जागिर छाडेर गोठालो

काठमाडौँ — बूढानीलकण्ठ नगरपालिका ११ का सरल श्रेष्ठले गाईपालनबारे सुरुमा इन्टरनेटमार्फत अध्ययन गरे । साना, ठूला फार्म चहारे । गाई पाल्नेहरूसँग सल्लाह लिए । अनि आफैं थाले– गाईपालन । उनले जब गाईपालनमा हात हाले, तब व्यस्तता बढ्दै गयो । दैनिकी गाईको रेखदेखमै बित्छ । अचेल २९ वर्षीय उनलाई फुर्सदिलो देख्न पाइँदैन ।

सबैसँग भेटेपछि उनलाई गाई पाल्न हिम्मत जागेको रहेछ । कपन गुम्बास्थित ६ रोपनी जग्गा भाडामा लिएर गोठ बनाएका उनले घर नजिकै १२ र चुनिखेलमा १८ रोपनी जग्गा भाडामा लिइ घाँस लगाएका छन् । उनी बिहान ४ बजे उठेर गोठ पुग्छन् । आफैं दूध दुहुन्छन् । साढे ५ बजे दूध बोकेर गुम्बा आसपास मर्निङ वाक गर्नेहरूलाई बिक्री गर्छन् । अन्यत्र बिक्री गर्न लग्ने दूध लिएर उनका पत्नी एप्लीन गुम्बा पुग्छिन् । त्यो दूध बाइकमा लिएर उनी धापासी, महाराजगन्ज, सुकेधारा, चण्डौल पुग्छन् ।

‘गाईबारे अनुसन्धान गरेको १० महिना भयो । पाल्न थालेको ३ महिना पुग्न लाग्यो,’ हाल ६ वटा गाई पालेका उनले भने, ‘दैनिक ८० लिटर दूध उत्पादन हुन्छ । दूध बिक्रीमा कुनै समस्या छैन ।’ उनले ३२ वटा गाई पालेर दैनिक ५ सय लिटर दूध उत्पादन गर्ने लक्ष्य राखेका छन् । उनले आधुनिक तवरले नयाँ गोठ पनि बनाइरहेका छन् ।

‘कृषिमा रुचि थियो,’ गोबर सोहोर्दै गर्दा भेटिएका सरलले भने, ‘यो गोबर छुन घिनाउने धेरै छन्, तर मलाई त्यस्तो कहिल्यै भएन । अहिले त यसको (गोबर) गन्ध नै मन पर्न थालेको छ ।’ छिमेकमा अमेरिका र अस्ट्रेलिया नगएका घर छैनन् । युवा पुस्ता विदेश पलायन भइरहेका बेला उनी घरमै गाई गोठालो भएर बसेको देख्दा सबैले आश्चर्य व्यक्त गर्छन् । ‘सुरुमा गाउँलेले पनि पत्याएका थिएनन्, अहिले मेरो मेहनत र लगाव देखेर सबै दंग छन्,’ उनले सुनाए ।

सरल वास्तवमै सरल छन् र काम पनि सहजै गर्छन् । उनको पारिवारिक कथा भने भिन्न छ । उनी सात वर्षको छँदा बुबा बिते । पोखरा नयाँ बजारमा उनका साथ एक दाइ र आमा थिए । उनी १६ वर्षअघि काठमाडौं आए । उनका दाइ–भाउजू अस्ट्रेलिया गएको २ महिना भयो । पोखराको गण्डकी बोर्डिङ पढेका उनले काठमाडौंमा रातो बंगलाबाट ए लेभल अध्ययन पूरा गरे । टोफेल र स्याटको परीक्षा पनि दिए ।

उनले स्कुल पढ्दा बाटोमा फोहोर नफाल्ने, वातावरणको ख्याल गर्ने र देशलाई प्रेम गर्नुपर्छ भन्ने सिकेका थिए । ‘त्यसैले विदेश मोह खासै लागेन । गाउँघरमै उदाहरणीय काम गर्ने सोच जाग्यो,’ उनले भने । स्वदेशमै बस्ने निर्णय गरेपछि कृषिमा लागेको उनले बताए । उनले लगानी गरेको औषधि कम्पनीको बजार हेर्ने काम पनि गरे । मानव बेचबिखनविरुद्ध अभियान चलाइरहेको संस्थामा पनि काम गर्न भ्याए । काठमाडौं कलेज अफ म्यानेजमेन्टमा बिजनेस इन्फरमेसन सिस्टम (बीबीआईएस) सकेका उनलाई कृषि नै सबभन्दा उत्तम लाग्यो ।
सरलले ससुराली जिल्ला जुम्लाबाट पनि गाईका लागि चाहिने आहारा ल्याउने गर्छन् । ‘जग्गाको अभावमा हरियो घाँस खुवाएर गाई पाल्ने राजधानीमा कमै छन्,’ उनी भन्छन्, ‘मैले पहिला घाँस लगाउने जग्गा खोजें । घाँस हुर्काएँ । अनि मात्र गाई भित्र्याए ।’ उनका अनुसार गाई पालन गर्न पानी, बत्ती, बाटो र बजार आवश्यक छ । उनले पोखराको पुख्र्यौली जग्गा बेचेर २० लाखमा डिप बोरिङमार्फत पानी निकालेका थिए । उनले गाउँलेलाई पनि पानी उपलब्ध गराए ।

उनलाई पहिला जंगलमा बसेजस्तै लाग्थ्यो । किनभने ६ रोपनी भएको क्षेत्रमा रहेको घरमा बस्छन् । कतै लटरम्म फलफूल छ भने त कतै तरकारी टिप्ने बेला भएको छ । अम्बा ४ र नास्पाती ३ जातका छन् । एभोकाडो, स्याउ, सुन्तला, मुन्तला, केरा, किम्बुलगायत पनि लगाएका छन् । ‘यी सबै आमा (शान्तामाया) ले लगाउनुभएको हो,’ उनी भन्छन्, ‘आमाको कामबाट प्रभावित भएर नै यस क्षेत्रमा सक्रिय छु ।’ सामुदायिक स्वास्थ्यमा स्नातकोत्तर गरेकी शान्तामायाले आकर्षक जागिर छाडेर घरमै तरकारी र फलफूल फलाइरहेकी छन् । उनको घरमा तरकारी किन्न पर्दैन । सिजनअनुसारको तरकारी उत्पादन हुन्छ ।

www.kantipurdaily.com
bimalnews@gmail.com

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments