जमराको जुसले मनग्यै आम्दानी

पर्सा — जमराको जुस बेचेर पनि राम्रै कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, वीरगन्जका चेलीहरू  । वीरगन्जको मिथिलानगरस्थित चेली कृषि सहकारी संस्थामा आबद्ध चेलीहरूले २ महिना यता गहुँको जमराको जुस बिक्री गरेर राम्रो आम्दानी गरी रहेका छन्  ।

भदौ १५ देखि वीरगन्जको माईस्थान चोक नजिक जमराको जुस बिक्री केन्द्र सञ्चालन गरेका उनीहरूको पसलबाट हाल दैनिक २ सय जनाले यो जुस पिउँदै छन् । तीमध्ये ५२ जनाले होम डेलिभरी सेवा लिएका छन् । यसरी होम डेलिभरीबाट जुस पिउनेमा एकै परिवारका ७ सदस्यसम्म पनि छन् । सहकारीले ३० एमएल जुस ५० रुपैयाँमा बिक्री गर्छ । पछिल्लो समय जुसको माग ह्वात्तै बढेको छ । नयाँ ग्राहकले जुस पिउन कम्तीमा ९ दिन कुर्नुपर्ने अवस्था आएको छ । सहकारीकी अध्यक्ष कमला घिमिरेका अनुसार, हाल वीरगन्ज–२ छपकैंयामा सहकारीले भाडामा गोदाम घर लिई जमरा उत्पादन गरेका छन् । ९ सय वटा ट्रेन र ११ वटा स्ट्यान्डमा गरी हाल ठूलो परिमाणमा जमरा उत्पादन भई रहेको उनले बताइन् । ‘जुसको माग बढ्दो क्रममा रहेकाले हामीले दैनिक जमराको बिउ छर्ने गरेका छौं,’ उनले भनिन्, ‘नौ दिनको जमरा जुस बनाउन लायक हुन्छ, त्यस हिसाबले हामी दैनिक जमरा छर्‍यौं ।’

बिक्री केन्द्रमा आउने ग्राहकको सामुन्ने जमरा पेलेर जुस उत्पादन गर्ने गरिएको छ । जसले ग्राहकमाझ विश्वसनियता बढेको छ । यो व्यवसायबाट सहकारीकै ५ जना सेयर धनी र अन्य २ गरी ७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । घर भाडा र कच्चा पदार्थमा गरिएको लगानीसमेत गरी करिब ७ लाख रुपैयाँ सहकारीले यो व्यवसायमा लगानी गरेको छ ।
पछिल्लो समय जमराको जुसमा बढ्दो आकर्षणलाई मध्यनजर गरी सहकारीले यो व्यवसायमा हात हालेको र वीरगन्ज महानगर मात्र नभई मध्य तराईमै पहिलो पटक यस्तो सेवा दिएकाले व्यवसायमा सहजै सफलतासमेत मिलेको घिमिरेको अनुभव छ ।

जमराको जुस सेवन गर्दा कब्जियत, आँखाको कमजोरी, ग्यास्ट्रिक, छाला रोग, रगतमा हेमोग्लोबिनको कमी, घुँडा दुख्ने समस्याबाट बिस्तारै मुक्ति मिल्दै जाने अनुभव कतिपय नियमित ग्राहकको रहेको उनले बताइन् । आयुर्वेदमा समेत जमराको जुसको सेवनको महत्त्वबारे चर्चा गरिएकाले आयुर्वेदिक चिकित्सा पद्धतिमा विश्वास भएकाहरूले यो जुस बिना कुनै हिच्किचाहट सेवन गरिरहेका छन् । कुनै पनि ‘साइड इफेक्ट’ नहुने भएकाले यसको सेवन गर्नेहरू ढुक्क भएर सेवा लिइरहेका छन् । पछिल्लो समय योगगुरु रामदेवले समेत यो जुसको चर्चा गर्ने गरेकाले सहकारीलाई यो नौलो उत्पादनको मार्केटिङ गर्न आवश्यकता नपरेको उनले बताइन् । यो व्यवसायबाट हुने मुनाफामा सहकारीका सम्पूर्ण महिला सदस्यहरूको बराबरीको हिस्सा हुनेछ ।

सेवालाई विस्तार गर्दैै सहकारीले भविष्यमा १ हजार जनालाई दैनिक यो जुस पिलाउने लक्ष्य लिएको उनले बताइन् । हाल जमरा छर्ने गहुँ सहकारीले बजारबाट खरिद गरी प्रयोग गरी रहेकोमा आउँदो सिजनबाट २ बिघा जग्गा भाडामा लिई आफैं गहुँ उत्पादन गर्ने योजना बनाएको उनले बताइन् । यसरी सेवा विस्तार गर्दा थप चेलीहरूलाई रोजगारीको अवसर जुट्ने उनले दाबी गरिन् । यसबाहेक चेलीहरूलाई थप आत्मनिर्भर बनाउन सहकारीले अग्र्यानिक च्याउ उत्पादन गर्ने लक्ष्यसमेत राखेको उनले बताइन् ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments