अस्ट्रिजबाट राम्रो आम्दानी

नवलपरासी, नवलपरासीको सुनवलमा एक वर्ष पहिलादेखि व्यावसायिक पालन सुरु गरिएको अस्ट्रिजको व्यवसायीले राम्रो आम्दानी दिन थालेको छ ।
सुनवल नगरपालिका ६ तिलकानामा सुनवलका स्थानीय व्यवसायी हेमबहादुर थापाले व्यावसायिक रूपमा एक वर्ष पहिलादेखि पालन सुरु गरिएको अस्ट्रिज (चरा) ले पहिलो वर्षमा नै करिब दुई लाखको आम्दानी गर्न सफल भएको सुनवल बहुउद्देश्यीय कृषि तथा एकीकृत पशुपालन संस्थाका सञ्चालक होमबहादुर थापाले बताउनुभयो ।
गत आर्थिक वर्षदेखि सुनवल नगरपालिकाको तिलाकानामा ५ कट्ठा जमिन भाडामा लिएर २५ वटा अस्ट्रिजबाट सुरु गरिएको व्यावसायिक अस्ट्रिज पालनले पहिलो वर्षमा नै सबै खर्च कटाएर दुई लाख रुपियाँ रकम आम्दानी गर्न सफल भएपछि यस वर्ष अस्ट्रिजको सङ्ख्या बढाएर दुई गुना गर्नुभएको सुनवल बहुउद्देश्यीय कृषि तथा एकीकृत पशुपालन संस्थाका सञ्चालक थापाले बताउनुभयो ।
बच्चा कोरलेर तीन महिनाका हुँदा ल्याइएको प्रतिगोटा अस्ट्रिजका चल्ला ३० हजारदेखि ४० हजारसम्म रुपियाँ पर्ने अस्ट्रिजको व्यावसायिक पालन सुरु गर्दा सञ्चालक थापाले करिब २४ लाखको लगानीमा व्यावसायिक रूपमा अस्ट्रिज पालन सुरु गरेको बताउनुभयो ।
पहिलो वर्षमा पालन गरिएका अस्ट्रिजमध्ये दुई वटा मरेका भए पनि ती अस्ट्रिजको बीमा गरिएको हुनाले खासै नोक्सान नभएको बताइएको छ । अस्ट्रिजलाई मासुका लागि न्यूनतम नौ महिना अनिवार्य पालन गर्नुपर्ने हुन्छ । अहिले अस्ट्रिजको मासु बजारमा १४ सय रुपियाँ प्रतिकिलो छ ।
भारतीय सेनाबाट सेवानिवृत्त हुनुभएका अस्ट्रिज फारम सञ्चालक थापा सेनाबाट सेवा निवृत्त भएपछि वैदेशिक रोजगारीका लागि करिब आध दशक दूबई, अफगानिस्थानलगायतका देशमा काम गरेको भए पनि आगामी दिनमा विदेश नगएर आफ्नै देशमा स्वारोजगार हुँदै केही युवालाई रोजगारी दिने तयारीमा व्यवसाय सुरु गरेको सुनवल बहुउद्देश्यीय कृषि तथा एकीकृत पशुपालन संस्थाका सञ्चालक थापाले बताउनुभयो ।
अहिले अस्ट्रिजको मासु बजारमा १४ सय रुपियाँ प्रतिकिलो छ । दश महिनाको भएपछि मात्र भाले र पोथी छुट्टिने यो चरा (अस्ट्रिज) ले साडे तीनदेखि चार वर्ष बीचको उमेरमा बल्ल अण्डा दिन्छ । करिब दुई किलोग्राम भारको एउटा अण्डा दिने अस्ट्रिजले एक वर्षमा पाँचदेखि आठ वटासम्म अण्डा दिने बताइएको छ ।

www.gorkhapatraonline.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?