रासायनिक मल बिक्री गर्नका लागि मात्रै कृषि सहकारी स्थापना !

वीरगञ्ज , पर्सा जिल्लामा सञ्चालनमा रहेका कृषि सहकारी संस्थाहरु मलखाद्यको बिक्रीमा मात्रै निर्भर रहेको पाइएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लिमिटेडबाट रासायनिक मल खरिद गरी बिक्री गर्नका लागि मात्रै अधिकांश कृषि सहकारी खोलिएको पाइएको हो ।

कृषि सहकारीहरुले पनि बचत तथा ऋणको काम गर्ने, कतैबाट रकम लिएर दुई/चार जना मिलेर कार्यक्रम गर्ने र रासायनिक मलको काम गर्न मात्रै कृषि सहकारी खुलेको दावी सरोकारवालाहरुले नै गरेका छन् ।

साना किसान कृषि सहकारी संस्थाका उदयपुरघुर्मीका अध्यक्ष मनोज यादवले कृषि सहकारीहरु अर्कै बाटोमा लागेको बताए । ‘कृषि सहकारीहरुले किसान र देशको हितमा काम गर्नुपर्ने, कृषि उत्प्ाादन र बिक्रि वितरणमा चसो देखाउनुपर्ने, कृषिमा आधुनिकीकरण कसरी ल्याउने भनेर भूमिका निर्वाह गर्नुपर्ने हो,’ यादवले भने, ‘विदेशीयका युवा शक्तिलाई स्वदेश फर्काउन, कृषिमा विचौलियाको अन्त्य गर्न कृषि सहकारीको भूमिका हनुपर्ने हो । तर त्यस्तो देखिदैन ।’

पोखरीया नगरपालिकाका मेयर दिप नारायण रौनियारले व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि कृषि सहकारी खोलेर सहकारीको वदनाम गरिएको बताए । ‘कृषि सहकारी संस्थाहरुको अनुगमन गर्दा कार्यालय समेत भेटिन्न, संस्था झोलामा राखेर चलाउने गरिन्छ,’ उनले भने, ‘सहकारी अनुगमनको अधिकार अब स्थानीय तहमा आईसकेको छ । अब यस्ता खाले गतिविधिको अन्त्य हुनुपर्छ ।’

पर्साको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रदीप जयसवालले पनि कृषि सहकारीहरु मलखाद्य बेचेर पैसा कमाउनकै लागि खोलिएको जस्तो देखिएको बताए । ‘कृषिमा अरु संभावनाका क्षेत्रहरु पनि छन् । तर कृषि सहकारीहरु मलखाद्य खरिद बिक्रिमा मात्रै केन्दि्रत देखिन्छन्,’ उनले भने, ‘डीएपी र युरिया मलको अभाव भएको मौकामा त झन बढी पैसा लिएर चाँडै धनी बन्ने सोच कतिपयमा देखिन्छ ।’

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुख अजय श्रीवास्तवले कृषि सहकारीले मुख्य विजनेस नै मललाई बनाएको आफूले पाएको जानकारी दिए । ‘अधिकांश कृषि सहकारीहरुले मलको मात्रै विजनेस गर्ने गरेको मैले पाएको छु, त्यसमा पनि कालो बजारी हुने गरेको गुनासो आईरहेको छ,’ प्रमुख श्रीवास्तवले भने, ‘कृषि सहकारीहरुले खाद्यान्न, तरकारी उत्पादन र बजारीकरणमा ध्यान दिनुपर्छ ।’

पर्सा जिल्लामा १ सय २ वटा कृषि सहकारीहरु खुलेके भएपनि ६१ वटा सहकारी संस्था मात्रै जिल्ला संघमा आवद्ध छन् ।
संघका अध्यक्ष शिव कुमार साहले कृषि सहकारीहरुको क्षमता अभिवृद्धिका लागि आफूले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । ‘पछिल्लो सहकारी ऐनले संघलाई सहकारीहरुको अनुगमनको अधिकार पनि दिएको छ,’ उनले भने, ‘गुनासो आएको समयमा हामीले अनुगमन गर्ने गरेका छौं । कृषि सहकारीको विकासका लागि संघ प्रतिबद्ध भएर लागेको छ ।’

दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नाराका साथ जिल्ला कृषि सहकारी संघ लिमिटेडले वीरगञ्जमा बिहीबार मलखाद्य एवंम बीउ बिजन बारे सम्वाद कार्यक्रमको समेत अयोजना गरेको छ ।
कृषि ज्ञान केन्द्रमा भएको कार्यक्रममा सहभागीहरुले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङबाट मलखाद्य लिंदा स्थानीय तहबाट सिफारिस गर्दा २ सय रुपैयाँ तिर्नुपरेको, आवश्यकता अनुसार मलखाद्य र बीउ विजन नपाएको, अनुदानको बीउ गरीब किसानसम्म पुग्न नसकेको लगायतका गुनासो गरेका छन् ।

www.onlinekhabar.com

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments