बाच्छा बिक्नै छाडे

धनकुटा — धनकुटा नगरपालिका ४ देब्रेबासकी मेनुका अधिकारीले गाईको बाच्छा अर्थात् बहर ५० रुपैयाँमा बल्ल बिक्री गर्न सफल भएकी छन् ।

माउ गाईले दूध दिन छोडेपछि बहर बिक्री गर्न लागेकी उनले पहिले त पैसा तिरेर लैजाने ग्राहक नै फेला पारिनन् ।

कतिपयले सित्तै मागे भने, केहिले ५० रुपैयाँभन्दा कम मात्र मूल्य दिए । त्यसैले बढी मूल्य दिने ग्राहक पाएपछि उनले ५० रुपैयाँमा बल्ल बिक्री गर्न पाएको बताइन् । तत्कालीन पशु विकास कार्यालयमार्फत कृतिम गर्भाधानबाट जन्मिएको बहर बिक्री गर्न नसक्दा सित्तैमा दिन नचाहेकाले केही महिनाको पर्खाइमा झिनो मूल्यमा बिक्री गर्न सकेको उनले बताइन् । ‘स्याहार गरेर पालेको हलक्क बढेको बाच्छा सित्तैमा दिन मनैले मानेन’, उनले भनिन्, ‘धन्न ५० रुपैयाँ भए पनि मोल पाएँ ।’ पछिल्लो समय अधिकारीलाई जस्तै अधिकांस पशुपालक कृषकलाई गाईको बाच्छा बिक्री गर्नै सकस भएको छ ।

धनकुटा नगरपालिका ६ का कृषक गोपाल भण्डारीलाई पनि उस्तै समस्या परेको बताए । उनले बहर नबिकेपछि केही महिनाअघि सित्तैमा अर्को व्यक्तिलाई दिएको जानकारी दिए । त्यसैले गाई ब्याउँदा कृषकले बहरभन्दा बाच्छिको चाहना राख्ने गरेका छन् । तर बहरभन्दा केही बढी प्रतिशत मात्र बाच्छि जन्मिने सम्भावना रहने प्राविधिकको भनाइ छ । कृतिम गर्भाधान गराएका गाईमा केही बढी बाच्छी नै जन्मिने गरेको भेटरीनरी अस्पताल पशु सेवा तथा विज्ञ केन्द्रका नायव पशु प्राविधिक हरि राईले बताए । ‘जन्मिएका बहर बिक्री गर्न कृषकलाई सास्ती हुने प्रशस्तै गुनासो आउने गरेको छ,’ उनले भने, ‘समस्या बढे पनि समाधानको कुनै वैकल्पिक उपाए कार्यालयसँग छैन ।’

स्थानीय जातका गाईबाट जन्मिएका बहर भने महँगो मूल्यमा बिक्री हुने गरेको छ । खेतबारी जोत्न लायकदार भएकाले स्थानीय जातको बहरको मूल्य बढी हुने गरेको राईको तर्क छ । तर उन्नत जातका गाईबाट जन्मिएका बहर जोत्न कमजोर हुने भन्दै बिक्री गर्न कठिनाइ हुने गरेको बताए ।कतिपय कृषकले बिक्री नभएपछि सडकमा नै छाडा छोडिदिने त कतिपयले सित्तैमा दिनु बाहेक विकल्प नभएको बताउँछन् । पछिल्लो समय स्थानीयभन्दा उन्नत जातको गाई पालन गर्ने क्रम बढेसँगै यो समस्या चुलिँदै गएको छ ।

भेटरीनरी कार्यालयमार्फत कृतिम गर्भाधानबाट जन्मेका बहर व्यवस्थापन गर्ने कुनै विकल्प नरहेको कार्यालय स्रोतले बतायो । कार्यालयका सूचना अधिकारी पुष्पराज दाहालका अनुसार ५० प्रतिशतभन्दा केही बढी मात्र बाच्छी जन्मिने गरेका छन् । तसर्थ बहर बिक्री नहुने समस्या उल्लेख्य रूपमा वृद्धि हुँदै गरेको उनको भनाइ छ ।

आकलझुकल रूपमा मात्र उन्नत जातको साँढेको खोजी गरिँदा आफ्नो सम्पर्कमा रहेका स्थान देखाइदिने बाहेक अन्य व्यवस्थापनको काम गर्न नसकेको दाहालले बताए । एकातर्फ उन्नत जातको गाईपालन व्यवसाय फस्टाउँदै गएको छ भने अर्कोतर्फ त्यस्ता गाईको बहर सन्तान नबिक्ने समस्या बढदै गएको उनले जानकारी दिए ।

बहर नबिक्ने समस्या भएपछि भेटरीनरी अस्पतालले बाच्छी मात्र जन्मिने ‘सेक्ससिन’ नामको नयाँ प्रविधि भित्र्याउन लागेको सूचना अधिकारी दाहालले बताए । बाच्छी मात्र जन्माउने नयाँ प्रविधिका लागि जिल्लाका छथर जोरपाटी गाउँपालिका तथा महालक्ष्मी नगरपालिका लगायतले बजेट विनियोजन गरेर कार्यक्रम भित्र्याउने तयारी गरेका हुन् ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments