किबी जोनका लागि क्षेत्र छनोट

इलाम — किबी खेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यान्वयनमा आउन लागेको किबी जोनका लागि इलाममा क्षेत्र छनोट गरिएको छ । जोनका लागि सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका ४ वटा वडा छनोटमा परेका छन् ।

सन्दकपुर गाउँपालिकाका ५ वटै वडा र इलाम नगरपालिकाका १, २, ३ र ४ नम्बर वडामा जोन कार्यक्रम हुनेछ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा किबी जोन कार्यक्रम सञ्चालन हुने निश्चित भएको हो । पाँच सय हेक्टरभन्दा धेरै जमिनमा किबी खेती भएको र यो क्षेत्र जोन सञ्चालनका लागि उपयुक्त देखिएको छ । यी बाहेक कृषकको मागअनुसार उपयुक्त मापदण्ड पुगेका स्थानलाई पकेट कार्यक्रम सञ्चालन गरिने भएको छ ।

जोन सञ्चालनपछि कृषि व्यवसाय प्रवद्र्धन, स्रोत केन्द्रको विकास, पोस्ट हार्भेस्ट सेन्टर स्थापना, प्रविधि तथा प्राविधिक सहयोग, कृषि यान्त्रीकरण र साना सिँचाइमा सहयोग पुग्नेछ । किबी जोनअन्तर्गत किबीका बिरुवामा ५० प्रतिशत, प्रयोगशाला सेवामा ८५ प्रतिशत, कृषि औजार तथा उपकरणमा ५० प्रतिशत, साना सिँचाइ पूर्वाधारमा ८५ प्रतिशत, कृषि व्यवसाय सेवा पूर्वाधारमा ८५ प्रतिशत र शतप्रतिशत प्राविधिक सेवामा किसानले अनुदान पाउनेछन् ।

कार्यक्रमका लागि प्रधानमन्त्री कृषि परियोजनाबाट १ करोड ३ लाख रुपैयाँ बजेट उपलब्ध हुनेछ । जोन कार्यक्रम सञ्चालन गर्न किबी जोन क्षेत्रका कृषकहरूबाट सञ्चालक समिति गठन हुनेछ । सोही सञ्चालक समितिमार्फत कार्यक्रम सञ्चालन हुने कृषि केन्द्रका प्रमुख रामसोगारथ शाहले बताए ।

जोन सञ्चालनका लागि सन्दकपुर गाउँपालिकामा नै केन्द्र राख्नुपर्ने त्यस क्षेत्रका सरोकारवालाको माग छ । ‘यहाँका कृषकले लामो समयदेखि व्यावसायिक ढंगले किबी खेती गर्दै आएको र जोनका लागि पनि ठूलो पहल गरेका छन्,’ सन्दकपुर गाउँपालिकाका प्रमुख उदय राईले भने, ‘कार्यक्रमलाई उपलब्धिमूलक बनाउँदै लक्षित कृषकलाई सेवा दिनका लागि पनि सन्दकपुर गाउँपालिकामा नै कार्यालय राखिनुपर्छ ।’

बृहत् रूपमा किबी खेती हुन थालेपछि किबीको सुपर जोन कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ । परियोजनाका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम राउतले देशका विभिन्न जिल्लामा खेतीलाई केन्द्रित गर्दै पकेट, ब्लक, जोन र सुपरजोन कार्यक्रम सञ्चालन हुँदै आएको जनाए ।

कृषिको तथ्यांकअनुसार जिल्लामा प्रतिहेक्टर एक दशमलव ५३ टन किबीको उत्पादन हुन्छ । नेपालको पूर्वी क्षेत्रमा मात्रै पाँच लाख किलो किबी उत्पादन हुने गरेको तथ्यांक छ । १२ वर्षअघि जिल्लामा किबी खेती विस्तार थालिए पनि कृषक लक्षित कार्यक्रम नहुँदा समस्या चुलिँदै गएको छ । बजार व्यवस्थापन हुन नसक्नु, भण्डारण, प्राविधिक ज्ञानको अभाव जस्ता समस्या किबीमा देखिएका छन् ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments