएको छ ।

खाद्य संस्थानले सुदूरका खाद्य संकट क्षेत्रमा हरेक वर्ष कोटा निर्धारण गरी चामल आपूर्ति गर्दै आएको छ । क्षेत्रीय कार्यालयका अनुसार गएको आर्थिक वर्षमा खाद्य संकट क्षेत्रमा ४७ हजार मेट्रिक टन चामलको वार्षिक कोटा निर्धारण गरिएको थियो । गत वर्षको कोटाको चामल गत असारसम्ममा ढुवानी भइसकेको छ ।

तर, असारमा ढुवानी भएको भनिएको चामल अहिलेसम्म गाउँमा नपुग्दा खाद्य अभाव भएको बैतडी मेलौलीका दानसिंह भण्डारीले बताए । ढुवानी ठेक्कामा चलखेल र ‘कमिसनको खेल’ ले गर्दा स्थानीयले भोकमरीको पीडा सहनुपरेको उनले बताए ।

चाडबाडको बेला संस्थानले चामल आपूर्ति गर्न नसक्दा दुर्गमका बासिन्दा मर्कामा परिरहेको उनको भनाइ छ । ‘वर्षभरि भात खान नपाउने विपन्न परिवार दसैं तिहारका बेला मिठोमसिनो खान चाहन्छ,’ उनले भने, ‘यस बेला गरिब परिवारले संस्थानको सस्तो चामल खोजिरहेका हुन्छन् ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments