बाली भित्र्याउन चटारो

जाजरकोट/वीरेन्द्रनगर — कुशे गाउँपालिका ८ जिन्तालाका मानबहादुर शाही गत सातादेखि जिउला खेतमै व्यस्त छन्  । उनलाई घर फर्कने मात्र होइन खाने र सुत्ने फुर्सदसमेत छैन  ।

सोही ठाउँका गोरखबहादुर सिंह र लक्षु शाही पनि ५ दिनदेखि खेतमै व्यस्त छन् ।

उनीहरू मात्र हैोइन, यतिबेला कुशे गाउँपालिकाका सयौं किसानको बास खेतमै हुने गरेको छ । उनीहरू घर फर्कन नपाएको साता बितेको छ । अन्न भित्र्याउन र खेती लगाउन कुशेका अधिकांश गाउँका परिवारका सबै सदस्य पशुचौपायासहित खेतबारीमा बस्न बाध्य छन् । उनीहरू अन्नबाली भित्र्याउने काम सकेर मात्र घर फर्कन्छन् ।

कुशेका स्थानीय बासिन्दालाई खेतमा धान काट्ने, झाँट्ने, पाखोबारीमा गहँु तथा जौं छर्नेलगायत कामको भ्याइनभ्याइ छ । उनीहरू गाउँ रित्तै पारेर धान, भटमास, मास, कोदोलगायत बाली भित्र्याउन बेंसीका खेतमा झरेका छन् ।

धान बाली भित्र्याउने र गहुँ तथा जौ लगाउने सिजन भएकाले गाउँका सबैजना खेतबारीमा व्यस्त रहेको स्थानीय टोपबहादुर सिंहले बताए । ‘धान काट्ने तथा झाँट्ने, ओसार्ने, कोदो टिप्ने, गहँु खेती लगाउनेलगायत कामले घरमा आएका पाहुनासँग भेट गर्ने फुर्सद छैन,’ उनले भने, ‘यो सिजनमा घरमा बिरामी परेकालाई स्याहार गर्ने फुर्सद समेत छैन ।’

बर्सेनि असोज दोस्रो सातादेखि मंसिर पहिलो सातासम्म कुशे, बारेकोट, जुनीचाँदेलगायत गाउँपालिकाका बासिन्दा खेतीपातीमै व्यस्त रहने गर्छन् । यस अवधिमा मकै, धान, कोदो, भटमास, मास, सिमी, फापर, तोरीलगायत अन्नबाली भित्र्याउने र गहँु तथा जौ खेती लगाउन स्थानीय व्यस्त हुने गरेको कुशे ९ थानबाडाका मोतीराम गौतमले बताए । खेतीपाती सिजनमा मान्छेका अलावा गोरु पनि व्यस्त हुने गरेको उनले बताए । कुशे गाउँपालिकाका बासिन्दाका लागि धान, मकै र कोदो मुख्य अन्न बाली भएको गौतमको भनाइ छ । ‘सिजनमा खेती नभित्र्याए केले गुजारा चलाउने ?’ उनले भने ।

धानबाली भित्र्याउँदै तरकारी लगाउँदै वीरेन्द्रनगर र आसपासका किसान अहिले धान काट्नमा व्यस्त छन् । दसैं मनाइसकेका किसान धान काट्ने र त्यही खेतमा तरकारी लगाउने गरी खेतबारीमै व्यस्त बनेका हुन् ।

वीरेन्द्रनगर नगरपालिका रहरपुरका केशव खत्रीले धान काट्न र तरकारी लगाउन हतार भएको बताए । ‘दुई/चार दिनमा धान उठाएर तरकारी लगाउनलाई जोत्नुपर्छ,’ खेतमा धान काटिरहेका खत्रीले भने, ‘तरकारीको बेर्ना रोप्ने भइसकेकाले तिहारअघि नै तरकारी लगाइसक्नु पर्छ ।’ उनले खेतमा काउली, आलु, मुलालगायत तरकारी लगाउँदै आएका छन् ।

उनकै छिमेकी पूर्णिमा चौधरीलाई पनि धान उठाएर तरकारी लगाउन हतारो छ । आलुको बीउ लगाउने भइसकेकाले उनी हतारहतारमा खेतमा धान उठाउन व्यस्त छिन् । ‘खेत जोत्नलाई ट्रयाक्टर सजिलै पाइने भएकाले तरकारी लगाइहाल्ने सुरमा छौं,’ उनले भनिन् ।

अहिले सुर्खेतका धेरैजसो किसान खेतमै भेटिन्छन् । धानबाली भित्र्याउने र तरकारी लगाउने सिजन भएकाले किसानको व्यस्तता बढेको हो ।

दसैंपछि धान काट्न र उठाउनमा व्यस्त रहेको वीरेन्द्रनगर १० नयाँघुस्राका रामबहादुर चौधरीले बताए । ‘धान पनि पाक्यो, फुर्सद पनि भयो,’ उनले भने, ‘दसैं मनाएर धान काट्न सुरु गरेका छौं ।’ गाउँमा आलोपालो गरेर सबैजना मिलेर धान काट्दै आएको उनको भनाइ छ । यसरी काम गर्दा छिटो र सजिलो हुने चौधरी बताउँछन् ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments