फर्सीको बियाँको उपयोग

काठमाडौँ — फर्सीझैँ यसको बियाँ पनि पोषक तत्त्वले भरिपूर्ण हुन्छ । यो नियमित रूपमा खानु निकै राम्रो हुन्छ । पुरुषका लागि त यो झन् बढी उपयोगी मानिन्छ ।

फर्सीको बियाँले पुरुषको यौन स्वास्थ्यलाई राम्रै राख्ने गर्छ । ‘इन्डियन जर्नल अफ युरोलजी’ मा प्रकाशित एउटा अध्ययन अनुसार, नियमित रूपमा यो खाने प्रोस्टेटको स्वास्थ्य बिग्रिन पाउँदैन । पुरुषमा प्रोस्टेट ग्रन्थीलाई बलियो पार्न र स्वस्थ हार्मोनको उत्पादन बढाउन यो खानु उपयुक्त मानिन्छ ।

शरीरमा जिंकको कमी भए पुरुषमा वीर्यको गुणस्तरमा कमी हुँदै जान्छ र बाँझोपना जस्तो समस्या देखिन सक्छ । फर्सीको बियाँमा जिंक यथेष्ट मात्रामा पाइन्छ । यसलाई दैनिक खानपानमा सामेल गर्दा पुरुषको शुक्रकीटको गुणस्तर सुध्रिँदै जान्छ । यो प्रोस्टेटसम्बन्धी समस्यालाई रोक्नुका साथै पुरुषको प्रजनन क्षमतालाई बढाउनमा समेत सहयोगी हुन्छ । जिंकले रोगप्रतिरोधी क्षमतालाई बलियो बनाउँछ । डिप्रेसन हटाउनसमेत उपयोगी हुन्छ ।
फर्सीको बियाँमा पाइने एन्टिअक्सिडेन्ट टेस्टोस्टेरोनको स्तरलाई स्वस्थकर राख्नमा सहगोगी हुन्छ ।

युनाइटेड स्टेटस् डिपार्टमेन्ट अफ एग्रिकल्चरको पोषक चार्ट अनुसार, एक सय ग्राम फर्सीको बियाँमा २३.३३ ग्राम प्रोटिन हुन्छ । प्रोटिन हाम्रो शरीरमा मांसपेशी निर्माण र मर्मतका लागि आवश्यक हुन्छ । शरीरमा प्रोटिनको कमी भए खानपानमा फर्सीको बियाँ सामेल गर्नुपर्छ ।

फर्सीको बियाँ स्वस्थ कपालका लागि पनि त्यति नै आवश्यक हुन्छ । यो खाने गरे कपालमा नयाँ कोषिकाको निर्माण हुन्छ, कपाल सम्भावित नोक्सानीबाट जोगिन्छ र जहिल्यै स्वस्थ हुन्छ ।

फर्सीको बियाँले इन्सुलिनको मात्रा सन्तुलित गर्ने काम गर्छ । यसैले यो मधुमेहका रोगीहरूका लागि धेरै फाइदाजनक मानिन्छ ।

यसको सेवनले तनाव कम हुन्छ । निद्रा राम्रो लाग्छ । यसमा पाइने एमिनो एसिड ट्रिप्टोफन हुने भएकाले शरीरमा सेरेटोनिनलाई परिवर्तन गरेर गहिरो निद्रा लाग्न सक्छ ।

यो मिनरल म्याग्नेसियमको एउटा राम्रो स्रोत हो । यसले गर्दा यसको सेवन मुटुरोगीका लागि निकै लाभदायक मानिन्छ ।

केही अध्ययनले पुष्टि गरेअनुसार, फर्सीको बियाँमा धेरै मात्रामा एन्टिइफलेमेट्री गुण हुन्छ, जुन पीडा, ज्वरो, सुन्नाइ आदि बनाउन उपयोग हुने औषधि (इडोमेथासिन) जस्तै प्रभावकारी हुन्छ ।

नराम्रो कोलेस्ट्रोललाई कम गर्न पनि फर्सीको बियाँ उपयोगी मानिन्छ । स्टेराल्स र फिटोस्टेराल्स तत्त्व हुने भएकाले यो खाँदा शरीरमा कोलेस्ट्रोलको स्तर घटाउने गर्छ ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments