६ दिनका लागि ६२ हजार खसीबोका/करले खसीबोका महँगो

काठमाडौँ — दसैंका लागि ६ दिनमा मात्रै करिब ६२ हजार भित्र्याइने भएको छ । खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले उक्त परिमाणको खसीबोका र च्यांग्रा भित्र्याउने जनाएको हो  ।

व्यवसायीका अनुुसार खसीबोका घटस्थापनाको भोलिपल्ट देखि फुलपातीसम्म बिक्री हुन्छ । त्यस अवधिमा अत्यधिक बिक्री हुने व्यवसायीहरू बताउँछन् । ‘दसैंका लागि मुख्यत: ६ दिन बिक्री हुन्छ । खसीबोका र च्यांग्रा गरी ६० हजार भित्रिन्छ,’ संघका अध्यक्ष भानु पराजुलीले भने ।

संघले कलकीमा करिब ४० हजारभन्दा बढी भित्रिने जनायो । संघकै व्यवसायीहरूले जिल्लाबाट करिब २० हजार ल्याएर विभिन्न ठाउँमा बिक्री गर्ने उनले बताए । ‘कलंकी बजारमा ‘इन्ट्री’ नगरी सिधै २० हजार खसीबोका आउँछन्,’ उनले भने, ‘ती खसीबोकाहरू ठाउँठाउँबाट बिक्री हुन्छ ।

संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार संस्थानले खसीबोका र च्यांग्रा गरी २ हजार बिक्री गर्नेछ । जसअनुसार ६ दिनमा मात्रै ६२ हजार खसीबोका/च्यांग्रा बिक्री हुने जनाएको छ । खसीको औसत मूल्य ५ सय ५० रुपैयाँ पर्छ । एउटा खसीबोका करिब २८ किलो हुन्छ । जसअनुसार ६ दिनमा मात्रै करिब ९५ करोड ४८ लाखको खसीबोका बिक्री हुने जनाएको छ ।

व्यवसायीको तुलनामा संस्थानको न्यून भए पनि मुख्य उद्देश्य बजार हस्तक्षेप भएको बताए । ‘सरकारीले बिक्री गर्न राख्ने परिमाण कम नै हो,’ प्रवक्ता सापकोटाले भने, ‘उद्देश्य बजार हस्तक्षेप गर्नु हो । बजारको मूल्य तय गर्नु हो ।’ संस्थानसँग धेरै खुला ठाउँ नभएकाले पनि कम मात्रामा खरिद गर्ने लक्ष्य बनाएको हो । संस्थानले एक हजार खसीबोका हेटौंडा र त्यति नै संख्यामा च्यांग्रा मुस्ताङबाट खरिद गर्ने जनाएको छ । खरिद गरिएको खसीबोका बिहीबार उपत्यकामा ल्याइने सापकोटाले बताए । ‘बिहीबार ५ सय खसीबोका र ३ सय च्यांग्रा भित्र्याउँछौं,’ उनले भने । संस्थानले बजार मूल्यभन्दा सस्तोमा बिक्री गर्ने उनले भने ।

खसीबोका खरिद गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा खरिद कमिटी गठन हुन्छ । स्थानीय प्रशासनले बजार मूल्य निर्धारण गर्छ । त्यसपश्चात काठमाडौंमा ल्याउन ढुवानी भाडा र बजार मूल्यअनुसार सञ्चालक समितिले बिक्री मूल्य निर्धारण गर्छ । संघका अनुसार हाल खसीको बजार मूल्य ५ सय ४० देखि ५ सय ६० रुपैयाँमा बिक्री भएको छ । आपूर्ति कम हुँदा मूल्य थप बढ्ने संघको दाबी छ । ती मूल्यभन्दा केही सस्तोमा बिक्री हुने संस्थानको दाबी छ । संस्थानले तराई र पहाडबाट खरिद गरे पनि व्यवसायीहरूले भने भारत र चीनबाट समेत आयात गर्छन् । पराजुलीका अनुसार दसैंमा करिब ६५ प्रतिशत खसीबोका भारतबाट आयात हुन्छ ।

मुख्यत: भारतको उत्तरप्रदेशबाट खसीबोका खरिद हुन्छ । च्यांग्रा भने चीनबाट आयात गरिने संघले जनाएको छ । मुलुकभित्र हेटौंडा कोहलपुर, कटारी, सुर्खेत, नुवाकोट, सिन्धुपाल्चोकबाट पनि खरिद हुन्छ । थोरै परिमाणमा भित्र्याउँदा ढुवानी, भेटेनेरी डक्टरको सिफारिस लगायतका कारण देखाउँदै दु:ख दिने गरेका छन् । तर, भारतबाट आयात गर्दा भन्सार चेकजाँचबाहेक कुनै समस्या हुँदैन । जसले गर्दा व्यवसायीहरू स्वदेशीभन्दा भारतीय खसीबोकातर्फ आकर्षित हुन्छन् । ‘दसैंमा माग बढ्दा स्वदेशी उत्पादनले धान्न मुस्किल पर्छ,’ अध्यक्ष पराजुलीले भने, ‘त्यसैले आयात गर्न बाध्य हुन्छौं ।’

संघले आयात गर्ने खसीबोका बिहीबारबाट बिक्री हुनेछ । संस्थानले भने शुक्रबारदेखि बिक्री गर्ने जनाएको छ । ‘जिल्लाबाट भित्रिएको खसीबोका र च्यांग्रा व्यवस्थापनमै बिहीबार समय जान्छ,’ संस्थानका अञ्चल प्रमुख सुरेन्द्र विष्टले भने, ‘बिक्री मूल्य निर्धारण भएपछि शुक्रबारबाट बिक्री हुन्छ ।’

करले खसीबोका महँगो
स्थानीय सरकारले विभिन्न शीर्षकमा कर लगाएपछि खसीबोकाको मूल्य महँगो पर्ने भएको छ । संघका अनुसार भन्सार र नगरपालिका/पाउँपालिकाहरूले छुट्टाछुट्टै कर लगाएपछि विगतको तुलनामा महँगो परेको हो । ‘भन्सारमा ५ प्रतिशत कर लागेपछि नगरपालिकाले पनि थप लगाएका छन् । केन्द्र सरकारले कर नलगाउन निर्देशन दिए पनि कार्यान्वयन भएन,’ संघका अध्यक्ष पराजुलीले भने, ‘गत वर्षको तुलनामा किलोमै १०० रुपैयाँ बढेको छ ।’ स्थानीय विकास मन्त्रालयको पत्र देखाउँदा पनि कर उठाउन नछाडेको संघको गुनासो छ ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments