दसैँमा थरिथरिका मासु परिकार बनाउने तरिका

हिन्दू धर्मावलम्बीहरूको महान चाड दसैँको नजिकिँदै गर्दा गाउँ–सहरमा रौनक छाएको छ । अध्ययन होस् वा काम, घरबाहिर रहेकाहरू दसैंमा घर फर्कने गर्छन् । दसैँमा परिवार र आफन्तसँग रमाइलो गर्ने प्रचलन छ । त्यसकारण पनि यसलाई एक आपसमा आत्मियता बढाउने पर्वका रूपमा लिन सकिन्छ।

दसैँमा थरिथरिका मासुको परिकार खाने गरिन्छ । दसैँको समयमा मासुका परिकार त अनिवार्य नै हुन्छ । मासुलाई विशेष महत्व दिनेहरूका लागि अन्य समयभन्दा फरक स्वाद खुवाउन सके दसैँमा अझ बढी खुसी थपिन सक्छ । मासुको परिकार घरमा सजिलो तरिकाले बनाउने तरिका सेफ श्रीराम अधिकारीले तयार गरेका छन्।

सेकुवा
सेकुवा मासुको परिकारहरूमध्ये निकै रुचाइएको परिकारमा पर्छ । विभिन्न मसलाहरूमा मासु मोलेर, कोइलामा वा सानो आँचमा पोलेको मासुलाई सेकुवा भनिन्छ । आफ्नो रुचि अनुसार कुखुरा, अस्ट्रिच, हाँस, खसी, बफ, पोर्कलगायतको सेकुवा बनाउन सकिन्छ । सेकुवालाई चिउरा, भुजा, भातसँग अथवा सलादसँग पनि खान सकिन्छ।
आवश्यक सामग्री
मासु : बोनलेस चिकेन ६०० ग्राम, तोरीको तेल ५० मिली लिटर, दही १०० ग्राम, एक चिया चम्चा गरम मसला, आधा चिया चम्चा बेसार, जिरा पाउडर एक चिया चम्चा, धनिँया पाउडर आधा चिया चम्चा, खुर्सानीको पाउडर एक चिया चम्चा, अदुवा र लसुनको पेस्ट एक चिया चम्चा, कागतीको रस आधा चिया चम्चा, नुन स्वाद अनुसार।

बनाउने तरिका
६ इन्च बाँसको सुइरोमा ६ पिस मासु उन्ने । सुइरोमा उनिएको मासुलाई कोइलाको रापमा मजाले पकाउने । ठूलो आगोमा पकाएको सेकुवा बाहिर डढ्ने र भित्र काँचै हुने भएका पकाउँदा बिशेष ध्यान दिन आवश्यक हुन्छ।

पकुवा
पकुवा मासुको परिकारमध्ये दसैँमा खाइने विशेष परिकार हो । पकुवालाई लामो समयसम्म सानो आँचमा पकाइन्छ । पकुवा बनाउन आफ्नो इच्छा अनुसारको मासु प्रयोग गर्न सकिन्छ । पकुवा पकाउन बाक्लो कसौडीको प्रयोग गर्न सके छुट्टै स्वाद पाउन सकिन्छ । पकुवालाई चिउरा, भुजा, भातसँग सजिलै खान सकिन्छ । पकुवा पौराणिक तरिकाले बनाइने भएकाले यसको स्वाद सबैलाई मन पर्छ।

आवश्यक सामाग्री
बोनलेस मटन ८०० ग्राम, तोरीको तेल चार चिया चम्चा, प्याज काटेको (मसिनो), लसुन र अधुवाको पेस्ट एक चिया चम्चा, बेसारका धुलो एक चिया चम्चा, जिरा र धनिँयाको पाउडर एक–एक चम्चा, खुर्सानीको धुलो एक चिया चम्चा, गरम मसला एक चिया चम्चा, नुन स्वाद अनुसार र धनियाँको पात।

बनाउने तरिका
मासुलाई बराबर पिसमा काट्ने । सफा भाडोमा मसलाहरू मजाले मोल्ने । सबै मरमसलालाई राम्रोसँग मासुमा मिलाएपछि दुईदेखि चार घन्टासम्म फ्रिजमा राख्ने म्यारिनेटको लागि । सानो आँचमा कराईलाई तताउने । म्यारिनेट गरिएको मासुलाई कराईमा राख्ने । सानो आँचमा राखिएको कराईलाई ढकनीले ढाक्ने । बिस्तारै मासुलाई सफा पन्युले चलाउने ताकी मासु डढेर भाडामा नलागोस् । मासु नपाकुन्जेल चलाउँदै तयार गर्ने । अन्त्यमा पाकेको मासुमा धँनियाको पात राखेर ढाक्ने।

साँधेको
मासुका परिकारमध्ये साँधेको मासु निकै खाइने परिकार हो । साँधेको मासुलाई खाजाको रूपमा विशेष प्रयोग गरिन्छ । साँधेको भन्नेबित्तिकै मसलेदार भन्ने बुझिन्छ । नुनिलो, पिरो आवश्यकभन्दा धेरै हुनु नै साँधेको मासुको पहिचान हो । मासुको सट्टा आलु, स्वाइबिन, बदामलाई पनि साँधेर खान सकिन्छ।

आवश्यक सामाग्री
उमालेको बोनलेस चिकेन ५०० ग्राम, एउटा कागतीको रस, तोरीको तेल तीन चिया चम्चा, जिराको धुलो एक चिया चम्चा, खुर्सानीको धुलो आधा चिया चम्चा, तोरीको पाउडर दुई चिया चम्चा, नुन स्वाद अनुसार, बेसार आधा चम्चा, केही प्याजको पात, केही लेट्युक (चाइनिज साग)।

बनाउने तरिका
उमालेको बोनलेस चिकनलाई रेसारेसा गरी टुक्रयाएर एउटा सफा भाडोमा राख्ने । माथि उल्लेखित सबै इन्ग्रिडियन्सहरूलाई मिक्स गर्ने । मसला र मासुलाई राम्रोसँग मिक्स गरेपछि चाइनिज सागसँगै मिलाएर प्लेटमा राख्ने।

छोइला
मासुका परिकारहरूमध्ये छोइला पनि धेरैले रुचाउँछन् । दसैँको समयमा मासुको परिकारमा छोइलाको भरपुर आनन्द लिन सकिन्छ । छोइला स्वाद, रुचि अनुसार चिकेन, बफ, मटन, हाँस, पोर्कको बनाउन सकिन्छ।

आवश्यक सामग्री
बफको फल मासु ६०० ग्राम, तेज पत्ता दुई वटा, लसुन अधुवाको पेस्ट एक चिया चम्चा, जिराको पाउडर दुई चिया चम्चा, खुर्सानीको पाउडर एक चिया चम्चा, टिमुरको धुलो आधा चम्चा, तोरीको तेल पाँच चिया चम्चा, उमाल्नको लागि पानी, लसुनको पात काटेको, मेथीको दाना एक चिया चम्चा, रातो सुकेको खुर्सानी चार पिस, बेसारको धुलो आधा चम्चा।

बनाउने तरिका
तेजपत्ता र टिमुरको धुलोसँगै मासुलाई एउटा भाडोमा राख्ने । उक्त भाडामा पानी र नुन राखेर उमाल्ने । मासु मज्जाले पाकेपछि पानी र मासु छुट्याउने । मासुलाई केही समय चिसो भएपछि सानो–सानो पिसमा काट्ने । काटेको मासुलाई एउटा सफा भाडामा राख्ने । लसुन र अधुवाको पेस्ट, जिराको धुलो, खुर्सानीको धुलो, तोरीको तेल र नुनलाई मासुसँग मजाले हातले मिक्स गर्ने । मासु पकाउने भाडामा तेल तताउने । तातेको तोरीको तेलमा मेथीको दाना खैरो रंगको नहुदासम्म फुराउने । सानो आँचमा फर्दै गरेको मेथीमा सुकेको रातो खुसार्नी र बेसारलाई फुराउने । फुरेको तेललाई मासुमा झ्वाईँ पार्ने । झन्न तयार पारेको तेल र मासुलाई बराबर मिलाउने र मासु चिसो भएपछि खाने।

तरुवा
तारेर तयार पारिने मासुको परिकार नै तरुवा हो । मासुलाई मात्र नभएर विभिन्न तरिकारीका परिकार पनि तारेर आन सकिन्छ । बेटरलाई घरमा नै तयार गर्न सकिन्छ । चनाको पिठोमा आवश्यक नुन, बेसार, खुर्सानीको बेटर बनाएर पनि तार्न सकिन्छ । बजारमा बेटरको प्याक किन्न सकिन्छ।

आवश्यक सामाग्री
बोनलेस, स्किन लेस चिकेन ५०० ग्राम, कागतीको जुस दुई चिया चम्चा, जिराको धुलो एक चिया चम्चा, बेसार आधा चिया चम्चा, खुर्सानीको धुलो आधा चम्चा, धँनियाको धुलो आधा चम्चा, जाइफलको पाउडर आधा चम्चा, ज्वानो, लसुन र अधुवाको पेस्ट एक चिया चम्चा, नुन स्वाद अनुसार, एउटा अन्डा, तेल मासुलाई फ्राई गर्न।

बनाउने तरिका
चिकेनलाई सफा गर्ने । सानो पिसमा मासु काट्ने । एउटा सफा भाडामा मासु राख्ने । माथी उल्लेखित सामग्रीलाई मासुमा मिक्स गर्ने । एक घन्टाको लागि फ्रिजमा म्यारिनेट गर्न राख्ने । भाडमा तेल तताउने म्यारिनेट भएको मासुलाई तातेको तेलमा डिप फ्राई गर्ने । तारेको मासुबाट तेल तर्काएपछि प्लेटमा राखेर खाने।

nagariknews.nagariknetwork.com

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments