दुग्धजन्य पदार्थबाट मासिक १५ लाख कारोबार

काभ्रेपलाञ्चोक,काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ जुगेपानी पौवामा अवस्थित दुग्ध विकास संस्थान दुग्ध पदार्थ उत्पादन तथा बिक्री वितरण केन्द्रले चिजलगायत दुग्धजन्य पदार्थ उत्पादन गरी मासिक १५ लाखको कारोवार गर्दै आएको छ ।

विसं २०२७ मा साबिक भीमखोरी गाविस–१ मा स्थापित उक्त केन्द्रले पौवा तथा आसपासका गाउँबाट दूध सङ्कलन गरी चिजलगायत दुग्धजन्य पदार्थ उत्पादन गर्दै आएको हो । केन्द्रमा भीमखोरीको पौवा, कातारचे, केरावासी, सोरे तथा छिमेकी जिल्ला सिन्धुलीको रामभेडालगायत गाउँ र आसपासका कृषि अनुसन्धान सहकारी, धर्मेश्वर दुग्ध सहकारी, महाभारत कृषि सहकारी एवं स्थानीय सौभाग्य महिला सहकारी संस्थाबाट दैनिक ७०० देखि ७५० लिटरसम्म दूध सङ्कलन हुने गरेको केन्द्रका सहयोगी सुरेश सिञ्जालीले बताउनुभयो ।

सिञ्जालीका अनुसार केन्द्रबाट दैनिक ११५ किलो पनिर, ७५ किलो चिज, १८ किलो मखन उत्पादन हुन्छ । सो केन्द्र भीमखोरीको उच्च पहाडी भेग भएकाले यातायातका साधनको पहुँच नहुँदा स्थानीय बासिन्दा तथा खच्चडबाट दूध सङ्कलन गरिन्छ । उहाँले भन्नुभयो, “दूध ढुवानी गर्नेलाई सहकारीमार्फत मासिक ज्याला दिने गरिन्छ ।”

सङ्कलित दूधबाट चिज, मखन, पनिरलगायत दुग्धजन्य पदार्थ उत्पादन गरी दुग्ध विकास संस्थानको काठमाडौँ लैनचौरस्थित कार्यालयबाट बिक्री गरिने केन्द्रका प्रमुख अबोधकुमार झाले बताउनुभयो । उहाँका अनुसार दुग्धजन्य पदार्थ बिक्रीबाट मासिक १५ लाखको कारोबार हुँदै आएको छ । एघार रोपनी जमीनमा रहेको केन्द्रका छ वटा भवन छन् । भौतिक संरचना जीर्ण बन्दै गएकाले मर्मत–सम्भारका एवं पुनः निर्माणका लागि केन्द्रीय कार्यालयमा बजेट माग गरिएको प्रमुख झाले बताउनुभयो ।

gorkhapatraonline.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?