जमराको जुस लोकप्रिय

दाङ — जमरा भन्नासाथ दसैंको याद आउँछ । अहिले ठूलो चाड पनि नजिकिँदै छ । दसैंमा निधारमा टीका र कानमाथि झपक्क जमरा लगाइन्छ । त्यसबाहेक जमराको उपयोगिता देखिँदैन ।

यसको जुस बन्छ भन्ने धेरैलाई थाहा छैन । स्वास्थ्यका लागि लाभदायक हुने भएपछि घोराहीमा यसको जुस उत्पादन थालिएको छ ।

समाजशास्त्रमा स्नाकोत्तर अनिता बन्जाडेले जमराको जुस उत्पादन थालेकी हुन् । पढाइ सकेर केही नयाँ काम गर्ने योजना बनाएकी उनले लामो अध्ययनपछि यसमा ध्यान केन्द्रित गरिन् । सुरुदेखि असहाय बालबालिका र वृद्धवृद्धाका लागि केही गर्ने चाहना थियो । आर्थिक स्रोत नहुँदा त्यो काम आँट्न सकिनन् । विभिन्न दीर्घकालीन रोगले लामो समयदेखि दु:ख पाइरहेका मानिसलाई लक्षित गरेर जुस उत्पादन गर्ने निष्कर्षमा पुगिन् । यसबारे लामो खोज, अध्ययन र तालिम लिएपछि केही समयअघि घोराही १४ मा जुस उत्पादन थालिन् ।

विभिन्न अध्ययनका क्रममा उनले जमराको जुस स्वास्थ्यका लागि लाभदायक हुने थाहा पाएपछि यसकै व्यवसाय थाल्ने निधो गरेकी हुन् । यसले कोलेस्ट्रोल, सुगर, मोटोपन, कब्जियत नियन्त्रण गर्दै शरीरको रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने उनले बताइन् । यसमा भिटामिन, खनिज, आइरन, क्याल्सियम तत्त्व पाइने बन्जाडेको भनाइ छ । ‘स्वास्थ्यका लागि लाभदायक हुने भएकाले दिनहुँ जमराको जुस सेवन गर्नेहरूको संख्या बढ्दै गएको छ,’ उनले भनिन्, ‘बिहान हिँड्दै आएर खानेहरू धेरै छन् । औषधि हुने भएकाले दीर्घरोगीहरूले बढी खाइरहेका छन् । रोग प्रतिरोधी क्षमता बढाउने भएकाले युवाहरू पनि यसतर्फ आकर्षित भइरहेका छन् ।’

मलिलो माटो खोज्नु, जमरा राख्नु, मुसाबाट बचाउनु र त्यसलाई पेलेर जुुस निकाल्नु सजिलो काम छैन । घरका कुना, भर्‍याङ सबैतिर जमरा नै जमरा छन् । राति अबेरसम्म माटोमा मल मिसाउने, माटो मसिनो बनाउने र जमरा राख्ने काम गर्छिन् । बिहान सबेरै उठेर जमरा काट्ने र पेल्ने काम थाल्छिन् । ‘साह्रै गाह्रो छ । दु:ख धेरै छ । कतिपय मानिस पढेलेखेको मानिसले किन यस्तो काम गरेको होला भन्छन्,’ उनले भनिन्, ‘केही जागिर पो खानुपर्ने भन्छन् तर मैले जिल्लामा केही नयाँ काम गरौं भनेर यता हात हालें । कामबाट सन्तुष्ट छु । पढेर जागिर नै खानुपर्छ भन्ने छैन ।’

समाज बुझ्न समाजशास्त्र पढेकी बन्जाडे अहिले समाजको स्वास्थ्यबारे जानकार भइरहेकी छन् । ‘कतिपय त उपचार हुन्छ रे, जाँच्ने कता हो भन्दै आउँछन् । दीर्घरोगबाट पीडितहरू धेरै रहेछन्,’ उनले भनिन्, ‘उपचार गर्दा गर्दा थकित भएकाहरू केही वैकल्पिक उपायको खोजीमा देखिन्छन् । उनीहरूलाई अन्त्यमा घरायसी औषधिको भर लाग्न थालेको पाइन्छ ।’ दैनिक ३० जनाभन्दा बढी बिहानै जुस पिउन आइपुग्छन् । एक गिलासको एक सय रुपैयाँ पर्छ ।

महिनावारी अग्रिम पैसा तिरेर नियमित जुस पिउनेहरू पनि धेरै भएको उनले बताइन् । अहिले उनले व्यवसाय गरेर कमाउने भन्दा सानो लगानीमा धेरै काम गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेकी छन् । ‘जमरा लगाउने कुरा हामी दसैंमा मात्रै सम्झन्छौं । अन्य समयमा यसको उपयोगिताबारे खासै कुरा हुँदैन,’ उनले भनिन्, ‘तर, जमराको बहुउपयोग पनि छ भन्ने कुरा सबैलाई थाहा छैन । घरमै आफ्नै स्रोत साधन उपयोग गरी उत्पादन गर्न सकिन्छ ।’ गहुँ र जौको जमरा उत्पादन हुने र दुवैको फरकफरक उपयोगिता हुने उनले बताइन् । उनलाई बजारमा मागअनुसार पुर्‍याउन नै कठिन भएको छ ।

जमरा स्वास्थ्यका लागि निकै उपयोगी हुने ग्लोबल हेल्थका विज्ञ आयुर्वेद चिकित्सक डा. गोकर्ण दाहालले बताए । ‘जमरामा एन्टी अक्सिडेन्ट तत्त्व पाइन्छ । शरीरमा हुने विषादीका कारण रगतमा फ्रि र्‍याडिकल तत्त्वहरू हुन्छन् ।

र्‍याडिकलले क्यान्सरजस्ता रोगलाई प्रोत्साहन गर्छन्,’ उनले भने, ‘जमरामा पाइने एन्टी अक्सिडेन्टले र्‍याडिकललाई निष्क्रिय बनाइदिन्छ । जसका कारण घातक रोगबाट बच्न सकिन्छ ।’ अंकुरित वनस्पतिमा पोषण तत्त्व बढी हुने भएकाले शरीरमा आवश्यक पोषण पनि पूर्ति हुने उनले बताए । ‘अंकुरित वनस्पतिले पाचन प्रक्रियामा निस्कने रसहरूको मात्रा सन्तुलित गराएर पाचनमा सहयोग गर्छ,’ उनले भने, ‘आन्द्राको गतिलाई बढाएर दिसा गर्न सजिलो बनाइदिन्छ । यसले कब्जियत नियन्त्रण गर्न सहयोग गर्छ । नियमित जमराको जुस पिउनु स्वास्थ्यका लागि लाभदायक छ ।’

www.kantipurdaily.com

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments