कपास ५ वर्षदेखि गोदाममा

बाँके — बिक्री नभएपछि यहाँ उत्पादित कपास विकास समितिको गोदाममा थन्किएको छ । ५ वर्षदेखिको कपास बिक्री नभएपछि समितिले गोदाममा थन्क्याएको हो । यसको बिक्रीसँगै उत्पादन पनि घटेको छ ।

यस अवधिमा थोरै परिमाणमा बिक्री भएको कपास विकास समितिका निमित्त प्रमुख विजयकुमार जोशीले बताए ।

अहिले गोदाममा २ सय १० मेट्रिक टन कपास मौज्दात रहेको छ । एक मेट्रिक टन कपासको मूल्य २ लाख १८ हजार रुपैयाँ पर्ने जोशीले बताए । यसअनुसार साढे ४ करोड मूल्यको कपास थन्किएको छ । कपास खपत गर्ने उद्योग हेटाैंडा कपडा र बुटवल धागो कारखाना बन्द भएपछि बिक्रीमा समस्या देखिएको उनले बताए । कपडा बनाउन गुणस्तरीय कपास उत्पादन गरिएको भए पनि बिक्री नहुँदा समस्या छ । ‘धेरै समय मौज्दात हुँदा दिनदिनै मूल्य घटिरहेको छ,’ जोसीले भने, ‘गुणस्तरीय कपास उतपादन गरिए पनि लामो समय गोदाममै राख्नुपर्दा गुणस्तर घट्ने चिन्ता सुरु भएको हो ।

बिक्रीका लागि विभिन्न सञ्चारमाध्यम मार्फत सूचना जारी गरेपछि काठमाडौं, बुटवल, दाङ र धनगढीबाट खरिद गर्न आएका थिए । त्यसरी बिक्रीको परिमाण थोरै रहेको जोशीले बताए । ‘१५ देखि २० क्विन्टलसम्म बिक्री भइरहेको छ,’ उनले भने, ‘कपास धेरै खपत हुने भनेकै ठूला कपडा र धागो उद्योगमा हो । ती उद्योग सञ्चालनमा छैनन् । कसरी बिक्री हुन्छ ?’ बाँके, बर्दिया र दाङमा गरी १ सय १० हेक्टरमा कपास खेती भइरहेको छ । ४ सय ७० किसान खेतीमा संलग्न छन् । बर्दियामा १, बाँकेमा ८ र सबैभन्दा धेरै दाङमा १ सय १ हेक्टरमा कपास खेती भइरहेको छ ।

गत वर्ष बीउसहित ९५ मेट्रिक टन कपास उत्पादन भएको थियो । यस वर्ष ८० मेट्रिक टन उत्पादनको लक्ष्य समितिले लिएको छ । बिक्री कम हुन थालेपछि उत्पादन घटाएको हो । ‘यस वर्ष तीनवटा पकेट क्षेत्र छोडिएको छ,’ निमित्त प्रमुख जोशीले भने, ‘अहिले उत्पादनभन्दा बिक्रीमा जोड गर्नुपर्ने अवस्था छ ।’ बिक्री घटे पनि उत्साह कायम रहेको किसान खेमबहादुर थापाले बताए । उनले बर्दियामा यस वर्षदेखी कपास खेती सुरु गरेका हुन् । उनले डेढ बिघा जग्गामा खेती गरिरहेका छन् । १५ क्विन्टलसम्म कपास उत्पादन गर्ने लक्ष्य लिएको थापाले बताए । धानभन्दा राम्रो भएकाले कपासखेती सुरु गरेको उनले बताए । ‘कपडा उद्योग खुल्यो भने माग धेरै हुन्छ,’ उनले भने, त्यसैले खेती सुरु गरेको हुँ ।’

‘गोदाममा कपास छ । बजार पाएको छैन,’ कपास विकास अधिकृत ओमप्रकाश गौतमले भने, ‘तर सजिलै कपास आयात भइरहेको छ ।’ कपास बिक्री नभएसम्म बाहिरबाट आयात गर्न नपाउने नीति बनाउन आवश्यक रहेको उनले बताए । अन्य मुलुकको तुलनामा यहाँ उत्पादित कपास गुणस्तरीय छ । ‘सबैभन्दा पहिले उद्योग सञ्चालन गर्नुपर्छ,’ उनले भने, ‘त्यसपछि नीति बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । अनि मात्र नेपाली कपासले बजार पाउँछ ।’

०३७ सालमा स्थापना भएको विकास समिति कपास प्रशोधन गर्ने मुलुककै पहिलो उद्योग हो । कपडा तथा धागो उद्योगका लागि कच्चापदार्थ तयार गर्दै आएको छ । त्यस्ता उद्योग सञ्चालन नहुँदा समस्या भएको छ । आर्थिक वर्ष ०५६/०५७ मा ४ हजार मेट्रिक टन कपास उत्पादन गरिएको थियो । त्यसबेला ८ हजार ७ सय किसानले कपास खेती गर्थे । तर, अहिले उत्पादन र माग दुवै घटेको छ ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments