कृषिमन्त्री नै भन्छन्, ‘पानी, तेल र मासु ढुक्कले खानुस् भन्दिन’

काठमाडौँ — ‘काठमाडौंका उपभोक्तालाई ढुक्कले पानी, तेल र मासु खान भन्न सक्ने अवस्थामा म छैन ’ यो भनाइ नेपालका एकजना मन्त्रीको हो । बजारमा पाइने खाद्य वस्तुप्रति मन्त्री आफैं ढुक्क छैनन् । सर्वसाधारणले अखाद्य वस्तु खान बाध्य छन् ।

केन्द्रीय खाद्य प्रयोगशाला नियमन गर्ने कृषि तथा पशुपन्क्षी विकासमन्त्री चक्रपाणि खनालले भने, ‘खाद्य वस्तुमा अखाद्य र मानव स्वास्थ्यलाई हानिकारक वस्तुको मिसावट अत्यधिक छ।’ मन्त्री खनालको प्रेस संयोजकले उनको भनाइ उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा छ, ‘राज्यले नियमन गर्ने संयन्त्रको विकास गर्नै सकेको रहेनछ।’ मन्त्री खनालले चाँडै यसबारे नियमन गरिने जनाउँदै अखाद्य वस्तु मिसावट गर्नेलाई जेल हालिने बताए।

उनले मुख्य सहरमध्ये झन्डै ५० लाख मानिसको बसोबास रहेको काठमाडौंमा अखाद्य वस्तुको मिसावट सबैभन्दा बढी हुने गरेको सुनाए। अनुगमन र कडाइपछि दूधमा केही सुधार आएको जनाउँदै मन्त्री खनालले तेल, पानी र मासुमा भने अझै सुधार हुन नसकेको बताए। केन्द्रीय प्रयोगशालाको प्रतिवेदनलाई उद्धृत गर्दै उनले अनुगमन गर्दा खान नमिल्ने जारको पानी बिक्री गर्ने २२ उद्योगमा तालाबन्दी गरिएको बताए। कृषि क्षेत्रको अवस्था दयनीय भएको बताउँदै मन्त्री खनालले भने, ‘सामान्य गमलामा छरेकै भरमा आफूलाई पुग्ने धनियाँ उत्पादन गर्न सकिन्छ। तर, हामी वार्षिक १३ करोडको धनियाँ विदेशबाट आयात गरिरहेका छौं।’ त्यस्तै उनले पछिल्ला वर्ष भात खाने बानी अत्यधिक चुलिएको संकेत गर्दै १ सय २५ देखि ३० अर्बको धान/चामल आयात हुने गरेको सुनाए। ‘कृषि प्राथमिकतामा परेन, यसलाई उल्टाउनुपर्छ, उल्टोबाट सुल्टो बाटोमा ल्याउनुपर्छ,’ खनालले भने।

यसैबीच मन्त्रालयले खाद्य प्रविधि तथा गुणस्तर विभाग मातहत रहेको केन्द्रीय प्रयोगशालाका लागि दूध तथा दूग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी गरेको छ। हालै दूधमा कपडा धुन प्रयोग गरिने कास्टिक सोडालगायतको प्रयोग देखिएपछि दूधको शुद्धता कायम गर्न यो निर्देशिका ल्याइएको हो। यसले दूध उत्पादनदेखि उपभोगको चरणसम्म नियमन गर्ने प्रावधान राखेको छ।

यो निर्देशिकाले अब डेरी पसललाई पनि नियमन गर्नेछ। यसअघि डेरी पसल सरकारको नियमनमा थिएनन्। अब खुला दूध बिक्री, भण्डार गर्ने खुद्रा पसल पनि यस निर्देशिकाको सीमाभित्र समेटिएका छन्।

अब किसानले दूध २ घण्टाभित्र चिस्यान केन्द्रमा पुर्‍याउनुपर्नेछ। यसअघि दूध कम्तीमा १२ घण्टापछी चिस्यान केन्द्रमा पुर्‍याइन्थ्यो। यसरी ढिलाइ गरिँदा दूधमा अम्लियपन बढेर फाट्ने भएकाले किसान तहमै कतिपयले कास्टिक सोडा मिसाउने गरेको डीडीसीका एक उच्च पदाधिकारीले बताए। यो निर्देशिकाले चिस्यान केन्द्र, दूध प्रशोधन उद्योग, कामदारलगायतले के के गर्नुपर्ने विषय समेटेको छ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments