केरा खेतीबाट आत्मनिर्भर

लिबु, मुगु — सोरु गाउँपालिका ४, फोतु गाउँका किसान व्यावसायिक केरा खेतीबाट आत्मनिर्भर बन्न थालेका छन् ।अन्नबाली उत्पादन नहुने जग्गामा स्थानीयले केरा खेती गरेर राम्रो आम्दानी गर्न थालेका हुन्  ।

खेती गर्न सजिलो र विक्रीमा समस्या नहुने भएकाले केरा खेतीमा किसानको आकर्षण बढेको हो ।

स्थानीय कृषक मीनबहादुर शाही पाँच वर्षदेखि बाँझो जग्गामा केरा खेती गरेर आत्मनिर्भर बनेका छन् । उनले धान, कोदो र अन्य बाली उत्पादन नहुने आधा रोपनी जग्गामा केरा खेती गरिरहेको जानकारी दिए । फोतु गाउँका बिर्ख शाही, गोर्खबहादुर शाही, मान्त्या शाही, नन्दवीर नेपाली, हयाल्चे शाही, भक्त शाहीलगायतले पनि व्यावसायिक केरा खेती गरिरहेका छन् ।

शाहीले उत्पादन भइरहेका केराबाट खर्च कटाएर वार्षिक ५० हजार रुपैयाँ कमाइ हुने गरेको बताए । उनको बारीमा लगाएका आधा केराले मात्र अहिले उत्पादन दिइरहेका छन् । बारीमा लगाइएका सबै केराले उत्पादन दिए वार्षिक डेढ लाख बढी रकम आम्दानी हुने उनको अपेक्षा छ ।

गाउँमा उत्पादन भएको केरा सदरमुकाम गमगढी तथा हुम्ला सदरमुकाम सिमकोटसम्म पुग्ने गरेको छ । ‘बजारको समस्या नभएकाले राम्रो आम्दानी भइरहेको छ,’ उनले भने, ‘बर्सेनि क्रमश: उत्पादनको क्षेत्र बढाउँदै लैजाने विचारमा छु ।’

अधिकांश व्यापारी केरा खरिद गर्न गाउँमै आउने गरेकाले किसान उत्साही भएका छन् । किसानले गाउँमा प्रतिकोसा १० रुपैयाँमा केरा बिक्री गर्ने गरेका छन् । बाहिर लिएर बिक्री गर्दा प्रतिकोसा २० रुपैयाँ मूल्य पाउने किसानको भनाइ छ ।

राम्रो आम्दानी हुन थालेपछि अन्नबाली छोडेर व्यावसायिक केरा खेतीमा लागेको नेपालीले बताए । उनका अनुसार रोपेकै दुई वर्षमा केराले उत्पादन दिने गरेको छ । गाउँमा अर्गानिक केरा उत्पादन हुने भएकाले बजारमा केरा किन्नेको भीड लाग्ने गरेको उनले जानकारी दिए । उनका अनुसार लिब्रु, रावलबाडा, भादगाउँ, खातीकुयानी, गिलिबिली, माथिलिब्रुलगायत गाउँमा पनि व्यावसायिक केरा खेती गर्ने लहर चलेको छ ।

तराईको जस्तै गर्मी हुने र समथर जग्गा भएकाले केराको राम्रो उत्पादन भएको स्थानीय किसान बिर्ख शाहीले जनाए । कर्णालीपारिका बस्तीमा केरा उत्पादन नहुने भएकाले छिमेकी जिल्ला हुम्ला धेरै केरा बिक्री हुने गरेको उनको भनाइ छ ।

हुम्ला सिमकोटदेखि हिल्सा जोड्ने कर्णाली करिडोर निर्माण सम्पन्न भएपछि केराले तिब्बतमा राम्रो बजार पाउने उनले जानकारी दिए । सोरु गाउँपालिकाले केरा खेतीमा लागेका किसानलाई विभिन्न कृषिजन्य औजार र सिँचाइका लागि पाइपको व्यवस्था गरिएको जनाएको छ ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments