गहुँ लगाउने बेला मल अभाव

धनगढी / टीकापुर — कैलालीका किसानले प्रमुख बाली धान र गहँु लगाउने बेला आवश्यक पर्ने मल सहजै पाउन सकेका छैनन् ।

उनीहरू मल नभई नहुने समयमा मलको जोहो गर्न गाउँका सहकारी संस्थादेखि सदरमुकाम धनगढीमा रहेको कृषि सामग्री संस्थान र साल्ट ट्रेडिंगका गोदाम र कार्यालय धाउन बाध्य हुने गरेका छन् । यो वर्ष पनि गहुँ छर्ने तयारीमा रहेका किसानहरू समयमै मल पाउन नसकेको गुनासो गर्न थालेका छन् ।

कैलाली सुख्खडको नखरोड सहकारी संस्थाले बुधबार कृषि सामग्री कम्पनीको क्षेत्रीय गोदामघर धनगढीबाट मल पाउन सकेन । कम्पनीको क्षेत्रीय कार्यालयले गोदाममा रहेको मल बिक्री वितरण गर्दागर्दै सकिँदा उक्त सहकारी संस्थाले अर्काे दिन पर्खनु परेको छ ।

बुधबारै भैरहवाबाट आएको १ सय ५० टन डीएपी मल ५० वटा सहकारी संस्थालाई वितरण भएको कम्पनीका क्षेत्रीय प्रमुख दुर्गाप्रसाद पाण्डेय बताउँछन् । ‘उता भैरहवाबाट जति आइरहेको छ, तुरन्तै सहकारी संस्थालाई दिइरहेका छौं,’ उनले भने, ‘गोदाममा सहकारी संस्थाले माग गरेजति परिमाण तत्काल उपलब्ध गर्न सकिने जति मौज्दात छैन ।’ उनले किसानहरू लाइनमा बसिरहेका बेला मल उपलब्ध गराउनै समस्या भइरहेको बताए ।

कृषि सामग्री कम्पनीका क्षेत्रीय प्रमुख पाण्डेयका अनुसार कम्पनीले कैलाली जिल्लामा २ सय ४० सहकारी संस्थामार्फत किसानलाई सरकारले ढुवानी अनुदान सुविधामा उपलब्ध गराएको मल बिक्री वितरण गर्दै आएको छ । ‘गोदाममा मल मौज्दात नभएकाले जुन सहकारी संस्था अगाडि आयो उसले मल पाइरहेको छ’ पाण्डेय भने, ‘बाँडदा बाँडदैको अवस्थामा मल सकिएपछि आएका सहकारी संस्थाले त्यही दिन मल पाउन सक्तैनन्, अर्को लट मल आउँदासम्म कम्तीमा एक दिन त कुर्नैपर्छ ।’

पाण्डेयले गहुँ र तोरी बालीका लागि कैलालीमा डीएपी २ हजार ५ सय, युरिया ५ हजार र पोटास १ सय टन आवश्यक पर्ने बताए । ‘कम्पनीले कैलालीका लागि छुट्याएको आवश्यक कोटा मल आपूर्ति गर्छ’ उनले भने, ‘एकै पटक किसानहरूले माग गरेअनुसारको मल पुर्‍याउन नसकेको मात्रै हो ।’ उनका अनुसार असोजमा डएिपी ५ सय र युरिया ४ सय ७० टन, कात्तिकमा युरिया १ सय र डीएपी २ सय टन बिक्री वितरण गरिएको थियो । डीएपी आउने क्रम जारी रहेको र युरिया आउन भने अहिले रोकिएको पाण्डेले बताए ।

डाँफे मुनाल सहकारी संस्था धनगढी १६ कनेरीका अध्यक्ष दर्शराम रानाले आफ्नो संस्थाले माग गरेजति परिमाणमा मल पाउन नसकेको बताए । उनले १ सय क्विन्टल मल मागेको अवस्थामा २० क्विन्टल लिएर जानु परेको बताए । ‘थोरै मल लिएर जाँदा किसानहरूबीच लुछाचुँडी पर्ने गरेको छ’ उनले भने, ‘मल वितरणमै समस्या आउँछ ।’

त्यस्तै कुटोकोदालो आधुनिक कृषि सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश शर्माले पनि किसानलाई चाहिने बेला मल उपलब्ध हुन नसकेको बताए । कम्पनीले समयमै मल ढुवानी गर्न नसक्दा किसानले जहिले पनि चाहिने बेलामा मल पाउन नसक्ने गरेको शर्माले बताए । उनका अनुसार गहुँबालीका लागि कात्तिकसम्ममा डीएपी मल चाहिन्छ । युरिया भने मंसिरमा आवश्यक पर्ने उनले बताए ।

यस्तै कैलालीमा कृषि सामग्री कम्पनी बाहेक ३० प्रतिशत मल आपूर्ति गर्ने जिम्मा लिएको साल्ट ट्रेडिंगले पनि किसानलाई आवश्यक पर्ने समयमा आफ्नो कोटाको मल आपूर्ति गर्न सकेको छैन । साल्ट ट्रेडिंगका प्रमुख केशवप्रसाद पाण्डेयले कैलाली जिल्लामा कोटाको ३ हजार मेट्रिक टनमा हालसम्म हजार मेट्रिक टन मात्र बिक्री वितरण गरेको जानकारी दिए ।

उनका अनुसार साउनदेखि डीएपी १ हजार २७१, युरिया १ सय ४४ र पोटास ४५ मेट्रिक टन बिक्री वितरण भएको छ । गोदाममा भण्डारण गरिएको मल सकिएको उनले बताए । साल्ट ट्ेरडिंगले कैलालीमा ८५ सहकारी संस्थामार्फत मल वितरण गर्दै आएको छ । सुदूरपश्चिम प्रदेशमा ३० हजार मेट्रिक टन मल आवश्यक भए पनि करिब १८ हजार मेट्रिक टन मात्र आपूर्ति हुने गरेको कृषि सामग्री कम्पनीका क्षेत्रीय प्रमुख पाण्डेयले बताए ।

मल अभावले गहुँबाली मात्र नभई तोरी, आलुलगायतका हिउँदे बाली प्रभावित भएको टीकापुर क्षेत्रका किसानहरूले बताएका छन् । उनीहरूका अनुसार बजारमा केही व्यापारीले आफूसित भएको स्टक मल निकै महँगोमा बिक्री गर्दै आएका छन् । ४८ रुपैयाँ प्रतिकिलोमा पाइने डीएपी मल ६० रुपैयाँ प्रतिकिलो र १८ रुपैयाँ किलोमा पाइने युरिया मल ३० रुपैयाँमा बिक्री गर्दै आएको किसानले बताएका छन् ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments