बालुवामा सयपत्रीको व्यावसायिक खेती

पर्सा — जोस, जागरसँगै सीप पनि जाने अनुत्पादक बलौटे जग्गामा पनि फूल खेती गरेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् अगुवा किसान कुमार केसी ।

ठोरी गाउँपालिकाको मालीबस्तीमा उनले १ वर्ष यता सयपत्री फूलको व्यावसायिक खेती गरेका छन् । ‘युटिलिटी स्यान्ड फ्लावरिङ फार्म’ मा उनले १ बिघा बलौटे जग्गामा पहेला सयपत्री फूल फुलाएका छन् । ३ सातायता उनले राजधानीमा मात्र ५ हजार सयपत्रीका माला बिक्री गरिसकेका छन् ।

भारतबाट वर्षेनी ५० करोडभन्दा बढीको सयपत्री फूल मात्र आयात हुने गरेको देखेपछि आयात प्रतिस्थापनसँगै विगतमा गाँजा र हाल सूर्ति खेती हुने क्षेत्रमा फूलको खेती गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेका हुन् केसीले ।

नेपालमा पूजाआजा र सभा समारोहमा मात्र नभई जन्मदेखि मृत्यु संस्कारसम्म पनि सयपत्री फूलकै व्यापक प्रयोग हुने तर यो फूलको स्वदेशमा व्यावसायिक खेती नगरिने प्रवृत्ति रहेकाले आफूले यसको खेतीमा हात हालेको केसी बताउँछन् । उनले आफ्नो फार्ममा ८ जनालाई प्रत्यक्ष रोजगारी समेत दिएका छन् ।

हाल ‘फ्रेन्च मेरीगोल्ड’ जातको सयपत्री फूलको खेती गरेका उनले भारतको कोलकाता क्षेत्रमा गरिने जातकै सयपत्री खेती गरेको बताए । नेपालमा कोलकाताबाटै बढी जसो सयपत्री फूल आयात हुने गर्छ । हाल राजधानीमा सयपत्री फूलको अत्यधिक माग रहेकाले आफूले माग धान्ने अवस्था नरहेको केसी बताउँछन् । ‘अहिले नै सयपत्रीको माग अत्यधिक छ, धान्न सक्ने अवस्था छैन,’ उनले भने, ‘दसंै, तिहार, छठ जस्ता पर्वमा यो फूलको माग झनै बढेर जान्छ ।’

यसै साता वीरगन्जबाट पनि फूलको बिक्री वितरण सुरु गर्ने योजना रहेको केसी बताउँछन् । हाल आफूले थोकमा एउटा फूलको माला २५ रुपैयाँमा बिक्री गरी रहेको उनले बताए । खुद्रा बिक्रेताले ७० रुपैयाँदेखि १ सय रुपैयाँसम्ममा पनि एउटा माला बिक्री गर्ने गर्छन् । सामान्यतया एउटा फूलको बोटले २ सय वटासम्म फूल दिन्छ ।

आफूले उत्पादन गरी रहेको फूल पूर्णतया अर्गानिक रहेको केसीको दाबी छ । बालुवाको उत्पादकत्व बढाउन आफूले गाईको गोबरको मल मात्र दिएको उनले बताए । आफैंले उत्पादन गर्ने मल ४८ घण्टा भित्रै तयार पार्ने गरेको उनले बताए । ‘गाईको गोबरमा चनाको बेसन, सख्खर र जंगलबाट ल्याएको माटो वा रूखमुनिको माटो प्रयोग गरेर यस्तो मल बनाइन्छ,’ उनले भने, ‘५ किलो मल बनाउने हो भने ४ किलो गोबर र बाँकी बेसन, सख्खर र माटो मिलाएर ४८ घण्टा राखेपछि मल तयार हुन्छ, यो मललाई २० लिटर पानी दिनुपर्छ ।’ पूर्ण अर्गानिक र सजिलै तयार पार्न सकिने यो मल अत्यन्त प्रभावशाली हुने भएकाले फूलका बिरुवा राम्रोसँग सप्रने उनको अनुभव छ ।

राजधानीमा समेत फूल खेतीको लामो अनुभव संगालेका उनले लामो समयदेखि सुवर्णपुरमा सोइजन, कागती र घाँसको समेत व्यावसायिक खेती गर्दै आएका छन् ।

www.kantipurdaily.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?