बेसारको बहुउपयोग

काठमाडौँ — कसैको घरमा मृत्यु भयो भने किरियापुत्री र त्यस घरका मानिसका लागि बेसार नहाली खानेकुरा पकाउने गरिन्छ । खानामा रङ नदेखिँदा खानै गाह्रो हुन्छ । दु:खी भएर बसेका बेला आँखाले किन सुन्दर देख्नुपर्‍यो र भन्ने भावनाले शोक मनाउन बेसार प्रयोग नगरिएको हो कि ?

मेरी हजुरआमाले मेरो खुट्टा मर्किंदा बेसार दूधमा मिसाएर दिनुभएको थियो । रुघाखोकी लाग्दा पानीमा बेसार पकाएर खुवाउनुहुन्थ्यो । घाउ पाक्दा घिउमा मिसाएर बेसार लगाइदिनुहुन्थ्यो । बेसार छालामा राम्ररी शोषण हुन चिल्लो चाहिन्छ भन्ने ज्ञान लेख्न–पढ्न नजानेकी मेरी हजुरआमालाई कहाँबाट थाहा भयो ? सायद उहाँले आफ्ना आमा, हजुरआमाबाट सिक्नुभयो होला । मलाई सिकाउनुभयो ।

केही दिनअघि अष्ट्रेलियाबाट उपहार ल्याइदिएको भनेर विमला गुरुङले मलाई ‘टर्मरिक ल्याट्टे’को प्याकेट दिइन् । ६० ग्रामको त्यो प्याकेटमा बेसार, दालचिनी, कालीमरिच, सुकमेल मिसाइएको रहेछ । ६० ग्रामलाई झन्डै १५ सय रुपैयाँ पर्दाेरहेछ । त्यो हिसाबले एक किलोको झन्डै २० हजार रुपैयाँ पर्ने ।

यहाँका पसलमा एक किलो बेसारलाई ४ सय रुपैयाँ पर्दाेरहेछ । एक किलो कालीमरिच ७ सयदेखि ७ सय ५० रुपैयाँमा पाइने रहेछ । कालीमरिच र बेसार एक–एक किलो मिलाउँदा ११ सय रुपैयाँ हाराहारी पर्नेरहेछ । अष्ट्ेरलिया वा अमेरिकामा बेसार र कालीमरिचको धुलो किन महँगो भनेर केही व्यक्तिसँग छलफल गरेकी थिएँ । बेसारमा ‘करकुमिन’ भन्ने तत्त्व हुँदोरहेछ । त्यही कारण बेसारमा संक्रमण र रोगसँग लड्ने शक्ति हुँदोरहेछ । सय ग्राम बेसारमा ५–८ प्रतिशत तेल, ७.३ प्रतिशत प्रोटिन र सूक्ष्म मात्रामा भिटामिन ए हुन्छ ।

शरीरमा विभिन्न संक्रमण भइरहयो भने मुटुको रोग लाग्छ र उमेरसँगै हुने समस्या बढ्दै जान्छ । करकुमिनले मानवकोषिकाभित्र पुगेर संक्रमणसंँग लड्छ । आयुर्वेदमा बेसारलाई महाऔषधीको नाम दिइएको छ । आयुर्वेदिक औषधी विज्ञानमा यसलाई गौरी, कुमकुम भनेर चिनिन्छ ।

बेसारमा ‘एन्टिबायोटिक’ गुण पनि हुन्छ भने थाहा पाएपछि सौन्दर्य प्रसाधन बनाउने कम्पनीले बेसार प्रयोग गर्न थालेका छन् । साबुन बनाउँदा बेसार प्रयोग हुनथालेको छ । ‘बेसार हालेर बनाएको क्रिम र साबुन’को विज्ञापन खुब देखिन्छ ।

धार्मिक क्रियाकलापमा पनि बेसार प्रयोग हुन्छ । मधेसतिर विवाहमा ‘हल्दीकी रसम’ महत्त्वपूर्ण धार्मिक संस्कार मानिन्छ । यसमा वर, वधुको अनुहारमा मान्यजनबाट बेसार लगाइन्छ । बेसारबारे वैज्ञानिक अनुसन्धान भइरहेकै छ । बेसारमा मानव मस्तिष्कलाई सक्रिय र मुटुका मांसपेशीको क्रियाकलापलाई सुचारु रूपले चलाएर मांसपेशी सुदृढ पार्न सक्ने तत्त्व हुन्छ । क्यान्सरलाई रोक्ने वा क्यान्सर भइसेकपछि प्रयोग गरिने औषधीको कुप्रभाव कम गर्ने सम्बन्धमा करकुमिनमाथि अध्ययन सुरु भएको छ । बेसारलाई मरिचसँंग मिलाएर प्रयोग गरियो भने करकुमिन कोषिकामा बढी शोषण हुने वैज्ञानिकहरूले प्रमाणित गरेका छन् । बेसारमा रहेको तत्त्वबारे थाहा पाएरै क्याप्सुल, पाउडर बनाएर पश्चिमा देशमा प्रयोग सुरु गरिएको हो ।

बेसन चनाबाट बनेको हुनाले प्रोटिनले भरिपूर्ण हुन्छ । बालबालिकालाई खाजामा बेसनका साथै चामल, कोदो, फापर आदिको पिठो मिलाएर रोटी बनाउने हो भने स्वस्थकर र स्वादिष्ट हुन्छ । अन्डासंँग विभिन्न थरीका पिठो र बेसन मिसाएर अमलेट बनाउन सकिन्छ । विभिन्न धार्मिक र सामाजिक उत्सवमा गुलियो खाने चलन छ । बेसनको लड्डु बनाउँदा काजु, बदाम आदि हालेर, गुलियोका लागि चिनीको सट्टा गुँड वा सख्खर राख्ने हो भने कति स्वस्थकर, स्वादिष्ट हुन्थ्यो होला ? बालबालिकालाई बेसनले बनाएका परिकार दिन सकियो भने फाइदा हुन्छ । यसको सेवनले कुपोषणले बिरामी भएपछि हुने स्वास्थ्य समस्या रोक्न सकिन्छ ।

झमझम पानी परेका बेला बेसन र प्याजको पकौडा र चिया खाँदा मज्जा हुन्छ । मेरी हजुरआमा चना उमारी पिसेपछि त्यसलाई पानीमा घोलेर फाँडो बनाउनुहुन्थ्यो । बेसनको पिठो अमिलो महीमा घोलेर पकाउँदा पनि मिठो फाँडो वा कढी बन्छ । यो बनाउन सजिलो छ । कढीमा बेसनकै केही पकौडा हालिदियो भने झनै मिठो हुन्छ ।

उसिनेको आलुमा राम्ररी भुटेको बेसन एक–दुई चम्चा र केही घिउ हालिदियो भने शिशुलाई प्रोटिन पुग्छ । स्वादिष्ट पनि हुन्छ । बालबालिकाका लागि खानेकुरा गुलियो हुनुपर्छ, अमिलो पनि हुनुपर्छ, ताकि विस्तारै बालबालिकाले विभिन्न स्वाद लिन सकुन् । बेसनको बँुदियालाई केही मसला र नुन मिसाएको दहीमा हालिदियो भने रायता बन्छ । त्यही बुँदियामा अलिकता चासनी वा सख्खर मिसाइयो भने मिठो, गुलियो, स्वादिलो पौष्टिकताले भरिपूर्ण नुनिलो परिकार बन्न सक्छ ।

सुजी र बेसनको हलुवा बनाउँदा भिन्नै परिकार बन्छ । त्यही बेसनमा अलिकता आलु मसिनो गरी काटेर केही हरियो तरकारी पनि हालेर पकाइयो भने नुनिलो परिकार बन्छ । त्यसमा केही पिसेको जिरा, धनिया हालेपछि स्वादिष्ट खाजा तयार हुन्छ । बेसन र बेसारले हाम्रो स्वास्थ्यमा सकारात्मक प्रभावमात्र पार्दैनन्, हाम्रो घरको अर्थव्यवस्था पनि सुधार्छन् ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments