खसीबोकाको कारोबार बढ्यो

इनरुवा,दसैँ नजिकिएसँगै सुनसुरीमा खसीबोकाको कारोबार बढेको छ । जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न हाट बजारमा पछिल्ला दिनमा खसीबोकाको बिक्री दिनहुँ बढ्ने क्रममा छ ।
दसैँको समयमा किनमेल गर्न समस्या हुने र महँगो हुने भएकाले केही दिनअघि नै खसीबोकाको खरिद बिक्रीको चटारो बढेको छ । किन्ने र बेच्नेको भीड बनेकाले  कारोबारसमेत बढेको इनरुवा हाट व्यवस्थापन समितिले जनाएको छ । यहाँ साप्ताहिक हाटमा तीन सयदेखि सात सय खसीबोकाको खरिद बिक्री हुने समितिले जानकारी दिएको छ । कारोबार बढेकाले साबिककोभन्दा मूल्य बढेको सेवाग्राही रामदेव मेहताले जानकारी दिनुभयो ।
सुनसरीमा ११ हजार छ सय ६६ मेट्रिकटन मासु उत्पादन हुँदै आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीले जनाएको छ । जिल्लामा खसीबोका गरी दुई हजार ३७० मेट्रिकटन मासु उत्पादन हुँदै आएकोमा ३४ प्रतिशत कारोबार दसैँको समयमा मात्रै हुने केन्द्रको अनुमान छ ।
प्रदेश १ को ठूलो मानिएको धरान उपमहानगरपालिका १३ अमरहाटमा रहेको कृषि व्यवस्थापन समितिले समेत दसैँ नजिकिँदै गएपछि खसीबोकाको बिक्री बढेको जनाएको छ । वार्षिक पाँच सय ६० मेट्रिकटन अर्थात् ३० करोड रुपियाँको कारोबार हुने यस बजारमा दसैँको समयमा अर्थात् असोजमा मात्र पाँच करोड रुपियाँ बराबरको कारोबार हुने तथ्याङ्क छ ।
कृषि उपज बजारमा पूर्वी पहाडी जिल्ला धनकुटा, भोजपुर, उदयपुर, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ्गबाट खसी तथा बोका बिक्रीका लागि ल्याउने गरेका छन् । कृषकले पालेको खसी तथा बोका खरिद गर्न गाउँ–गाउँ नै खरिदकर्ता पुग्ने गरेका कारण पनि दसैँको पूर्व सन्ध्यामा खसीको भाउ आकाशिएको छ । अहिले विगतमा सात सयसम्ममा खरिद बिक्री हुने खसीबोका प्रतिकिलो हजार रुपियाँसम्म लिने गरेको बजारमा खसी खरिद गर्न आएका व्यापारीहरू बताउँछन् । काटाबाट तौलिएर बेच्नेको सङ्ख्या १० प्रतिशत मात्र हुने गरेको र हुण्डीमुण्डी मूल्य तोकेर ९० प्रतिशतले बिक्री गर्ने गरेका कारण वास्तविक किसान ठगिँदै आएका छन् ।
बजारमा कृषकले ल्याएका जिउँदो खसी अहिले पाँच सयदेखि पाँच सय ५० रुपियाँ प्रतिकेजी बिक्री वितरण गर्ने गरे पनि व्यापारीहरूले भने सात सयदेखि आठ सय रुपियाँसम्म बिक्री गर्ने गरेको पाइएको छ । कृषकलाई मध्यनजर गरी विभिन्न सुविधा दिए पनि त्यो सुविधा वास्तविक कृषकले लिन नसकेको कृषि व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कटुवालले बताउनुभयो । बजारमा भएको बिचौलियाको समस्या, कृषकहरूलाई सचेतना कार्यक्रमलाई कृषि बजारले अगाडि बढाउँदै बजारमा भएको बेथिति हटाउने अभियानमा जुटेको कृषि व्यवस्थापन समितिका सदस्य सचिव एवं व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । इनरुवाको बिहीबारे हाट, सोमबारे हाट, मधुमनको आइतबारे हाट, हरिपुरको शनिबारे हाट, दुहबीको मङ्गलबारे हाट, रामधुनीको झुम्का हाट, महेन्द्रनगरको बागेँ हाटलगायतका दर्जन बढी हाटमा खसीबोकाको कारोबार दसैँको रौनक र आगवनसँगै बढेको व्यपारीहरूले बताएका छन् ।  

www.gorkhapatraonline.com

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments