किसानलाई सघाउँदै ठोँडे गोकुल

चितवन — खेत र करेसामा शंखेकिरा निस्किएर किसान आजित थिए । नियन्त्रण गर्ने हरउपाय निकाले । प्लास्टिकको झोलामा जम्मा गरेर बाटोमा फाल्ने, नुन मिसाएर खाल्डामा पुर्नेसम्म गरे । केही सीप चलेन । अहिले भने वनको चराले शंखेकिरा खान थालेपछि यसको संख्या कम हुन थालेको छ ।

‘पहिला जताततै देखिन्थे, अहिले झ्याङ र झाडीको फेदमा कता–कति देखिन्छन् । त्यति पनि न देखिए त त्यो नौलो चरा हाम्रा गाउँमा किन आउँथ्यो र ? त्यसका लागि भए पनि अलिअलि शंखेकिरा बचोस्,’ भरतपुर–१५ फूलबारीका चन्द्रप्रसाद अधिकारीले भने । शंखेकिराको संख्या अत्यधिक भएका बेला जंगलको चरा गाउँ पसेको हो । नभए त्यो जंगलमै रमाउने चरा हो ।

कौवाजस्तो शारीरिक बनोट, पुच्छर अलि लामो, रातो चम्किलो आँखा, हल्का रातो पखेँटा, अरू रौं गाढा कालो, घुम्रेको सानो चुच्चो । यो स्वरूपको चरालाई गाउँलेहरू आआफ्नै नामले बोलाउँछन् । धेरैले पुच्छरका आधारमा लामपुच्छ्रे पनि भन्छन् । चरा संरक्षणमा सक्रिय बर्ड एडुकेसन सोसाइटी सौरहाका पूर्वअध्यक्ष वासु बिडारी यो चराको खास नाम ठोँडे गोकुल भएको बताउँछन् ।

‘यो चरा जंगलभित्र घाँसे मैदानमा देखिन्छ । पहाडतिर हुँदैन । जंगलमा भेटिने चरा १०/१५ वर्षयता गाउँमा पनि आएको हो,’ बिडारीले भने । जंगलमा हुँदा छेपारो, किरालगायत खाने यो चराले गाउँमा शंखेकिरा पकापक खान थालेको बिडारीले पनि देखेका छन् । यो चरा शंखेकिरा खान नै गाउँ आउने गरेको उनले बताए । ‘यस वर्ष मेरै घरको आडमा गुँड लगाएर बच्चा पनि कोरल्यो । शंखेकिराकै कारण यो गाउँमा लोभिएको हो,’ रत्ननगर बछौली घर भएका बिडारीले भने ।

फूलबारी गाउँमा २०४८ सालपछि सिँचाइका लागि नहर पुगेको हो । नहर गएपछि शंखेकिरा पनि देखिन थालेको अधिकारी बताउँछन् । फाट्टफुट्ट देखिन थालेको शंखेकिरा ५५/६० सालतिर जहाँत्यहीं निस्कन थाल्यो । ‘शंखेकिराले हुर्केर फूल खेल्ने बेलाका घिरौंला, काँक्रो खाएर हैरान पाथ्र्यो । काउली बन्दाका पात सखाप बनाउँथ्यो । दिनका दिन झोलाका झोला शंखेकिरा बटुल्नुपथ्र्याे । टाउको दुखाएको थियो यो किराले,’ अधिकारीले भने । चन्द्रप्रसाद प्रांगारिक खेती गर्छन् । रासायनिक विषादी हालेर कुनै किरा मार्दैनन् । शंखेकिरा रोक्न ब्याड र बेर्नाको वरपर धानको खस्रो भुस छर्थे ।

५–१० वर्षयता त्यो चरो आएपछि शंखेकिरा नियन्त्रण भएको छ । मैले यो चरा हाम्रो मित्र जीव हो, यसलाई नलखेटौं, गुलेलीले नहानौं भन्दै हिँड्ने गरेको पनि छु,’ किसान अधिकारीले भने । चरा संरक्षणकर्मी बिडारीका अनुसार ठोँडे गोकुल सानो र ठूलो गरेर दुई प्रजातिको हुन्छ । गाउँघरमा देखिएको ठूलो प्रजातिको हो । यसको ठुँड शंखेकिरा खान सक्ने खालको छ । ‘नङ्ग्राले च्याप्प समाएर ठुँडले तानेर खान्छ । खोल फाल्छ,’ अधिकारीले भने । शंखेकिराको खोलमा क्याल्सियम हुन्छ । चराले नखाएको खोल अधिकारी मलमा मिसाउँछन् ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments