दुई हजार खसीबोका काठमाडौँ पठाइए

नेपालगञ्ज, बाँके र बर्दियाका उद्यमी महिलाले आफ्ना घरमा पालेका दुई हजार बढी खसीबोकालाई बिक्रीका लागि काठमाडौँ पठाइएको छ । सङ्घीय राजधानीबाट खसीबोकाको माग आएपछि सामाजिक जिल्ला उद्यमी सहकारी सङ्घमार्फत हालसम्म दुई हजार खसीबोकालाई काठमाडौँ पठाइएको जनाउँदै खसीबोकालाई राजधानी पठाउने कार्य अझै पनि जारी रहेको सहकारी सङ्घले जनाएको छ ।
बाँकेका टिटिहिरिया, वनकटवा, कचनापुर, महादेवपुरी, फत्तेपुर र खासकुश्मा तथा बर्दियाका उद्यमी महिलाले पालन गरेका करिब तीन हजारभन्द बढी खसीबोकालाई काठमाडौँ पठाउन थालिएको हो ।
दुवै जिल्लाका महिलाले व्यावसायिक रूपमा पालन गरेका खसीबोका दशैँका लागि काठमाडौँ पठाउन शुरू गरिएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घका लेखा तथा प्रशासन प्रमुख नवीन साहुले बताउनुभयो ।
काठमाडौँका व्यापारीसँगको सहकार्यमा महिलाले उत्पादन गरेका खसीबोका राजधानी पठाउन शुरू गरिएको सङ्घका लेखा तथा प्रशासन प्रमुख साहुले जनाउनुभयो । असोज ३० सम्म खसीबोकाको कारोबार हुन्छ, उहाँले भन्नुभयो, अहिलेसम्म दुई हजारभन्दा बढी खसीबोका काठमाडौँ पुगिसकेका छन् ।
बाँके र बर्दियाका उद्यमी महिलाले पालेका खसी मोटा भएकाले काठमाडौँलगायत अन्य सहरमा समेत उनीहरूको माग बढ्दो रहेको साहुले बताउनुभयो । स्थानीय खसीबोकालाई काठमाडौँ पठाउन थालिएपछि स्थानीय खसी व्यापारीले मूल्य बढाएर महँगोमा खरिद गर्न थालेका छन् । आफूले काठमाडौँ पठाएर नाफा कमाउने उद्देश्यले उनीहरूले अलिकति महँगोमा खरिद गर्न थालेको सहकारी सङ्घले जनाएको छ ।
बाँके र बर्दियाका महिलाले करिब पाँच हजार बाख्रा पालेका छन् । उनीहरूले खसीबोका जिउँदै तौलेर बिक्री गर्दै आएका छन् । जिउँदो खसीबोका प्रतिकिलो ३०५ देखि ४५० रुपियाँमा बिक्री गर्दै आएका छन् । खसीको मोटोपन हेरेर मूल्य निर्धारण हुने गरेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्था फत्तेपुरका व्यवस्थापक विद्या गुरुङले बताउनुभयो । पहिले फाट्टफुट्ट खसीबोका बिक्री हुने गरे पनि अहिले माग धेरै बढेकाले थोकमा बिक्री गर्न थालेको गुरुङले बताउनुभयो ।
समूहमा आबद्ध महिलाले घरमा उत्पादन गरेका खसीको बजार व्यवस्थापन सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घले गर्दै आएको छ । महिलाले उत्पादन गरेका खसीबोका महिलाको सक्रियतामा स्थापना भएका स्थानीय सहकारीले खरिद गरेर सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घमार्फत काठमाडौँमा पठाइन्छ, व्यवस्थापक गुरुङले भन्नुभयो, महिलालाई रकम आवश्यक परेमा पहिले नै रकम पनि उपलब्ध गराइन्छ ।
यस वर्ष बाँके र बर्दियामा व्यावसायिक रूपमा धेरै खसीबोका पालिएपछि दशैँका लागि बाहिरबाट आउने खसीको मुख ताक्नु नपरेको स्थानीयले बताएका छन् ।

www.gorkhapatraonline.com

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments