देशभर तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना: सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौँ, ३० वैशाख ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले आगामी तीन दिनसम्म देशका विभिन्न भू-भागमा वर्षा, मेघगर्जन र हिमपातको सम्भावना रहेको छ।

आज देशभर साधारणतया बादल लागिरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेशका थोरै स्थानहरूमा अहिले हल्का वर्षा भइरहेको छ । दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा र मधेश प्रदेश लगायत पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा हावाहुरी र असिनाको समेत सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । राती पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको क्रम जारी रहने देखिन्छ।

बिहीबार पनि देशभरको मौसममा उल्लेख्य सुधार हुने देखिँदैन । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशका केही स्थानहरू र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । रातीको समयमा कोशी र मधेश प्रदेशका थोरै स्थानका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा हल्का वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ ।

नयाँ महिनाको सुरुवात अर्थात् जेठ १ गते पनि कोशी, बागमती र गण्डकी प्रदेश लगायतका पहाडी भू-भागमा बादल लाग्नेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ । बाँकी तराईका भू-भागमा भने आंशिक बादल लाग्ने र एक-दुई स्थानमा मात्र हल्का वर्षा हुन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनाले जनजीवन, कृषि र यातायातमा प्रभाव पार्न सक्ने भएकोले आवश्यक पूर्वसावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा अनुरोध गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?