चामल ढुवानीमा एयरलाइन्सको सिन्डिकेट

काठमाडौँ — चार एयरलाइन्स कम्पनीले सिन्डिकेट गरी सम्झौताअनुसार खाद्यान्न ढुवानी नगर्दा यस पटकको दसैंमा हुम्लीले चामलको अभाव खेप्नुपरेको छ  । दसैंमा खाद्यान्न अभाव नहोस् भनेर खाद्य संस्थानले तारा, समिट, सीता र मकालु एयरलाइन्ससँग असोज १८ गते ढुवानीका लागि लिखित सहमति गरेको थियो  ।

तर बढी कमाइ हुने भएपछि एयरलाइन्सहरू सम्झौताअनुसार ढुवानी नगरी यात्रु ओसार्न लागेको संस्थानले जनाएको छ ।

सहमतिअनुसार प्रत्येक एयरलाइन्सले २ सय ५० क्विन्टलका दरले दसैंअगाडि नै १ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्ने थियो । तर उनीहरूले ३ सय ३५ क्विन्टलमात्रै ढुवानी गरे । ‘दसैंमा सिमकोट–१, २, ३, ७ र ८ वडाका बासिन्दालाई प्रतिव्यक्ति १ किलो र ४, ५ र ६ वडाकालाई ५ किलो चामल दिने सहमति थियो,’ गाउँपालिका उपाध्यक्ष बली राउतले भने, ‘करिब ३५ प्रतिशत स्थानीयले सहमतिअनुसार चामल पाएनन् ।’

‘यात्रु ओसार्दा बढी पैसा पाउने भएपछि एयरलाइन्सले ढुवानी गरेनन्,’ संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनले भने, ‘एयरलाइन्सले सिन्डिकेट गरी खाद्यान्न ढुवानी गरेनन् ।’ यात्रु नपाउने समयमा भने एयरलाइन्सहरू खाद्य संस्थानमा काम खोज्दै आउने गरेको समेत उनले सुनाए । अति दुर्गम जिल्ला हुम्लामा खाद्यान्न ढुवानी हवाईमार्गबाट गर्ने गरिएको छ । खच्चडबाट ढुवानी गर्दा ढिलो हुने संस्थानको भनाइ छ ।

हवाईमार्गबाट खाद्यान्न ढुवानी गर्न संस्थानले असार २६ गते सूचना प्रकाशित गरेको थियो । पहिलो पटक गोमा र तारा एयरलाइन्सले आवेदन दिए । त्यतिबेला उनीहरूले अस्वाभाविक ढुवानी शुल्कसहितको आवेदन राखेको संस्थानका खरिद इकाई प्रमुख डिल्लीराज लम्सालले बताए । संस्थानले भदौ १८ गते पुन: अर्को सूचना प्रकाशित गर्‍यो । लम्सालका अनुसार त्यसमा कुनै पनि कम्पनीले आवेदन नै दिएनन् ।

यसपछि आपूर्ति मन्त्रालयले खाद्यान्न नओसार्ने एयरलाइन्सलाई इन्धन कटौती गर्ने चेतावनी दियो । मन्त्रालयले ती एयरलाइन्ससँग छलफल गरेपछि बल्ल खाद्यान्न ढुवानी गर्न सहमत भएका थिए । नेपालगन्जबाट प्रतिकिलो १ सय १४ र सुर्खेतबाट १ सय ५ रुपैयाँमा ढुवानी गर्ने सहमति भयो ।

त्यसअनुसार दसैं अगाडि नै १ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्ने हो । तर ती एयरलाइन्सका जहाज मानसरोवरका यात्री बोक्नतर्फ लागेको महाप्रबन्धक गौचनको दाबी छ । ‘अहिले सोलुखुम्बुतिर व्यस्त छन् । लिखित सम्झौता गरे पनि कार्यान्वयन गरेनन्,’ गौचनले भने ।

एयरलाइन्स कम्पनीहरूले यात्रु र खाद्यान्नको चाप धेरै भएर समयमै ढुवानी गर्न नसकेको स्वीकार गरेका छन् । ‘यात्रुको चाप छ । खाद्यान्न ढुवानीको चाप पनि उस्तै छ,’ सीता एयरलाइन्सका क्षेत्रीय व्यवस्थापक मनोज भारतीले भने, ‘मिलाएर ढुवानी गरिरहेका छौं ।’ ढुवानी गर्नका लागि पाइलट नभएर पनि समस्या भएको उनले बताए ।

मकालु एयरलाइन्स सहमहानिर्देशक बालकृष्ण श्रेष्ठले मौसमका कारण पर्याप्त ढुवानी नभएको तर्क गरे । ‘दसैंअगाडि मौसममा समस्या थियो । जहाज पनि भएनन्,’ उनले भने, ‘त्यसैले ढुवानी गर्न सकेनौं ।’ ढुवानीमा आलटाल गर्ने एयरलाइन्ससँग संस्थानले बिहीबार छलफल गरेको छ ।

छलफलमा तिहारसम्म ढुवानी गरिसक्ने सहमति भएको संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए । तिहारसम्म कोटाअनुसार ढुवानी नगरे संस्थानले अन्य समयका लागि दिँदै आएको ढुवानी सुविधा कटौती गर्ने उनले बताए । त्यस्ता एयरलाइन्स कम्पनीहरूलाई आयल निगममार्फत हवाई इन्धनमा कटौती गरिने चेतावनी पनि उनले दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने खाद्यान्न ढुवानीमा समस्या भए पनि अभाव भइनसकेको जनाएको छ । हुम्लामा श्रीनगर र सक्रेघाट गरी दुई डिपो छन् । तिनमा गत वर्षकै ४ सय ९८ क्विन्टल खाद्यान्न मौज्दात छ ।

चालु आर्थिक वर्षमा १ हजार २ सय ९८ क्विन्टल ढुवानी भइसकेको छ । त्यसमध्ये १ हजार ४ सय ९६ क्विन्टल बिक्री भएर हाल ३ सय क्विन्टल मौज्दात रहेको मन्त्रालयका प्रवक्ता नवराज ढकालले बताए । ‘यसबाहेक एक हजार क्विन्टल छिट्टै पुर्‍याउँछौं,’ उनले भने ।

संस्थानले हुम्लामा चालु आर्थिक वर्षमा १३ हजार ९ सय क्विन्टल खाद्यान्न ढुवानी गर्ने लक्ष्य राखेको छ । अन्य क्षेत्रमा पनि ढुवानी सुरु भएको मन्त्रालयले जनाएको छ ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments