टर्कीको मासुको माग बढ्यो

पर्सा — यस भेगका मांशहारीले टर्कीको मासुको रुचाउन थालेपछि टर्की चराको मासुको माग बढेको छ । विशेष गरी दसैंको समयमा यसको मासुको माग वर्षेनी बढदै गएको छ ।
यस भेगका मांशहारीले टर्कीको मासुको रुचाउन थालेपछि टर्की चराको मासुको माग बढेको छ । विशेष गरी दसैंको समयमा यसको मासुको माग वर्षेनी बढदै गएको छ ।
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरमा मासु प्रयोजनका लागि टर्की चरा खोज्दै आउने उपभोक्ताको संख्या यस वर्ष तुलनात्मक रूपमा बढेको केन्द्रले जनाएको छ ।
ब्रोइलर कुखुरा मात्र नभई खसीको मासुको समेत बिकल्प बन्न सक्ने टर्कीको मासुका पारखी वर्षेनी बढदै गएकाले यस वर्ष केन्द्रमा टर्की खरिद गर्न आउने उपभोक्ताको संख्या बढेको केन्द्रका कुखुरा अनुसन्धान एकाइका पशु स्वास्थ्य वैज्ञानिक डा. अजित कुमार झा बताउँछन् ।
‘केन्द्रमा टर्की खोज्दै आउनेहरू बाक्लै छन्, हालै केन्द्रमा रहेको स्टकमध्ये एक सय ४ वटा टर्की बिक्री गर्यौं,’ उनले भने, ‘जसबाट २ लाख रूपैयाँभन्दा बढी राजस्व समेत संकलन भएको छ, स्टक सकिएपछि पनि टर्कीको खोज्दै आउने घटेका छैनन् ।’
केही वर्षअघिसम्म यस भेगका उपभोक्ता टर्कीको मासु भने उति सारो रूचाउथेनन् । ३/४ वर्षयता भने टर्कीकै मासु खोज्दै आउने उपभोक्ता बढेका छन् । अझै पनि दैनिक ३/४ जना टर्की खोज्दै आएको उनले बताए ।
कार्यालयले अनुसन्धान र चल्ला उत्पादनको काम सक्किएका पोथी तथा आवश्यकताभन्दा बढी रहेका भाले टर्की सर्वसाधारणलाई बिक्री गर्छ । ज्युँदो टर्की प्रतिकिलो ५ सय रूपैयाँका दरले बिक्री गरिएको उनले बताए । पोथी ४ देखि ५ किलो र भाले ८ देखि ९ किलोसम्मका हुन्छन् । हाल केन्द्रमा अन्डा उत्पादन र अनुसन्धान प्रयोजनका लागि १ सय ५० टर्की बिक्री नगरी राखिएको छ ।
खसीको मासुको उत्तम बिकल्प मानिने टर्कीको मासुमा कोलेस्ट्रोल एकदमै कम र प्रोटिन अत्यधिक हुन्छ । बोसो कम हुने र सोडियम, पोटासियम, आइरन जस्ता मानव शरीरका लागि चाहिने तत्व अत्यधिक मात्रामा हुने भएकाले यो मासु मानव स्वास्थ्यका लागि अति उत्तम हुने डा. झा बताउछन् ।
केन्द्रको ह्याचरीमा सन् २००१ देखि टर्कीको चल्ला उत्पादन गर्न थालिएको हो । भारत बरेलीस्थित इज्जतनगरबाट टर्कीका अन्डा ल्याएर केन्द्रले टर्कीको उत्पादन र अनुसन्धान गरी रहेको छ । १० देखि ३५ डिग्री सेल्सियससम्मको तापक्रम हुने ठाउँमा सहजै टर्की पाल्न सकिन्छ । सुरुको १ महिना २८ प्रतिशत प्रोटिनयुक्त दाना दिनुपर्ने यसलाई कुखुराको दाना पनि खुवाउन सकिन्छ ।
एक महिना हुर्की सकेपछि यसलाई घाँस तथा भान्साबाट निस्कने जुठोपुरो समेत खुवाउन सकिन्छ । यसलाई स्थानीय जातको कुखुरा जस्तै सहजै पाल्न सकिन्छ । ६ महिनामा भाले टर्कीको तौल ६ किलोसम्म र पोथीको ३ किलोसम्म तौल हुन्छ ।
www.kantipurdaily.com