सेटिङमा मरिच तस्करी

धनुषा — तेस्रो मुलकबाट भारत हुँदै नेपालमा अयात हुने मरिच तस्करीको बाटोबाट फेरि भारत नै पुर्‍याइने गरिएको छ । भारतको मुजफरपुरबाट वीरगन्ज नाकाबाट नेपाल आयात हुने मरिच सर्लाहीको ग्रामीण नाकाबाट भारततर्फ तस्करी भइरहेको खुलेको छ ।

प्रहरीको संलग्नतामा मध्यरातमा मरिच तस्करी मौलाएको स्थानीय बताउँछन् । राती ओहोरदोहोर हुने ट्रकमा मरिच भारत तस्करी भइरहेको सर्लाहीको दक्षिणी सीमावर्ती नाका सिमरा फेन्हाराका स्थानीय बताउँछन् ।

प्रदेश २ मा आपराधिक घटना बढेको छ । तर, प्रहरी मरिच तस्करीको सेटिङमा व्यस्त छन् । प्रदेश प्रहरी कार्यालय, जनकपुरको सेटिङमा सीमावर्ती क्षेत्रका प्रहरी इकाइले मरिचको भारत तस्करीमा आँखा चिम्लिरहेका छन् ।

सर्लाहीको मधुवनी, बहादुरपुर, अर्नाहा, छतौना, लक्ष्मिपुर, फन्की टोला, सिमरा फेन्हारा, बारा उद्योरण, पकरी टोलाबाट मध्यरातमा मरिच तस्करी भइरहेको छ । वीरगन्जबाट मरिच लिएर आएको ट्रक सर्लाहीको नयाँ रोड–बरहथवा सडक खण्ड हुँदै सीमावर्ती गोडइता, बलरा, बत्रौल, रहुवा र विर्तामा मरिच अनलोड गर्छन् । नेपाली ट्रकबाट अनलोड भएको मरिच भारतीय पिकअप र ट्रयाक्टरमा तस्करले भारतको मेजरगन्ज पुर्‍याउने गरेको छ ।

अबेर राति मरिच लिएर आउने ट्रकले भारतीय ट्रयाक्टर र फिकअप भ्यानमै मरिचको बोरा अनलोड गर्ने गरेको प्रहरी स्रोतले जनाएको छ । मरिच व्यापारीबाट रुपैयाँ उठाउन सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सर्लाहीले घुमुवा (सादा पोसाकका प्रहरी) नै खटाएको छ । तर, सशस्त्र प्रहरीका उपरीक्षक समर श्रेष्ठले तस्करी नियन्त्रण गर्न सूचनाका लागि दुई जना सादा पोसाकमा खटाएको बताए । राजमार्ग क्षेत्रमा प्रहरी हवल्दार र सीमा क्षेत्रमा प्रहरी जवानलाई सूचना संकलन गर्न मात्र खटाउने गरेको एसपी श्रेष्ठले स्विकारे ।

सर्लाही हँुदै भारततर्फ तस्करी भएको मरिच मंगलबार नेपाली सीमासँग जोडिएको भारतीय बजार मेजरगन्जबाट भारतीय प्रहरीले ठूलो परिमाणमा नियन्त्रणमा लिएको छ । सर्लाहीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले लुकीचोरी पोका बनाएर मरिचको तस्करी भएको हुन सक्ने बताए । ‘व्यापारीहरू तस्करीको लाइन मिलाउन आउँछन्,’ सर्लाहीका एसपी पोखरेलले भने, ‘हामी मानेको छैनौं । खुला बोर्डर छ । लुकाइछुपाइ मरिच लगेको हुन सक्छ ।’ नेपाल प्रहरी र सशस्त्र प्रहरी मिलेर सीमा क्षेत्रमा निगरानी कडा बनाएका छौं ।’

नेपाली सीमासँग जोडिएको मेजरगन्जबाट भारतीय प्रहरीले ४ सय ५० बोरा मरिच मंगलबार फेला परेका थिए । सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले मेजरगन्जमा बरामद मरिचबारे जानकारी रहेको बताए । खुला सिमानाका कारण सानो परिणाममा पोका बनाएर लगेको हुन सक्ने उनले बताए । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको टोली हरेक सात दिनमा परिवर्तन हुन्छ ।

नेपाल र भारती सीमा क्षेत्रमा प्रहरी अधिकृतको फेरबदल हुने बेलामा तस्करीको सामान बरामद हुने र सेटिङ मिलेपछि रोकिने क्रम चल्छ । यसअघि नेपालतर्फ भदौ ७ गते बाराको रेगनिया घाटबाट भारततर्फ लुकाइछिपाइ ट्रेक्टरमा लोड गरिएको ४६ बोरा मरिच बरामद भयो ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments