तरकारी खेतीबाट बदलिंदै गाउँ

पाल्पा — भनेको वा सुनेको भरमा हत्तपत्त कसैले विश्वास गर्दैनन् । त्यही बुझेका पूर्वखोला ६, हेक्लाङका युवा कृषक जितबहादुर रानाले गाउँलेलाई देखाउनकै लागि बन्दागोभी खेती सुरु गरे ।

त्यही खेतीले गाउँका सबैलाई व्यावसायिक तरकारी खेतीमा आकर्षित गर्‍यो । अहिले सबै तरकारीमा ‘नमुना गाउँ’ बनाउन हेक्लाङवासी जुटेका छन् ।

‘म मात्र होइन, गाउँका सबैलाई स्वरोजगार बनाउने योजना छ,’ उनले भने, ‘सबैको साथ पाए सफल पनि हुन्छु ।’ रानाकै योजना अनुसार अहिले गाउँका २६ घरपरिवार व्यावसायिक तरकारी खेतीमा लागेका छन् । त्यसबाट वार्षिक १ करोड रुपैयाँ भित्रिने गरेको छ । आम्दानीले तरकारी खेतीमा धेरैको हौसला बढेको छ । बाँझो खेतमा समेत तरकारी लगाउँदै छन् । कृषक बढदै गएपछि ६ महिनादेखि सामूहिक खेती अभियान पनि सुरु गरिएको छ ।

बारीमा बन्दागोभी, फूलगोभी, सिमी फलिरहेका छन् । उत्पादन भएका तरकारी बिक्री गर्न युवा नै बजार पुग्छन् । गोलभेंडाका १० हजारभन्दा बढी बिरुवाले फल दिइरहेका छन् । फूलगोभीका १० हजारभन्दा बढी बिरुवा तयार छन् । गोलभेंडा लगाएकै डयाङको बीचबीचमा लगाउन बन्दागोभी, हिउँदे सिमीका बिरुवा पनि तयार छन् । ‘गाउँको परम्परागत खेती विस्थापन गर्दै आधुनिक प्रविधि सुरु गरेका छौंं,’ उनले भने, ‘त्यसका लागि गाउँका सबै सहमत भएकाले उत्पादन बढ्दै छ ।’

डोजर लगाएर भिरालो पाखो बारीलाई उनीहरूले सम्याएका छन् । मकै, कोदो, तोरी, सिमी, सिल्टुङलगायत केही बाली लगाउने बारीमा फूलगोभी, गोलभेंडा, बन्दागोभी फलेका छन् । वार्षिक १ लाख ८० हजार तिरेर जग्गा लिजमा लिएका छन् । यसबाट करोडभन्दा बढी कमाउने उनीहरूको योजना छ ।

गोलभेंडाले अहिले तीन महिना उत्पादन दिन्छ । टनेलमा खेती गर्दा ६ देखि ९ महिना उत्पादन दिने उनले बताए ।

समूहकी सदस्य लक्ष्मी घर्तीका अनुसार अहिले १५ रोपनी बारीमा तरकारी खेती गरिएको छ । जग्गा थप्ने क्रम बढदो छ । कृषकले रानाकै अगुवाइमा कानुङ कृषक समूह गठन गरेका छन् । वडाध्यक्ष मनबहादुर सारु पनि तरकारी उत्पादनमा उत्तिकै खटिन्छन् । ‘दुर्गमको गाउँमा पनि व्यावसायिक तरकारी खेती गर्न सकिन्छ भन्ने हामीले देखाएका छौंं,’ उनले भने, ‘अहिले अरूको पनि आकर्षण बढ्दो छ ।’ पाखो बारीमा समेत गोडमेल, मल राख्ने हो भने राम्रो फल्दो रहेछ भन्ने उदाहरण देखिएको उनले बताए । ‘एक सिजनमा ४० लाख रुपैयाँको तरकारी बिक्री गर्ने योजना छ,’ उनले भने, ‘यसरी तीन सिजनको तरकारी निकाल्न सकिन्छ ।’ कुनैकुनै बाली चारपटकसमेत निकाल्न सकिने उनले बताए ।

उनीहरूले समूहमा विभाजन भएर काम गर्छन् । समूहको हिसाबकिताब पनि त्यसरी नै राखिन्छ । बेर्ना बनाउने, लगाउने, गोडमेल, बिक्री, सिँचाइलगायत व्यवस्थापकीय जिम्मेवारी पनि बाँडफाँट गरेका छन् । ‘सबैले सबै काम गर्न जान्दैनन् तर गोडमेल, टिप्नेजस्ता काममा सबैको सहभागिता हुन्छ,’ उनले भने । उत्पादन भएको तरकारी ताँहु, रामपुर, तानसेन, बुटवललगायत स्थानमा पठाएका छन् । गाउँपालिकाका कृषि प्राविधिक सन्तोष कँडेलले समूहले यही तरिकाले काम गर्दै जाने हो भने गाउँ सजिलै समृद्ध बन्ने बताए । ‘समूहको काम देखेर सबैलाई प्रभावित बनाएको छ,’ उनले भने, ‘माटो राम्रो छैन तर मिहिनेतले उत्पादन राम्रो छ ।’

व्यावसायिक तरकारी खेतीमा उत्साहित गाउँलेलाई वार्षिक कार्ययोजना बनाएर खेती गर्न उत्साहित गराएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए । ‘सबै वडाको सम्भाव्यता अध्ययन थालिएको छ,’ उनले भने, ‘त्यसपछि कहाँ कसरी सहयोग गर्ने भन्ने योजना बन्नेछ ।’ स्थानीयले हाते ट्रयाक्टर, ढुवानीका लागि गाडीको माग गरेको उनले बताए ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments