दसैंमा खसी–बोकाको स्वास्थ्य परीक्षण

दसैंको लागि उपत्यका भित्रिने खसी–बोकाको स्वास्थ्य परीक्षण गरिने भएको छ । काठमाडौं महानगरपालिकाले खसी–बोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो।

महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन खसी–बोकाको स्वास्थ्य जाँच गर्न लागिएको बताए । ‘दसैंमा अत्याधिक खसी–बोका भित्रिने गरेको छन्,’ प्रवक्ता कार्कीले भने, ‘यसरी भित्रिने सबै खसी–बोका भने स्वस्थ हुँदैनन् । अस्वस्थ खसी–बोका बिक्री गरेर उपभोक्ता ठग्ने गरेको पाइन्छ ।’ उपभोक्तालाई ठगिनबाट जोगाउन पनि स्वास्थ्य जाँच थालेको कार्कीको भनाइ छ।

महानगरले खसी–बोकाको स्वास्थ्य जाँच गरेर उपभोक्तालाई चिन्न सहज होस् भनेर सिङमा चिन्हसमेत लगाउने गरेको छ । कार्कीका अनुसार स्वस्थ खसी–बोकाको महानगरपालिकाले हरियो चिन्ह लगाउँछ भने अस्वस्थ खसी–बोकाको सिङमा रातो चिन्ह लगाउँछ । महानगरले कंलकी, बालाजु, टुकुचा र बबरमहल क्षेत्रमा खसी–बोकाको स्वास्थ्य जाँच गर्ने जनाएको छ । सिङमा हरियो रङ लगाएका खसी–बोका मात्रै खरिद गर्न महानगरले उपभोक्तालाई अनुरोध समेत गरेको छ।

महानगर सहरी स्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार घटस्थापनादेखि उपत्यकामा खसी–बोका भित्रिने क्रम सुरु हुन्छ । त्यस दिनदेखि टीकाको अघिल्लो दिनसम्म महानगरले उपयत्यका भित्रिने खसी–बोकाको स्वास्थ्य जाँच गर्नेछ । ‘पशु स्वास्थ्य चिकित्सक हायर गरेर खसी–बोकाको स्वास्थ्य जाँच गरिनेछ,’ उनले भने, ‘उपभोक्ताले पनि खसी–बोका खरिद गर्दा यसैगरी स्वास्थ्य जाँच गरिएका मात्रै गर्नुपर्छ।’

महानगरले दसैंको अनुगमन तथा खसी–बोकाको स्वास्थ्य जाँचको लागि टोली बनाउने काम धमाधम गरिरहेको छ । महानगरका अनुसार उपमेयरको संयोजकत्वमा निर्देशन समिति र सहसचिवको संयोजकत्वमा कार्यान्वयन समिति गठन गरिएको छ, जसमा भेटेरिनरी चिकित्सक, महानगरका कर्मचारी र जिल्ला प्रशासन कार्यालयलका कर्मचारी रहनेछन् । यही टोलीको संलग्नतामा खसी–बोकाको स्वास्थ्य जाँच गरिनेछ।

महानगरले अघिल्ला वर्षहरूमा पनि दसैंका बेला खसी–बोकाको स्वास्थ्य जाँच गर्दै आएको थियो । गत वर्ष महानगरले ६० हजार खसी–बोकाको स्वास्थ्य परीक्षण गरेको तथ्यांक छ । अघिल्लो वर्ष चार सयको हाराहारीमा अस्वस्थ खसी–बोका फेला परेका थिए । त्यस्ता खसी–बोकाको सिङमा रातो रङ लगाएर उपभोक्तालाई खरिदमा सचेत गराएको थियो । ‘हामीले रातो रङ लगाएर उपभोक्तालाई खरिदको लागि सचेत गराउने हौं,’ कार्कीले भने, ‘त्यसरी अस्वस्थ भएका खसीबोका उपचार गरेर पुनः बिक्री गर्न मिल्छ।’

रातो रङ लगाएकै अवस्थामा भने खरिद गर्नको लागि उपभोक्तालाई नगर्न सुझाव दिएको उनले बताए।

महानगरले दसैंबेला मात्रै यसरी खसीबोकाको जाँच गर्नु उपयुक्त नभएको उपभोक्तावादीहरूको भनाई छ । ‘मौसमी अनुगमन गर्नु भनेको नाटक गर्नुजस्तै हो,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘दसैंमा मात्रै उपभोक्ताले मासु खाने हुन् ? गर्नेले त सधैं गर्नप-यो नि ।’ उनका अनुसार दसैंका बेला खसी–बोकाको जाँच पनि कर्मकाण्डी प्रकार र मिलेमतोको हुने गरेको छ।

‘महानगर होस् वा क्वारेन्टाइन, सबै निकायले कर्मकाण्डी अनुगमन तथा जाँच गर्दै आएका छन्,’ उनले भने, ‘यसले उपभोक्ता ठगिरहेका हुन्छन् । त्यसमा भने कसैको चासो छैन।’

महानगरबाहेक खसी–बोकाको स्वास्थ्य जाँच पशुसेवा विभागअन्र्तगतको क्वारेन्टाइन कार्यालयले पनि गर्दै आएको छ । क्वारेन्टाइनले नागढुंगा नाकामा वर्षैभरि स्वास्थ्य जाँच गरिरहेको छ।

क्वारेन्टाइन महाशाखाका उपमहानिर्देशक सञ्जना काफ्लेका अनुसार प्राप्त कर्मचारी नहुँदा सोचे अनुरूपको काम भने भएको छैन। ‘हामीले निरन्तररूपमा उपत्यकामा भित्रिने मासुजन्य पशुपंछीको जाँच तथा अनुगमन गरिरहेका छौं,’ उनले भनिन्, ‘प्राप्त जनशक्तिको अभावले भने जसरी गर्नपथ्र्यो । त्यसरी गर्न सकिएको छैन ।’ उनका अनुसार मरेका खसी–बोका बसको डिकी तथा विभिन्न सामानभित्र राखेर उपत्यका भित्र्याइने गरिएको छ । नयाँ मापदण्डले भने त्यसरी ल्याएको खण्डमा खसी–बोका धनीलाई नभएर गाडीलाई नै कारवाही गर्ने व्यवस्था गरेको छ। क्वारेन्टाइनले मापदण्डलाई पूर्ण कार्यान्वयन गरेर कारवाही गराउन भने सकिरहेको छैन।

nagariknews.nagariknetwork.com

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments