दसैँलाई चार ठाउँमा चौपाया बजार

काठमाडौँ महानगरपालिकाले बुधबारदेखि दसैँ लक्षित खसीबोका, भेडा च्याङ्ग्राहरूको स्वास्थ्य परीक्षण सुरु गरेको छ । महानगरले दसैँका लागि काठमाडौँका चार नाकाबाट भित्रिएका खसी, बोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षण गर्न पशु चिकित्सकसहितको चारवटा छुट्टाछुट्टै टोली नाकामा बसेर चौपायाको स्वास्थ्य परीक्षण सुरु गरेको हो ।
चौपायाको स्वास्थ्य परीक्षणका लागि एक जना पशु चिकित्सकका साथमा नेपाल प्रहरी, महानगरी प्रहरी, जनस्वास्थ्य महाशाखा, ट्राफिक प्रहरीको टोली खटिएको महानगरपालिकाले जनाएको छ । स्वास्थ्य परीक्षणमा खटिएको टोलीले बिक्रीका लागि ल्याइएका चौपायाको स्वास्थ्य परीक्षण गरी चौपाया निरोगी भए सिङमा हरियो चिन्ह र रोगी भए सिङमा रातो चिन्ह लगाउने काम गरेको छ ।
बुधबार काठमाडौँमा मासुका लागि भित्रिएका करिब साढे दुई हजार खसी, बोका, च्याङ्ग्रामध्ये तीनवटा रोगी भएकाले रातो चिन्ह, बाँकी सबै निरोगी भएकाले हरियो चिन्ह प्राप्त गरेका छन् । सबैभन्दा बढी कङ्लकीको खसीबजारमा भित्रिएको पाइएको छ ।
काठमाडौँको कङ्लकी नाकामा भित्रिएका चौपायाको स्वास्थ्य परीक्षणमा खटिनुभएका पशु चिकित्सक अञ्जिरमान डङ्गोलले बुधबार बिहान कङ्लकीमा भित्रिएका एक हजार ८५६ वटा चौपायाको स्वास्थ्य परीक्षण गरिएकोमा तीनवटा रोगी, एउटा मरेको र बाँकी सबै निरोगी भएको जानकारी दिनुभयो । उहाँले रोगी तीनवटालाई रातो चिन्ह, मरेकालाई तत्काल खाल्टो खनेर गाड्न लगाइएको र बाँकी निरोगीको चौपायाको सिङ्मा हरियो चिन्ह लगाएर बिक्रीका लागि खुला गरिएको बताउनुभयो । बालाजु, बिजुलीबजार र टुकुचामा राखिएका चौपायाको स्वास्थ्यमा कुनै कैफियत नदेखिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीले यस वर्ष महानगरका चार स्थानमा चौपाया बजार राखिने जानकारी दिनुभयो । गत वर्ष दसैँ अवधिमा सञ्चालन भएको बजारमध्ये यस वर्ष तीनकुनेमा बिक्री वितरण नगरिने महानगरपालिकाले जनाएको छ । यता मासु उत्पादन तथा तथा बिक्री वितरणका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिहरूले भने महानगरले प्रत्येक नाकामा एक जना चिकित्सक खटाएर दुई÷चारवटा चौपायाको स्वास्थ्य परीक्षण गरेर जनतालाई झुक्याउने काम गरेको आरोप लगाउँदै आएका छन् । ती संस्थाले मासुका लागि भित्रिएका प्रत्येक खसी, बोका, च्याङ्ग्राको स्वास्थ्य परीक्षण गर्न र यस्तो परीक्षण अन्य समयमा गर्न महानगरको ध्यानाकर्षण गराएका छन् ।
सो क्रममा पशु वधशाला व्यवसायी सङ्घ, नेपाली खड्गी सेवा समिति (खड्गी समाज), बङ्गुर व्यवसायी सङ्घ, चौपाया खरिद बिक्री सेवा सङ्घ र राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घको प्रतिनिधित्व गर्दै व्यवसायीहरूले मङ्गलबार महानगरका उपमेयर हरिप्रभा खड्गीलाई भेटर सोबारेमा ध्यानाकर्षण गराएका थिए ।

www.gorkhapatraonline.com

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments