सहर ओरालिँदै च्याङ्ग्रा

म्याग्दी — दसैंलाई लक्षित गरी चेलुक/च्याङ्ग्रा सहर ओरालिँदै छ । यतातिर दसैंमा एकछाक भएपनि मुस्ताङी च्याङ्ग्राकै मासु खाने प्रचलन छ । स्वादमा बेजोड चोपिलो हुने भएकोले महँगो मूल्य तिरेर पनि चेलुक च्याङ्ग्राको मासु खाने गरिन्छ ।

‘मासुभात त सँधै खाइन्छ नि तर दसैंमा च्याङ्ग्राको मासुसँग भात खाँदाको स्वाद नै बेग्लै हुन्छ,’ बेनीका युवा व्यवसायी भीमसेन केसीले भने, ‘घरमै बिलो लगाएर काटेको मासुको झोलसहित भात खाँदाको स्वाद अन्य दिन कसै भेट्न सकिन्न । सायद, स्वादमा पनि संस्कृतिको हुँदोरहेछ ।’अहिले दसैं लक्षित गरी गाउँबेंसीमा मात्र होइन च्याङ्ग्रालाई कन्टेनर, ट्रक तथा यात्रुबाहक बसमा समेत कोचेर काठमाडौं, भरतपुर, बुटवलसमेतका सहर पुर्‍याइएको छ । मुस्ताङ, डोल्पा, मुगु र तिब्बतबाट च्याङ्ग्रा ल्याउने गरिएको छ ।

यस वर्ष मुस्ताङबाट २ हजारबढी खसी कम झरेका छन् । गत वर्ष २५ हजार च्याङ्ग्रा, चेलुक दसैं बजारमा ल्याइएको थियो । अहिले खसी घट्दा मूल्य बढेको छ ।‘मुस्ताङको खसी मूल्य बढेकोले रोजा च्याङ्ग्रा २६ हजार, चलुक २२ हजार, भेडी १५ हजार, बाख्री १० हजार मूल्य तोकिएको छ,’ खसी व्यापारी ओम पुनले भने, ‘बाटो-बाटोमा लिने करले पनि खसीको मूल्य ५ सयसम्म बढी परेको हो । कर खसीको मूल्यमा जोडिने हुँदा मारमा उपभोक्ता नै पर्छन् ।

कृषकका गोठबाट खसी ल्याई मुस्ताङको कागबेनीमा रहेको खसीबजारमा ल्याउँछन् । तल बाट उक्लेका व्यापारीले मुस्ताङको यही खसीबजारबाट च्याङ्ग्रा ल्याउने गर्छन् । हिमाली बाख्राको भालेलाई च्याङ्ग्रा, पोथीलाई रमा तथा हिमाली भेडाको भालेलाई चलुक र पोथीलाई थुमा भन्ने गरिन्छ । खसी नबनाएको चेलुक वा च्याङ्ग्रालाई भने साँढ भन्ने गरिन्छ । दसैंमा दुर्गालाई यही साँढको मात्र बली दिने गरिन्छ ।

मुस्ताङबाट ल्याएका चेलुक र च्याङ्ग्रा म्याग्दीको घारखोलाबाट दुई समूहमा बाँडिएर हिँड्छन् । यसरी कुनै समूहले घार, शिख, घाडेपानी, विरेठाँटी, नयापुलहुदै पोखरा पुर्‍याउँछन् भने कुनै समूहले म्याग्दी सदरमुकाम बेनी, बाग्लुङ, कुश्मा हुँदै पोखरा पुर्‍याउने गर्छन् ।

खसी व्यापारमा मनग्य आम्दानी भएपनि पेशाबढी जोखिमपूर्ण रहेको छ । बाटो कुरेर बसेका ठग, चोरले हिँडिरहेका खसीका बथानमा पसेर बाँका, हनुमानझार जस्ता विषालु घांस खुवाएर विरामी पार्ने, रातमा बासबसेको ठाउँबाट खसी चोर्ने गर्छन् । कतिपय खसी भीरबाट लडेर मर्छन् । खसीलाई बचाउनलाग्दा कतिपय व्यापारी त आफैं भीरबाट खस्ने गरेका छन् ।

www.kantipurdaily.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?