ठूला होटलमा मनाङे आलु

रासस — मनाङमा फलाइएका अर्गानिक आलुको माग देशका तीनतारे र पाँचतारे होटलबाट आउन थालेको छ । काठमाडौंका हायात होटल, सोल्टी होटलमा समेत यहाँका आलुको परिकार बन्ने गरेको छ । केही वर्षयता मनाङका आलुको चर्चा हुन थालेको छ ।

वर्षको एकयाम मात्र खेती हुने यस ठाउँमा आलु मुख्य बालीका रूपमा रहिआएको छ । हिमाली हावापानीमा उत्पादन भएका आलु स्वादिष्ट हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको हो । अर्गानिक खेती गरिने यस जिल्लामा कुनै प्रकारको विषादी प्रयोग गरिँदैन । मनाङको सबै ठाउँमा यसको राम्रो उत्पादन हुन्छ । यहाँका मानिसहरू होटल व्यवसाय सगंै कृषि पेसामा संलग्न छन् ।

यहाँ उत्पादन भएका आलु जिल्लाभित्र मात्रै नभई अन्य जिल्ला र देश विदेशबाट समेत माग हुन थालेको छ । विशेष गरेर होटलमा यहाँका आलु बढी खपत हुने गरेको छ । मनाङ आउने आन्तरिक तथा बाहय पर्यटकले यहाँको आलु बढी रुचाउने गरेको होटल व्यवसायी विनोद गुरुङले बताए । यहाँ कुनै बजारबाट बीउ लगेर रोप्ने प्रचलन छैन । आफैंले राखेका बीउ नै रोप्ने गरिएको छ ।

यतिबेला मनाङको विभिन्न क्षेत्रमा स्थानीयवासीलाई आलु भित्र्याउने चटारो छ । तल्लो मनाङमा धेरैजसोले घरघरमा आलु भित्र्याइसकेका छन् भने माथिल्लो मनाङमा आलु खन्न सुरु भएको छ । तल्लो क्षेत्रमा भदौ र माथिल्लो क्षेत्रमा असोजमा आलु खन्ने गरिन्छ । फागुन–चैतमा रोपेको आलु यतिबेला तयार भएको छ । आलु खरिदका लागि मानिसहरू खेतखेतमा आउने गरेका आलु कृषक सोलबहादुर गुरुङले बताए । आलु खरिदका लागि बाहिरी जिल्लाबाट व्यापारी किसानका घरखेतैमा पुग्छन् । धेरै आलु मनाङमै खपत हुने गर्छ । चामे गाउँपालिका २ थानचोकका यज्ञा घलेका अनुसार व्यापारी र आन्तरिक पर्यटकले आलु किनेर लैजान थालेपछि किसानलाई खेतीबाट फाइदा हुन थालेको छ ।

चाडबाड र लामो समयपछि बिदामा घर जान लागेका कर्मचारीले आलु नै लिएर मनाङबाट झर्छन् । दसैं तिहारमा घर जाने कर्मचारीको कोसेली आलु नै बनेको हुन्छ । ज्यादाजसो यहाँका आलु बेंसीसहर र काठमाडौं पठाइन्छ ।

थानचोकका बिन घलेले यो वर्ष मात्र ५० मुरी आलु फलाएको बताए । मनाङ लम्जुङको सडक पहिराले बिगारे पछि आफ्नो व्यापार रोकिएको उनले जनाए । घलेले भने, ‘पाँच/छ वर्षअघि मोटर नचल्दा गाउँमा आलु खपत हुन गाह्रो थियो । कतिपयले गाईलाई खुवाउँथे, अहिले समस्या छैन । मनाङ घुम्न आउनेले आलु किनेर लान्छन् ।’

नासो गाउँपालिकाको ओडार गाउँमा महिलाले सामूहिक आलु खेती गरेका छन् । आलु बेचेर आएको आम्दानीबाट गाउँको सरसफाइ, बाटो निर्माणजस्ता काम गर्ने गरिएको र महिलाको आय आर्जनमा टेवा पुगेको समूहका अध्यक्ष बेलकासी गुरुङले बताए । ठाउँठाउँबाट आएका पर्यटकले मनाङको आलुको स्वाद लिन पाएका छन् । पहिले दाल, चामल, नुन र तेल लिएर आएका व्यापारी आलु, गहुँ, करु, फापर साटेर फर्कन्थे । अहिले सडक बनेपछि सवारी साधनमै राखेर आलु काठमाडौं पठाउन पाइएको छ ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments